आधा शताब्दीदेखि कम्युनिष्ट सिद्धान्तमा समर्पित भई निरन्तर राजनीति र सामाजिक क्षेत्रमा क्रियाशील इन्द्र बहादुर बुढाथोकी ६ महिना लामो मृत्युसँगको लडाइँ जितेर घर फर्किएका छन् । चार पटक मुटुले आक्रमण गर्यो । किड्नी, बाथले त्यतिकै सतायो । २ महिना आइसियुुमा रहँदा बाँच्ने आशा धेरैको मरिसकेको थियो । सबैको सहयोग, सद्भाव उपचारले घर फर्किएका छन् । पूर्ण रुपमा स्वास्थ्यलाभ प्राप्त नभए पनि सामान्य खाने, बस्न र कुराकानी गर्ने अहिले उनको दैनिकी बनेको छ । जीवनकालमा धेरै संघर्ष गरे, सामाजिक क्षेत्रलाई निरन्तरता दिए । जुन पार्टीको विश्वास र भरोसामा जीवन अर्पण गरेँ । अहिले नेतृत्व वर्ग सिद्धान्तमा बिचलन भएर कार्यकर्ता र जनतामा धोका भएको भन्दै आफ्नो मूल पार्टी एमालेबाट अलग भएका छन् । विचार र सिद्धान्तमा अडिग बुढाथोकीसँग विगतको अनुभव र मुलुकको वर्तमान अवस्थाबारे पत्रकार खगेन्द्र कार्कीले गरेको कुराकानीमा आधारित सामग्री यहाँ प्रस्तुत गरिन्छ ।
२०३० सालदेखि पार्टीका माध्यमबाट जनताको मुक्तिका लागि, सर्वहारा, श्रमजीवि जनताको पक्षमा उभिएर कम्युनिष्टहरुको स्थायित्वका लागि विशाल कम्युनिष्ट पार्टी निर्माणबाट देशमा आमूल परिवर्तन सकिन्छ भन्ने स्वच्छ मानसिकता, निस्वार्थ भाव, सोच र चिन्तनका आधारमा ७ वर्षको अवधिमा पार्टी सदस्यता पाएका व्यक्ति हुन्– झापाको दमक नगरपालिका वडा नं. ५ निवासी इन्द्र बहादुर बुढाथोकी । उनी २०४६ को राजनीतिक परिवर्तनपछिको दमक नगरपालिकाका पहिलो संस्थापक मेयर पनि हुन् ।
भौगोलिक विकटतामा रहेको तेह्रथुम जिल्लाको विकट गाउँ साविक ओख्रे गाविस–५ मा २००९ सालमा जन्मिएका बुढाथोकीले १८ सालसम्म तेह्रथुमकै माटोसँग जुध्दै ९ वर्ष बिताए । त्यसपछि पिताजीको साथमा आसाम पुगेर उतै अध्ययनमा जुटे । भारतीय भूमिमा बसिरहँदा उनी निकै सचेत र बौद्धिक भईसकेका थिए । उनमा प्रवासमा बसेर होइन अब स्वदेशमै बसेर देश जनताको काममा लाग्नुपर्छ भन्ने सोचका कारण र पिताजीको आग्रहले २०२८ सालमा स्वदेश फर्किए । स्वदेश फर्किएपछि दमकको हिमालय माध्यमिक विद्यालय (हिमावि) मा कक्षा ९ मा भर्ना भएर अध्ययनलाई निरन्तरता दिएका बुढाथोकीको राजनीतिक यात्राको शुभारम्भ पनि त्यहीँबाट भयो ।
२०३० सालमा नेविसंघ र अखिल जसलाई त्यसबेला खरानी र गोबर भन्थे । राजनीतिक चेत नखुलेका कलिलो काँचो माटो थिए उनी । दुई वटा संगठनको नाम सुनिरहँदा कुन राम्रो कुन नराम्रो भन्ने छुट्याउन पनि सकेनन् । बोलीचाली, व्यवहार, मन, अखिलको मन प¥यो र सम्पर्क पनि बढ्यो । २०३१ सालमा एस.एल.सी. दिए । एस.एल.सी. पास गरेपछि इलाम क्याम्पसमा पढ्न गए । जतिबेला जुल्फिकर अलि भुट्टो काण्ड भएको थियो । त्यो भुट्टो काण्डको जुलुसमा भाग लिएर राजनीतिक यात्रा सुरु गरे । त्यहीँ क्याम्पसबाट राजनीति चेत खुल्दै राजनीतिक सम्बन्ध, सम्पर्क, त्यहाँ नेताहरुले थाहै नपाई उनलाई नियालिरहेको पाए । रत्न कुमार बान्तवाहरु जान्थे । त्यसपछि बिस्तारै पोजिसन दिने, राजनीतिक कुरा सिकाउने काम गर्दै गए । ३२÷३३ सालसम्म पढीसकेर ३५ सालतिर झरे यता (झापा) । ३५ सालसम्ममा पूरै कम्युनिष्ट भईसकेको महसूस उनले गरे । तत्कालिन माले पार्टी बनाएर कोअर्डिनेसन कमिटीमा सामान्य कार्यकर्ताको रुपमा काम गर्न थाले । दमकमा बसेर पार्टीका कामका माध्यमबाट जनताको मुक्तिका लागि अगाडि बढे ।
