लेख विचार/वहस स्वास्थ्य

भिटामिन, यसका प्रकार र उपयोगिता

शरीरलाई स्वस्थ राख्न चाहिने छ प्रकारका तत्व मध्ये भिटामिन एक हो । कार्बोहाइड्रेट, प्रोटिन, भिटामिन, बोसो (चिल्लो पदार्थ)े, पानी र मिनरल (खनिज) मध्येको एक भिटामीन हो । शरीरलाई स्वस्थ राख्न, रोग प्रतिरोधात्मक क्षमता वढाउन र मस्तिष्कलाई सक्रिय बनाई सकारात्मक सोच र क्षमता वढाउनका लागि आवश्यक हुन्छ । हाम्रो शरीर असंख्य कोष र विभिन्न प्रकारका तन्तु, अङ्ग, प्रणाली, अनेकन तत्व, रसराग (हर्मोन) अनि न्यूरोट्रान्समिटरको संयोजनबाट बनेको र चलिरहेको हुन्छ । यिनै अनेकन तत्व मध्ये विभिन्न प्रकारका भिटामिनका कारण शरीर स्वास्थ रहेको हुन्छ । भिटामिन चिनेर उचित मात्रामा सेवन नगरेकै कारण र व्यायामको कमी अनि तनावले हामीलाई विभिन्न प्रकारका रोग लाग्न सहज भएको छ । जस्तैः, मधुमेह, थाइराइड्, उच्च रक्तचाप, पायल्स, ग्यास्ट्राइटिक, पत्थरिया, मानसिक समस्या, बुढेसकालमा देखापर्ने डिमेन्सिया, यौन शक्तिमा कमी, विभिन्न प्रकारका छालाका रोग, हड्डी सम्बन्धी रोग, जस्तै हड्डी खिइने, सामान्य चोटमै भाँचिने, चर्किने, मासी र मासंपेशी दुख्ने आदि आदि ।

भिटामिनका धेरै प्रकार भए पनि यसको शोषण प्रकृयाका हिसावले २ भागमा विभाजन गरिएको छ, वोसो अर्थात चिल्लो पदार्थसँग घुलिने र पानीसँग घुलिने । बोसो (प्mयाट)मा घुलिने भिटामिन मध्ये पहिलो भिटामिन ए हो । यो भीटामिन हरेक उमेर समूहलाई आवश्यक भए पनि सबैभन्दा धेरै केटाकेटी र बुढाबुढीलाई आवश्यक हुन्छ । केटाकेटीमा कमजोर रोग प्रतिरोधात्मक क्षमता हुने र विभिन्न प्रकारका संक्रामक रोगले आक्रमण गर्ने हुँदा यसबाट बच्न, रतन्धो र अन्य आँखामा लाग्न सक्ने रोगबाट बच्न भिटामिन ए धेरै चाहिन्छ । यसको कमी नहोस् भनेर सरकारले भिटामिन ए खुवाउने कार्यक्रम पनि हरेक वर्ष गर्दै आएको छ । यसरी नै बुढेसकालमा पनि खानाको कमी या विभिन्न रोगका कारण आवश्यक मात्रामा भिटामिन ए युक्त खानेकुरा खान नसकिने भएकाले र रोग प्रतिरोधात्मक क्षमता कम हुने भएकाले यसको वढी आवश्यकता पर्छ । यसरी नै गर्भवती महिला र स्तनपान गराउने आमाका लागि पनि अतिरिक्त मात्रामा भिटामिन ए खानुपर्छ । यसले आँखामा मात्र नभएर शरीर फुर्ति नहुने र प्रजनन स्वास्थमा पनि असर देखाउँछ । हामीलाई दैनिक चाहिने मात्रा भनेको १.५मी.ग्रा हो । जो हामीले दैनिक सेवन गर्ने खानेकुराबाट प्राप्त गर्न सक्छौं । यसको स्रोतः दुध, मक्खन, अण्डा, गाँजर, पाकेको फर्सी, मेवा, सुठुनी, सागपात, किवी, स्याउ लगायतका पहेला फलफूलमा प्रसस्त पाइन्छ ।

