देश–समाज मुख्य

राजकीय सम्मानका साथ नेम्वाङको अन्त्येष्टि

दमक, २९ भदौ
-संविधानसभाका अध्यक्ष एवं नेकपा (एमाले) का उपाध्यक्ष सुवास नेम्वाङको राजकीय सम्मानसहित बिहीबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले पशुपति आर्यघाटमा राष्ट्रिय झन्डा ओढाएर नेम्वाङप्रति अन्तिम श्रद्धाञ्जली व्यक्त गरेका थिए । यसैगरी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमाले पार्टीको झन्डा ओढाएर सम्मान व्यक्त गरेका थिए ।
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसहित विशिष्ट व्यक्तिहरुले नेम्वाङलाई श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
त्यसपछि नेम्वाङको पार्थिव शरीरमा छोराहरु मिङ्सो र सुहाङ नेम्वाङले दागबत्ती दिएका छन् । हिन्दु र किरात दुवै परम्परालाई समेटेर अन्त्येष्टि गरिएको थियो ।
राजकीय सम्मानका साथ अन्त्येष्टिका लागि नेम्वाङको निवास बालुवाटारबाट शव आर्यघाट ल्याइएको थियो । नेम्वाङको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली व्यक्त गर्न आर्यघाटमा एमालेका शीर्ष नेता, सांसद्, कार्यकर्ता, शुभेच्छुक, आफन्त र सर्वसाधारणको बाक्लो सहभागिता रहेको थियो ।
हृदयघातका कारण यही भदौ २६ गते निधन भएका नेम्वाङको अन्त्येष्टिको दिन बिहीबार सरकारले सार्वजनिक बिदा दिएको छ ।
-दुवै सदनबाट शोक प्रस्ताव-
संविधानसभाका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य नेम्वाङको निधनमा प्रतिनिधिसभा र राष्ट्रियसभाले बिहीबार शोक प्रस्ताव पारित गरेको छ ।
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेम्वाङको निधनले सिंगो मुलुक स्तब्ध बनेको बताए । २० को दशकयता लोकतन्त्र र गणतन्त्रका लागि भएको आन्दोलनमा सक्रिय र प्रभावकारी भूमिका निर्वाह गरेका नेम्वाङले संविधानसभा मार्फत नेपालको संविधान बनाउन नेतृत्वदायी भूमिका खेलेको उनले बताए ।
बिहीवारै बसेको राष्ट्रिय सभाको बैठकले पनि नेम्वाङको निधनको शोक प्रस्ताव बैठकबाट सर्वसम्मतिले पारित गरेको छ ।
बैठकमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संविधान सभा अध्यक्ष, पूर्वसभामुख एवं वर्तमान प्रतिनिधि सभा सदस्य सुवासचन्द्र नेम्वाङको ७१ वर्षको उमेरमा मिति २०८० साल भदौ २६ गते निधन भएकोमा राष्ट्रिय सभाको बैठकले गहिरो शोक प्रकट गरेको बताए ।
नेम्वाङ नेकपा एमाले पार्टीको तर्फबाट २०४८ र २०५२ मा राष्ट्रिय सभा सदस्य, २०५६ मा प्रतिनिधि सभा सदस्य, २०६३ मा पुनःस्थापित प्रतिनिधि सभा सदस्य र व्यवस्थापिक संसद सदस्य, २०७२ मा रुपान्तरित व्यवस्थापिक संसद सदस्य, २०७४ र २०७९ मा संघीय संसद अन्तर्गतको प्रतिनिधिसभा सदस्य थिए ।
-चार पटक निर्विरोध सभामुख-


दिवंगत संविधान सभाका अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ एक मात्रै पात्र हुन्, जो चारपटक सभामुखमा निर्विरोध चयन भए ।
सभामुखका लागि नेकपा एमालेले नेम्वाङलाई अघि सार्दा अन्य दलले उनलाई अवरोध नगरी समर्थन गरेका थिए । नेम्वाङको समन्वयकारी भूमिका र शालिनताले चारपटक नै सर्वसम्मत हुन पुगेका हुन् ।
२०६३ वैशाख ३० मा उनी पहिलोपटक सभामुख बने । दोस्रो जनआन्दोलनबाट पुनस्र्थापित संसदमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको सभामुखको रोजाइमा नेम्वाङ परे । गिरिजाले उनलाई रोज्नुको अर्काे कारण पूर्वसभामुख तारानाथ रानाभाटलाई ‘राजावादी’ को ट्याग लाग्नु पनि थियो ।
सभामुखमा नेम्वाङको पहिलो कार्यकाल १ माघ ०६३ सम्म रह्यो । अन्तरिम संविधान जारी भयो । अन्तरिम संविधान जारी भएको तेस्रो दिन अर्थात माघ ३ मा उनी पुनःसर्वसम्मत सभामुख बने । सभामुखको दोस्रो कार्यकाल २०६५ जेठ १४ सम्म रह्यो । अन्तरिम व्यवस्थापिका संसदमा एमाले बराबरको हैसियतमा माओवादीले प्रवेश पाएको थियो । कांग्रेसलाई ८५, एमाले र माओवादीलाई ८३÷८३ सिट छुट्याइएको थियो । नेम्वाङलाई सभामुख बनाउने प्रस्ताव माओवादी नेता कृष्णबहादुर महराले गरेका थिए । नेम्वाङलाई निर्वाचित गरियोस भन्ने एक मात्रै प्रस्ताव संसदमा दर्ता भएपछि उनी निर्विरोध चयन भए ।
तेस्रोपटक सभाध्यक्षका रुपमा नेम्वाङ ०६५ साउन १२ मा सर्वसम्मत बने । राष्ट्रपतिमा उम्मेदवार बनाउँदा एक ठाउँमा उभिएका कांग्रेस–एमाले–तत्कालीन मधेसी जनअधिकार फोरमले सभाध्यक्षमा नेम्वाङलाई अघि सारे । संविधान सभामा रहेका अन्य दलबाट उम्मेदवारी नपरेपछि नेम्वाङ फेरि निर्विरोध चयन भए । सभाध्यक्षको रुपमा उनको पहिलो कार्यकाल २०६९ जेठ १४, सम्म रह्यो ।
२०७० फागुन ६ मा सभामुखका लागि उम्मेदवार दर्ता हुँदा नेम्वाङको मात्रै नाम पर्यो र दोस्रोपटक पनि सभाध्यक्षका लागि उनी निर्विरोध भए । नेम्वाङलाई दोस्रोपटक सभाध्यक्ष बनाउन कांग्रेस र एमालेवीच सातबुँदे सहमति बनेको थियो । तेस्रो शक्तिका रुपमा खुम्चिएको माओवादीसहित अन्य दलले सभाध्यक्षमा उम्मेदवारी नदिएपछि उनी पुनः सर्वसम्मत बने । राप्रपा नेपाल, राप्रपा सहित दलले पनि नेम्वाङलाई समर्थन गरेका थिए ।

Author

You may also like