विशाल कम्युनिष्ट पार्टी निर्माणमा जुट्दै गर्दा ३७ वर्षको पार्टी र जनता प्रति गरेको अथक मेहनत, बहुत् मुस्किलले पार्टी सदस्यता पाएर पार्टीको नीति, सिद्धान्त, लक्ष्य, उद्देश्य, विचार र कार्यक्रमलाई निष्ठापूर्वक लागेर विभिन्न तहमा काम गरेको योगदानका आधार उम्मेदवारी पाएका थिए दमकको मेयरमा । दमक नगरपालिकामा २०४६ को राजनीतिक परिवर्तन पछि भएको पहिलो निर्वाचनबाट मेयर पदमा विजयी बनेर कुशलता पूर्वक निर्विवाद कुनै किसिमको जालझेल र छलकपट नगरी पार्टीले दिएको मार्गदर्शन अनुरुप इमानदारिताको कसीमा बाँधिएर पहिलो मेयरको भूमिका निभाएको अनुभव उनीसँग छ ।
देशका माथिल्लो वर्गका कम्युनिष्टहरु नाम मात्रको कम्युनिष्ट भएर रमाउँदै गर्दा यता हजारौँ कम्युनिष्टहरु गाउँबेसीमा जीवनसँग जुधिरहेका छन् । तिनै मध्येका बुढाथोकी पनि यतिखेर मृत्युसँग लडिरहेका छन् । विभिन्न राजनीतिक दल, व्यक्ति, समाज, स्थानीय सरकार, पारिवारिक सदस्यहरु, साथीभाई इष्टमित्रको साथ र सहयोग अनि शुभेच्छाले आफूले पुनर्जन्म पाएको अनुभूति उनमा आजभोली हुँदैछ । तैपनि उनको त्यो क्रान्तिकारी शक्ति मनबाट हराएको छैन अझै पनि बाँचेर केही गर्छु भन्ने सामथ्र्य र त्यो शक्ति बोकेरै बसेको बताउँछन् । झापामा कम्युनिष्ट आन्दोलनलाई मलजल गरेर पार्टी पंक्तिको आदर्श, मूल्य र मान्यतालाई शिरोपर गरेर हिंड्ने दमकका पहिलो जननिर्वाचित मेयर बुढाथोकी यतिखेर ओछ्यानमा छन् । मुटु, किड्नी वाथलगायतको रोग बोकेर यत्रतत्र बाँच्ने आधार खोज्दै विभिन्न अस्पताल भौँतारिएका बुढाथोकीलाई अस्पतालकै बेडमा ४–५ पटक हर्टअट्याकले हानेर मरे–बाँचेको पत्तै भएन । ६ महिना अगाडि देखि नै ओछ्यान परेका बुढाथोकी दमक, धरान, विराटनगर हु्ँदै काठमाडौंको शहीद गंगालाल हृदयरोग केन्द्र पुगेर उपचार पाएपछि भर्खर तंग्रिदै मात्र छैनन्, नयाँ जीवन पाएको अनुभूति भएको बताउँछन् । शहीदको सपना बोकेर जनताको मुक्तिका लागि हिंडेको व्यक्ति भएका कारणले पनि हुनसक्छ शहीदको नामबाट खोलिएको मानवीय उद्दारको पवित्र संस्था शहीद गंगालाल हृदयरोग केन्द्रको उपचारले उनमा नयाँ शक्ति र उर्जा थपेर पठाइदिएको छ । उनी अहिले घरमै आराम गर्दै नियमित औषधी खाँदै समाजको चिन्तनमा आफूलाई डुबाइरहेका छन् ।
यत्रो संघर्ष गरेर जनताको मुक्तिको लागि लडेको व्यक्ति आज जीवनमरणसँग संघर्ष गरिरहेका बुढाथोकी भन्छन् – स्वास्थ्य त्यति राम्रो छैन, बिमार पनि फेरी उस्तै । यो हर्टहट्याक भनेको त्यति सुनेको पनि रै’नछु । अहिले आफैँलाई पटक पटक त्यसले आक्रमण गरेर सताउँदैछ ।
तर मलाई सबै साथीहरुले माया गर्नुभयो, सबैले माया गरे क्या । पार्टीको सहयोग त, हाम्रो पार्टी त्यसै पनि यत्रो यत्रो सानो छ । आफू बसेको पार्टी, मान्छे त पुरानै थिए ।
एमालेका साथीहरु धेरै आउनुभयो । धेरै सहयोग गर्नुभयो । नेपाली काँग्रेका साथीहरु धेरै आउनुभयो, धेरै सहयोग पनि गर्नुभयो । राप्रपाका साथीहरु धेरै आउनुभयो र सहयोग पनि गर्नुभयो । व्यक्तिगत रुपमा मेरा परिवारका सदस्यहरु दाजुभाई, काका, भाई, भतिजा, दिदीबहिनी सबैले धेरै माया गरे । मेरो आयु त्यही भएर लम्बियो ।
आफूले गर्न त धेरै कुरा बाँकी नै छन् तर गर्न सकिएन । तर मैले नराम्रा काम जनतालाई दुःख दिने काम, राष्ट्रलाई आघात पुग्ने काम त्यस्तो केही गरेकै छैन र महसूस पनि छैन । पश्चाताप भन्ने त गल्ती गरे न हुने हो । गल्ती नै नगरेको मान्छेले पश्चाताप के का लागि गर्ने ? के मा गर्ने ? मलाई थाहा छैन । कोही साथीहरुले देखाइदिनु भयो भने त्यो पनि गरौँला तर अहिलेसम्म थाहा छैन कि म पार्टी संगठनको काम गर्दा होस् वा स्थानीय सरकार चलाउँदा नै किन नहोस्, यहाँ नेर चुकेँ वा यहाँ मेरो गल्ती भयो भन्ने हेक्का आफूमा नरहेको उनी सुनाउँछन् ।
बुढाथोकी भन्छन्– जीवन हारेको छैन । अझै सञ्चो भएर केही गर्ने इच्छा, चाहना छँदैछ । म निको हुन्छु । मलाई बिमार लागेको छ । म उपचार गर्दैछु । म जाती भएर सामाजिक काम, जनतालाई हित हुने काम, राजनीतिक काम गर्न सक्छु भन्ने आत्मविश्वास चाहिँ पालेकै छु ।
कम्युनिष्ट पार्टीको माथिल्लो बहकिएको पंक्ति देखेर वाक्कदिक्क भएका बुढाथोकी तल्लो तहमा हिजोका दिनमा पार्टी र जनताको मुक्तिको लागि झोला बोकेर हिंड्दा लागेका गोली र खुट्टा भाँच्चिएर भएको अपांङ्गता अहिले गाउँघरमा प्रशस्त भेटिने र तिनीहरुका लागि केही नभएको चिन्तन पनि पालेका छन् । ७ वर्षको पार्टीप्रतिको आस्था, विश्वास, प्रेम र इमान्दारिताले २०३७ सालमा बल्ल कम्युनिष्ट पार्टीको सदस्यता लिएका बुढाथोकी निरन्तर काम गरेको भएकाले पार्टी सदस्यता पाएको बताउँछन् । पार्टी सदस्यता लिएर पहिलो अधिवेशनमा छिर्ने सुवर्ण अवसर पनि उनले २०३७ मै पाएका थिए । त्यसबेला झापाबाट कम्युनिष्ट आन्दोलनमा लाग्ने माले पार्टीका सदस्य १५÷१६ जना मध्येका एक उनी थिए । तिनै १६ जना मध्येको एउटा म थिएँ । पर्शु सञ्जेल, लिला प्रसाई, जीवन धिमाल, कृष्ण गौतम, तारा संयमी, रमेश पौडेललगायतका साथीहरु हुनुहुन्थ्यो । तिनै साथीहरुको भेलाले अधिवेशनमा कमिटी बनायो र कालीनाथ श्रेष्ठलाई सचिवको जिम्मेवारी दिइएको थियो । ५ जनाको कमिटीमा म चाहीँ सामान्य कार्यकर्ता मात्र थिएँ । त्यसपछि बल्ल राजनीतिक यात्रा सुरु भयो । एजी, पिएजी हुँदै इलाका कमिटीमा बसेँ । २०३६ सालमा दमक क्याम्पसमा रहँदा अनेरास्ववियुको जिल्ला कमिटीको सदस्य भएर काम गरेको थिएँ । २०३९ सालमा जिल्ला कमिटीको अध्यक्ष भएँ र त्यही बेला जेल परेँ । ३ वर्ष जेल बसाई पछि २०४२ सालमा साथीहरु सहित रिहा भयौंँ । दिपक कार्की, म, लिला कट्टेललगायत एकैपटक रिहा भएका थियौंँ । त्यसपछि बल्ल राजनीतिलाई पेशा बनाएर घरबारलाई गौण मानेर राजनीतिको नशामा डुबियो । काम प्रमुख हो, राजनीतिक परिवर्तन प्रमुख हो । जनता प्रमुख हो भनेर घरपरिवारलाई गौण बनाउँदै राजनीतिलाई प्राथमिकतामा राखेर हिंड्न थालियो र म पेशेवर भएँ । ३ वर्ष जेल बसाई अनि ४ वर्ष पेशेवर कार्यकर्ता भएर काम गरियो । त्यसपछि २०४६ को परिवर्तनपछि भएको पहिलो निर्वाचनमा पार्टीले दमक नगरपालिकाको पहिलो मेयरमा निर्वाचन लड्न नाम पठाएछ । कुनै अनुभव थिएन । ठूला काम कहिल्यै नगरेको । भाषण कहिल्यै नगरेको तर पनि सबैले माया पनि गर्ने र पार्टीले पत्याएछ । त्यसबेलाका मेरा प्रतिद्वन्द्वी बलभद्र अधिकारी (राप्रपा), होम बहादुर नेपाल (काँग्रेस) थिए । उनीहरुलाई लडाएर पहिलो जननिर्वाचित मेयरको रुपमा दमकमा इतिहास बनाएको हुँ । ५ वर्ष नगरपालिकको काम इमान्दारिताका साथ गरियो । एक पैसा काहीँ केही तलमाथि नगरीकन काम गरियो । इमान्दारिताका साथ काम गर्नुपर्छ भन्ने शिक्षा हामीलाई दिइएको थियो । सानो बजेटले पनि त्यसबेला विकासको सूत्रपात गराएको अनुभव छ । नगरपालिकाको माथिल्लो भवन निर्माणदेखि क्वाटर, आम्दा अस्पतालको भवन, पशु हाट, गाडीहरु खरिद गरेका, ढल निर्माण गर्ने काम पनि त्यसैबेला भएको थियो । सडक बत्ती लगाउने पनि त्यसबेला बाटै सुरु भएको थियो । हरेक ठाउँमा ग्राभेल बाटोलगायतका धेरै विकासका पूर्वाधार बनाउने कामको सुरुआत ४९ लाख बजेटको दायराभित्र बसेर गरियो । कर्मचारी खर्चसहितको बजेट ४९ लाखले जनताको इच्छा र आकांक्षा पूरा गर्नेगरी विकासको काम गर्नुपर्ने बाध्यता त्यसबेला थियो । लामो समयसम्म कर्मचारीको मनपरितन्त्रले वाक्क भएका जनताले पहिलो पटक जिताएको मेयरले जनताको इच्छा, आकांक्षा कति सम्बोधन गर्न सक्नुपथ्र्यो त्यो त गर्न सकिएन तर भएको बजेटलाई सही सदुपयोग गरेर जनताका आधारभूत आवश्यकता र चाहना पूरा गर्नेतर्फ लागियो । म नगरपालिका छिर्दा कर्मचारीको बथान देखेँ । आवश्यकता भन्दा धेरै कर्मचारी देखेपछि अनावश्यक कर्मचारी छाँटेर कामलाई अगाडि बढाइयो । त्यसबेलाको नगरपालिकामा मेरो नेतृत्व अल्पमतमा (एमालेका ६ जना निर्वाचित) रहे पनि टिममा कहिल्यै दुईमत नभएको र नोट अफ डिसेन्ट नलेखिएको ऐतिहासिक कार्यकाल थियो । एमाले, काँग्रेस र राप्रपाले त्यसबेला नगरपालिकामा देखाएको इमान्दारिता, जिम्मेवारी, जवाफदेहितासहितको संस्कार, पद्धति, विचार र दृष्टिकोणकै कारणले हरेक निर्णय सर्वसम्मत हुने गर्दथ्यो । सर्वसम्मत निर्णय गर्दै जनताको काम गर्ने उदाहरणीय जनप्रतिनिधिको टिम थियो त्यो । २०४६ को परिवर्तन पछिको पहिलो निर्वाचनको पहिलो मेयर थिएँ म । कहिल्यै केहीमा विवाद भएन । त्यसबेलाका कार्यपालिका सदस्य राम कुमार थापा अहिले दमक नगरपालिकको नगर प्रमुख हुनुहुन्छ । १९ वटा वडामा निर्वाचित जनप्रतिनिधिहरुको एउटा सिंगो जिम्मेवार, लगनशील, इमान्दार, जुझारु टिम त्यसबेला भएकै कारणले त्यसबेलाको सानो बजेटले ठूला ठूला काम गर्न सफल भइएको थियो ।
यथार्थतामा भन्नुपर्दा त्यो ५ वर्षे कार्यकाल रमइलोसँग बितेको अनुभव र अनुभूति बुढाथोकीको मानसपटलमा घुमिरहन्छ । अनुभवविहीन मान्छे भूँइबाट टपक्क टिपेर त्यति ठूलो पदमा पार्टीले पु¥याएको थियो । अन्य राजनीतिक पाटीसँग सरसंगत पनि राम्रो ढंगले हुन नसकिरहेको, राप्रपाले एमालेलाई अराष्ट्रिय तत्व भनेर खेदिरहेको, काँग्रेससँग पनि त्यति राम्रो सम्बन्ध नभएको अवस्थामा उनीहरुसँग मिलेर ५ वर्ष निर्विवाद ढंगले कार्यपालिका चलाउनु भनेको चानचुने कुरा थिएन, होइन, धेरै राम्रो र उपलब्धीमूलक कार्यकाल नै लागेको छ । वास्तवमा भन्ने हो भने त्यो कार्यकालबाट पछिल्ला नेतृत्वहरुले सिक्नुपर्ने जस्तो लाग्छ । त्यसपछि कुनै पद, प्रतिष्ठा केही नभनी, लोभलालच नराखी पार्टीकै काममा फर्किएको वामपन्थी आन्दोलनको पूर्वेली हस्ती अर्थात् भन्नुपर्दा झापाका अगुवा नेता बुढाथोकी भन्छन् ।
तर तिनै दमकका पूर्व मेयर बुढाथोकी थलिएर ओछ्यानमा पर्दा अहिले भने बेवास्ताको शिकार बनेका छन् । ३७ सालम पार्टी सदस्यता लिएर ४२ सालमा अमृतकुमार बोहोरा सचिव रहेको कार्यसमितिमा सह–सचिव भएर जिल्ला कमिटीमा बसियो । त्यहीबेला अनुरास्ववियुको केन्द्रीय सदस्य (सेक्रेटरी सदस्य) को जिम्मेवारी पनि लिइएको थियो । त्यो सह–सचिव भएको नाताले पछि अञ्चलमा पार्टीले तान्यो । पेशेवर कार्यकर्ता भएको कारणले पूर्वको झापाका इलाका सबै विर्तामोड, भद्रपुर, महेशपुरलगायतका ठाउँहरुमा पार्टीको काम धेरै गरियो ।
दमकको मेयर भएपछि दमकका अन्य संघसंस्थाहरुमा ढोका खुलेको अनुभूति गर्ने बुढाथोकी त्यसपछि दमकमा भएको मदन भण्डारी स्मृति प्रतिष्ठानको संस्थापक कोषाध्यक्ष, सचिव, दमक बहुमुखी क्याम्पसको तीन कार्यकाल अध्यक्ष भएपछि अहिले सल्लाहकार संयोजकको भूमिकामा दमक क्याम्पसको सञ्चालक समितिमा रहिरहेका छन् । पब्लिक क्याम्पसको केन्द्रीय सदस्य, खप्तडी बुढाथोकी सेवा समाजको पूर्वाञ्चल अध्यक्ष, केन्द्रको सल्लाहकार सदस्य, नेपाल रेडक्रस सोसाईटी, हिमालय माध्यमिक विद्यालयको व्यवस्थापन समितिलगायत धेरै संस्थामा बसेर काम गरेको अनुभव संगालेका छन् । अहिलेको नगरपालिकाको गतिविधिका सन्दर्भमा बुढाथोकी सन्तुष्ट रहेका छन् । अहिले बजेट पनि राम्रै र प्रयत्न पनि राम्रै भईरहेको महसूस आफूले गरेको उनी बताउँछन् । उनले भने राम कुमार थापाजीलाई हाम्रै प्रयत्न र पहलमा जिताएकै हो किनकी एमालेलाई एउटा सवक सिकाउनुपर्ने थियो र त्यसबेला राम बाहेक अरुलाई उठाएको भए जित्ने अवस्था पनि थिएन । एमाले बाहेकको शक्ति मिलेरै राम थापालाई जिताएको हो । उहाँले राम्रै काम गरिरहनु भएको तर जसरी धरान, काठमाडौंका मेयरहरु चर्चामा छन् त्यो खालको चर्चा हुन सकिरहेको छैन । राम्रा जनमुखी काममा सबैको ध्यानाकर्षण हुने खालका गतिविधि गरिदिए हुने भन्ने पनि लाग्छ । तर त्यस्तो गर्न सकेको छैन, जानेको छैन नजानेको पनि होला । व्यक्तिगत रुपमा भन्नुपर्दा मेरो साथी नगरपालिकाको मेयर छ । मलाई अहिले यति ठूलो बिमार पर्दा नपाले सहयोग गरिरहेको छ । त्यसको लागि दमक नगरपालिकालाई धन्यवाद पनि दिन्छु । दमक बहुमुखी क्याम्पसले पनि मलाई माया गरिरहेको छ । मेरा दाजुभाई, दिदीबहिनी सबैले सहयोग गरेका छन् । सबैजना धन्यवादको पात्र बनेका छन् । जसको सहयोगले आफूले पुनर्जन्म पाएको अनुभूति गरेको छु । उनीहरुको यो सहयोग नभइदिएको भए सम्भवतः बाँच्ने आधार नै थिएन ।
नगरपालिकालाई सुझावको रुपमा भन्नुपर्दा, त्यहाँ प्रजातान्त्रिक परिपाटी, संस्कार जुन छ त्यसलाई बदनाम गर्ने, त्यसलाई तल पार्ने खालको क्रियाकलाप नहुन् । नगरको विकासमा यहाँका जनताका आवश्यकता पूरा गर्ने कुरामा इमान्दारितापूर्वक सिंगै टिम लागोस् । त्यहाँ राप्रपा त छँदै नै छैन । काँग्रेस एमालेको बहुमत छ । यस्तोमा राजनीतिक विवाद गरेर, बखेडा झिकेर जनताका काममा अवरोध पु¥याउनु भन्दा मिलेर सिंगै नगरको हितका निमित्त जानु सबैभन्दा उपर्युक्त हुन्छ । राजनीतिक पूर्वाग्रह नराखीकन, रिसिइवी नराखीकन, विवाद आ–आफ्ना ठाउँमा होलान् तर त्यो काम गर्ने ठाउँ हो । जनताको ठाउँ हो त्यसकारण त्यहाँ त्यसरी गर्नुपर्छ ।
झापा विद्रोहलाई सम्झनु पर्दा त्यो एउटा किसानको आन्दोलन थियो । बौद्धिक र पढेलेखेका मान्छेहरुले अलि उग्र खालको चिन्तन र सोच बोकेर इण्डियाको प्रभावमा भएर त्यो घटना घटाए । निकै हत्या पनि भयो तर त्यसको उद्देश्य हत्या गर्ने भन्दा पनि परिवर्तन गर्ने, शोषणको अन्त्य गर्ने, जनताको मुक्ति गर्ने उद्देश्य भए पनि त्यसको काम चाहि गतिलो नभएको हुनाले त्यसको ठिकै ढंगले मूल्यांकन गरिनुपर्छ ।
त्यसपछि २०३६ साल आयो । ०३६ सालमा वास्तवमा राजा वीरेन्द्र अलि लचिलो, अलि व्यवहारिक, अलि जनताको भावना बुझ्ने राजाको रुपमा बुझेको छु । किनभने नदिँदा नि हुन्थ्यो नि । बहुदल रोज्छौं कि निर्दल रोज्छौ. नभनेको भए हुन्थ्यो । अरु मान्छे मारेको भए त केही हुन्थ्यो नि । तर उनले त्यस्तो गरेनन्, उनी जनप्रिय रहेछन् । धाँधली भयो, के भयो, पछि निर्दलले जित्यो त्यो आफ्नो ठाउँमा छ तर त्यो विषयलाई किनारा लगाउन जनमतसंग्रह गराउने हिम्मतलाई ठूलो मान्नुपर्दछ । त्यसबाट नेपालीमा एक खालको चेतना ल्यायो । राजामा जनतालाई पेलेर एकलौटी जान खोज्यौ भने नहुने रहेछ भन्ने चेत पलायो । अलि लचिलो भएर जनताको भावना अनुरुप काम गर्नुपर्ने रहेछ भ्न्ने भावना राजाका दिमाग प¥यो । त्यसले पनि ०३६ साललाई राजनीतिक परिवर्तनका लागि राम्रो पाठ दिने वर्षको रुपमा बुझ्छु ।
कम्युनिष्ट पार्टीमा विकृति आयो । विचार सिद्धान्त केही चाहिएन । अहिले त लठ्ठी, मुंग्री चाहियो । पैसा चाहियो । नेताहरुलाई रिझाउन सक्नु प¥यो । चाकडी गर्नुप¥यो । जसले त्यो गर्न सक्यो त्यसले पद पनि पायो । पुरस्कृत पनि भयो । जिम्मेवार ठाउँमा पनि पुग्यो । जसले स्वाभिमानले त्यस्तो गर्न जानेन वा दिएन त्यस्ता मान्छे पछाडि परे । अहिले नाम मात्र कम्युनिष्ट राखिएको तर आचरण, व्यवहारमा काँग्रेस, राप्रपा वा अन्य दल भन्दा फरक देखिएन । जसरी हुन्छ सत्तामा पुग्ने र मोजमस्ती गर्ने, आफूले गरिखाने, आफ्ना मान्छे भर्ती गर्ने, जनताका चाहना, इच्छा के छन् त्यतातिर मतलवै नराख्ने जस्ता विकृतिहरु देखियो । अहिलेका कम्युनिष्ट पार्टीले गरेका गतिविधि र आचारण, शैलीबाट म चाहीँ सन्तुष्ट छैन ।
त्यसो त देशमा ३ पटक प्रधानमन्त्री भइसकेका र चौथो पटकको प्रधानमन्त्रीको कार्यभार सम्हाल्दै गरेका झापाकै कम्युनिष्ट नेता केपी शर्मा ओलीलाई कम्युनिष्ट भन्न रुचाउँदैनन् उनी ।
उनी भन्छन्– केपी ओली कम्युनिष्ट जस्तै लाग्दैन । भन्न त उहाँ क्रान्तिकारी तल्लो वर्गबाट उठेको नेता भन्नुहुन्छ । जेलनेल परेको भन्नुहुन्छ र तर उहाँको बोलीचाली, चरित्र, स्वभाव कम्युनिष्ट नेतामा हुने खालको छैन । उहाँले राजीनामा दिएर एउटा नयाँ नेतृत्व निर्माण गरिदिए देखि कम्युनिष्ट पार्टी, कम्युनिष्ट आन्दोलन अलि मजबुत बन्छ भन्ने मलाई लाग्छ । उहाँलाई अहिले सबैले समर्थन गर्नुको पछाडि उहाँको भाषा, शैली, कथा, उखान तुक्काले अलमल्याएको अनुभूति उनी गर्छन् । सोझा जनतालाई भुलभुलैयामा पारेर सत्ताको चावी बारम्बार लिइरहेको उनको कथन छ ।
केपी ओलीकै आचरण, शैलीकै कारणले माधव नेपालहरुले विद्रोह गरेर निस्केका हुन् भनेर उनी ठान्दैनन् । उनी भन्छन्– उनीहरु स्वार्थले उछिट्टिएका हुन् । उनीहरुले जे गरे त्यो गलत गरे । पार्टी फुट्नु जरुरी थिएन त्यहाँ जुध्नुपथ्र्यो, लड्नु पथ्र्यो । त्यो गलत प्रवृत्तिका विरुद्धमा लड्नु पथ्र्यो । त्यो हिम्मत नभएर उनीहरु पनि लेनदेनमा के देला केपीले भनेर आश गरे, आश गर्दा गर्दै नदिए पछि विद्रोह भएको हो । अरु कुनै वैचारिक, सैद्धान्तिक कारण केही छैन । कार्यक्रम एउटै छ, जनताको बहुदलीय जनवाद भनेका छन् । माक्र्सवाद भनेका छन् । लक्ष्य, उद्देश्य एउटै छ । सबै पदको खोजी रहेछ । अध्यक्ष चाहिएको रहेछ । कुर्सी चाहिएको रहेछ । मन्त्री, प्रधानमन्त्री चाहिएको रहेछ । चाहिन त ठिकै छ राजनीतिमा चाहिन्छ तर फोहोरी ढंगले आएर मात्र के गर्नु ? एउटा योजना हुनुप¥यो, प्रधानमन्त्री भए पछि यो गर्छु भन्नुप¥यो, कार्यक्रम लिएर आउनु प¥यो त्यो केही पनि छैन । अनि हामी कार्यकर्ता सोझा छौँ । कुन नेताले के भन्छ कन्भिन्स भयो । हामीलाई पट्याउँछन् अनि भागवण्डा गर्छन् अनि फाइदा उनीहरु लुट्ने । एकपटक प्रधानमन्त्री भएपछि, अध्यक्ष भएपछि नमरुञ्जेल चाहिने, अरुलाई बाँड्नै नहुने, दिनै नहुने, यो खालको प्रवृत्ति अरुतिर कहिँ पनि छैन क्या । हामी कहाँ मात्र छ यो रोग ।
अहिले त विचारको कुरै छैन । केपी ओलीलाई कोमल वली पोइला जान पाम, पाम, पाम भन्ने मान्छे नभई हुँदै भएन । राज्यलक्ष्मी, उसकी बुहारीले पैसा दिए पछि सांसद पनि त दिँदो रहेछ । त्यस्ता मान्छेको कुरै नपत्याउँ ।
हामी सारा दुःख गर्ने, संघर्ष गर्ने, घरबार छोड्ने, जेलनेल भोग्ने, अहिले पनि कतिपय गोली लागेका, खुट्टा भाँचिएका छन् । त्यस्ता मान्छे विस्तारै हराउँदै जाने अनि केपी ओली जस्ता मान्छेहरुले घेर्ने र त्यसमा रमाउने नेतृत्व त्यस्तो भयो । भिम रावलजस्तो मान्छे बाहिर भए । जिन्दगीभर दुःख गरेको मान्छेलाई खेदेको छ खेदेको छ । अर्को घनश्याम भुसाल । जसलाई केपीले मन पराएनन् त्यो खेदाइमा परे । खेदाइमा पर्नुको अरु कारणै छैन । उनीहरुले चाकडी गर्न चाहेनन्, चाकडी जसले केपीको गरेन, जसले नेताको गरेन र उसको दिल खुस गर्न सकेन त्यो खेदिन्छ । लखेटिन्छ र बाहिरिन्छ– पछिल्लो राजनीतिक संस्कार बन्यो ।
केपी ओली मान्छे मारेर जेल गएको त त्यसबेला नक्सलवाडी आन्दोलनको प्रभावले व्यक्ति हत्याको कार्यक्रम नै थियो । जमिन्दारलाई सिध्याउने, श्रमजीवि जनताको मुक्ति गर्ने नै थियो । किसानको मुक्ति गर्ने थियो । त्यसबेला कसैको टाउको काटे, कसैको खुट्टा काटे । कसैलाई कुटेर मारे, कसैलाई खेदेर मारे । दुर्गा प्रसाईले हजुरबुबा मारेर जेल पसेको भनिरहँदा दुर्गाको हजुरबाउ पनि गतिलो मान्छे थिएन । सामन्ती जमिन्दार नै थियो । त्यहाँका दुनियाँ किसानहरु रुवाएको थियो । त्यो कार्यक्रम अन्तर्गत मारिएको हो । त्यसमा गर्दा गर्दै अलिकति तल्लो वर्गका मान्छे पनि परेका छन् । निकै त्रुटी, कमजोरीहरु भएका छन् । मैले भनिसकँे त्यसबेला अलिकति उग्र खालको चिन्तन र सोच थियो । उग्रवादी सोचको कारणले गर्दा खेरी ती घट्नाहरु घटेका हुन् ।
सच्चा कम्युनिष्टको खडेरी लागेको बेलामा उनी, म र हामीजस्ता हजाराँैं गाउँ गाउँमा जीवनसँग जुधिरहेको बताउँछन् । उनी भन्छन्– यो देशमा यसो हेर्दा साँच्चिकै नेता त हामी सबै छौं नि । साह्रै दुःख ग¥या छ हामीले कम्युनिष्ट पार्टी बनाउनलाई ? खुन पसिना बगाएका छौं, जेलनेल गएका छौं । धेरै तल्लो तहका कार्यकर्ताहरु कम्युनिष्ट छन् । तर माथिल्लो नेतृत्व जुन छ त्यो नेतृत्व चाहीँ बहकियो । त्यसले गति छोड्यो । त्यो चाहीँ अब सुख, सुविधा, लोभ, लालचा, पद, प्रतिष्ठा, गाडी, झण्डामा फँस्यो र हामी कहाँबाट आएका थियौं । हामी कस्तोबाट जन्मिएको हो त्यो सबै कुरा बिर्सियो । त्यसकारण अब धेरै छन् सच्चा कम्युनिष्ट । कम्युनिष्ट त सबै जनताले मन पराएका छन् । कम्युनिष्ट , विचार, सिद्धान्त जसले सर्वहारा वर्गको, श्रमजीवि जनताको मुक्ति गर्नको लागि लडिरहेको छ । काम गरिरहेको छ । उनीहरुको जीवनमा परिवर्तन गर्ने उद्देश्य बोकेको छ त्यसलाई कसले मन नपराउला र ? त्यस्तै सामन्ती वर्ग, जो शोषण गरिरहेको छ । त्यसलाई मन नपरेको हुनसक्ला तर समग्रमा सबै नेपालीले कम्युनिष्ट मन पराउँछन् । मनपराएकै कारणले बहुमत दिए, झण्डै झण्डै दुई तिहाई पनि दिए तर त्यसको सही सदुपयोग हुन सकेन, जानेनन् । कथा, तुक्का अनि अनावश्यक आदर्शका कुरा मात्र गरेर समय कटाए । व्यवहारमा साँच्चै जनताका कामहरु चाहीँ भएनन् । अझ केपीबाट त त्यो हुँदा पनि हुँदैन ।
कम्युनिष्ट नेताहरु सम्झँदै उनी भन्छन्
–पढेलेखेका पनि कम्युनिष्टमा लागेर साँच्चिकै कम्युनिष्ट बन्न सकेनन् । उनीहरुको बौद्धिकता समाजमा लगाउन सकेनन्, कार्यक्रम ल्याउन सकेनन् र उनीहरुको त्यो बौद्धिकतालाई व्यवहारिक बनाउन नसकेको गुनासो पनि उनमा छ । मोहन वैद्य अध्ययनशील मान्छे हुन् । माक्र्सवाद राम्रै अध्ययन गरेका छन् । तर अध्ययन गरेर त्यो ज्ञान मात्र भएर हुँदैन त्यसलाई व्यहारमा कति लागु गर्न सकियो त्यो महत्वपूर्ण कुरा हुन्छ । परिवर्तनका निम्ति त्यो ज्ञान, त्यो शिक्षा लगानी गर्न सकेको भए उनीहरुको जीवनलाई जनताले अर्कै रुपमा लिने थिए तर त्यो देखिएन ।
धेरै नेताहरुसँगको संगतलाई सम्झँदै बुढाथोकी भन्छन्– सबैभन्दा आदरणीय, सच्चा कम्युनिष्ट नेता मदन भण्डारी हुनुहुन्छ । उहाँ जहिले पनि एकदम सरल, जहिले कार्यकर्तासँग घुलमिल हुने, कार्यकर्ताको मर्मलाई बुझ्ने, विचार ल्याउने, विश्लेषण गर्ने, नेताका रुपमा मदन भण्डारीलाई लिन सकिन्छ । म अर्को बीपीलाई पनि मान्छु । बीपीमा पनि एउटा विचार, दृष्टिकोण, भिजन भएको नेता हो । त्यस्ता नेताको खाँचो छ ।
अर्को राप्रपालाई खुशी लाग्ला, अरुलाई पिर पर्ला तर इतिहास इतिहास नै हुन्छ । महेन्द्र पनि एउटा भिजन भएको राजा थिए । मोहियानी हकका कुरा, भूमिका कुरा १० विगाहा भन्दा बढी जग्गा राख्न नपाउने, राजमार्गहरु सबै महेन्द्रकै पालामा बनेका थिए । अहिले कसैले त्यसलाई काटेर केही गर्न सकेको छैन भनेपछि सही तरिकाले गरेको रहेछ भन्ने प्रमाणित भयो नि ति भन्ने कुराहरुलाई हामीले कहिल्यै बिर्सनु हुँदैन । सामन्तले ग¥यो भनेर त्यतिकै त्यसलाई उडाइदिन मिल्दैन । यि दुई तीन नेताहरुको बहुतै आदर गर्छु ।
अन्त्यमा अहिलेको नेतृत्वलाई सुझाव दिन पनि उनी चुक्दैनन् । उनी भन्छन्– नेकपा एमाले एउटा त वैचारिक, सैद्धान्तिक रुपबाट क्लियर हुनुप¥यो । आदर्श छाँट्ने मात्र नभएर विचार, सिद्धान्तलाई व्यवहारमा उतारेर खारिने कामको खाँचो छ । राम्रो प्रशिक्षणको खाँचो छ । प्रशिक्षण अब केपीले दिएर हुँदैन । म एउटा जड्याँहाले जाँड खानु राम्रो कुरो होइन भनियो भने कसैले पत्याउला । साँच्चै आफूलाई त्यस अनुरुपको चरित्र बनाएर प्रशिक्षण दिन्छ भने म पत्याउँछु । त्यो खालको प्रशिक्षकहरुको आवश्यकता छ र प्रशिक्षण दिनु जरुरी छ ।
पार्टी अनुशासन, पद्धतिको आवश्यकता छ । सर्वहारा वर्ग भनेर हँसिया र हथौडा बोकेर ठुङ्छु भनेर अब हुँदैन । जमाना कहाँबाट कहाँ पुगिसक्यो । एउटा बटम दबाउँदा सारा सिद्धिन्छ । अनि अब हँसियाले ठुंगेर हुन्छ, हुँदैन । समय अनुरुप माक्र्सवादलाई बदल्नु प¥यो । त्यस अनुरुप लानु प¥यो अनि मात्र कम्युनिष्ट अली ट्रयाकमा आउला ।
अहिलेको एमालेले बहुत धेरै कुराहरु परिवर्तन गर्नुपर्छ । नेतृत्व परिवर्तन गर्नुपर्छ । संगठनको ढाँचाहरु परिवर्तन गर्नुपर्छ । प्रशिक्षणका कार्यक्रमहरु परिवर्तन गर्नुपर्छ । जनताका के समस्या छन् त्यसको पहिचान गर्नुपर्छ । त्यो पहिचान गरेपछि समाधानका बाटाहरु यो यो गर्ने भनेर क्लियरकट दिन सक्नुप¥यो । अनि पो पत्याउँछन् । अब फेरी हिजोको कम्युनिष्ट एमाले हुनलाई बहुत् समय लाग्छ । हिजो एकपटक नेपाल एमालेमय भएको होइन र ? त्यो बन्न धेरै समय लाग्छ । बहुत मेहनत गर्नुपर्छ । अहिले हल्काफुल्का आदर्शका कुरा गर्ने, झुक्याउने कुरा गर्ने, चिप्ला कुरा गर्ने, अरुलाई पाँडे गाली मात्र गर्ने, आफूलाई मात्र शुद्ध ठान्ने, अरुका राम्रा कुरा देख्दै नदेख्ने, आफ्नै मात्र देख्ने यसरी हुँदैन । राम्रा कुरा सबैका राम्रा हुन्छन् । गलत कुरा गलतै हुन्छन् ।
बुढाथोकी अहिलेको गठबन्धन सरकारप्रति कुनै आशा र भरोसा नभएको बताउँछन् । उनी भन्छन्–अहिलेको गठबन्धन काम लाग्ने गठबन्धन नै होइन । अपराध ढाकछोप गर्ने गठबन्धन हो । यिनीहरु अपराधी हुन् । यि अपराधीहरुले आफ्नो अपराधलाई ढाकछोप गर्नको लागि, त्यसबाट जोगिनका लागि गरिएको गठबन्धन हो । यो कुनै जनता, राष्ट्रप्रति चिन्ता गरेर प्रजातन्त्रलाई जोगाउन, प्रजातन्त्र सुदृढ मजबुत बनाउन, गरिएको गठबन्धन नै होइन र हुनेवाला पनि छैन । यो गठबन्धनबाट केही पाइन्छ कि भनेर तपाई हामीले आश गर्नु बेकार हुन्छ ।