भिटामीन डी ः घाँटीको अगाडि थाइराइड ग्रन्थिको छेउमा रहेका साना पाराथाइराइड ग्रन्थिले उत्पादन गर्ने भिटामिन हो डी । बोसो या चिल्लो पदार्थमा घुलिने यो भिटामिनको कमी भएमा हड्डीमा हुने रोग रिकेट्स, हड्डी खिइँने र मांसपेशी कमजोर हुने, डिप्रेसन वढाउन सहयोग गर्ने, जीउ दुख्ने, सुन्निने, केटाकेटीमा दम रोग लाग्न सहयोग पुर्याउने, मुटुमा समस्या ल्याउने, मधुमेह, उच्च रक्तचाप, क्यान्सर जस्ता रोग लाग्न उक्साउने हुन्छ । यसले सेरेटोनिन् जस्ता बायोकेमिकल हर्मोन मस्तिष्कमा उत्पादन गरेर आफुलाई खुसी तुल्याउन, शरीरलाई आवश्यक पर्ने क्याल्सियम शोषण गर्न भूमिका खेल्ने जस्ता विभिन्न सुक्ष्म कार्य गर्ने भीटामिन डी हाम्रो शरीरलाई अति आवश्यक तत्व हो । यसरी नै पछिल्लो अनुसन्धान अनुसार यो भिटामिनको कमी भएमा शरीर काम्ने (पार्किन्सन्स् डिजिज), डिमेन्सिया (बुढेसकालमा विर्सने), जस्ता घातक रोग लाग्ने सम्भावना धेरै रहेको छ ।

यसको मुख्य स्रोत भनेको सूर्यको किरण अथवा घाम हो । सकेसम्म विहानको घाममा हरेक दिन १० मिनेट अथवा हप्तामा ३० मिनेट खुला रुपमा बसेमा भिटामिन डी शरीरलाई चाहिने जति प्राप्त हुन्छ । अझ यसको राम्रोसँग शोषण हुनका लागि चिल्लो पदार्थ भएको खानेकुरा विशेष गरेर थोरै भए पनि घिउ खानु राम्रो हो । यसको कमी भयो भने चिल्लो पदार्थ शोषणमा पनि कमी आउछ । यसरी नै अन्य स्रोतहरुमा दूध र दुग्धजन्य पदार्थ, अण्डा, माछाको तेल आदि मुख्य हुन् । शरीरलाई चाहिने मात्र ०.०१५ मिलिग्राम हो ।

भिटामीन इ ः चिल्लो अथवा बोसो तत्वमा घुलिने भिटामीन इ को कमी भएमा रक्त अल्पताका कारण जीउ सुन्निने, छालामा मोटोपन आउने, कमजोरी धेरै महशुस हुने र केटाकेटीमा कमी भएमा कलेजो सम्बन्धी रोग लाग्ने सम्भावना हुन्छ । यसको कमीले छालामा, छालामुनी, महिला या पुरुषका स्तनमा गाँठागुठी आउने हुन्छ । मांसपेशी, हातखुट्टा, दृष्टि कमजोर हुने, बोसोको शोषणमा कमी आउने जस्ता समस्या पनि देखापर्न थाल्छन् । हाम्रो शरीरलाई चाहिने मात्र ५.५ देखि १७ मिल ग्राम÷लिटर हो । यो हामीले खाने चामल अझ पोलिस नगरेको भए राम्रो, दाल, गेडागुडी, मासु, दूध, अण्डा, सागसब्जी आदि ।

भिटामिन के ः यो मुख्य गरेर शरीरको कुनै पनि भागबाट अनावश्यक रुपमा रगत बग्नबाट रोक्ने र चाँडो रगत जम्न सहयोग गर्ने तत्व हो । यसको शरीरमा कमी भयो भने महिलाहरुको पाठेघरबाट आवश्यक भन्दा धेरै रगत बग्ने, नात्री फुटेर धेरै रगत बग्ने आदि कारणबाट मानिसको अचानक मृत्युसम्म हुनसक्छ । यसका पनि के १ के २ जस्ता केही प्रकारहरु हुन्छन् । भिटामिन के २ ले भने मुटु रोग लाग्न र क्यान्सर रोग लाग्नबाट बचाउँछ । मात्रा पुरुषमा १२० र महिलामा ९० म्यूग्राम आवश्यक पर्छ ।

पानीमा घुलिने भिटामिन ः भिटामिन बी र सी पानीमा घुलिने भिटामिन हुन् ।

भिटामिन बी १ ः यसलाई थाइमिन पनि भनिन्छ । पानीमा सजिलै घुलिने यसको कमी भएमा बेरीबेरी, मुटुमा विभिन्न समस्या, नसा सम्बन्धी समस्या लगायतका थुप्रै रोगहरु लाग्न सहयोग पुग्छ । यसका साँथै यो भिटामिनले हरेक कोषमा रहेर शक्ति उत्पादन गर्न अनि दिमागलाई सामान्य राख्न मद्धत गर्छ । माछा, मासु, अण्डाको पहेलो भाग, विभिन्न प्रकारका दाल, गेडागुडी, आलु, कोदो, जौ, फापर आदिमा यो पाइन्छ ।

भिटामिन बी २ ः पानीमा सजिलैसँग घुलिने यसले हरेक कोषमा रहेर शक्ति उत्पादन गर्न मद्धत गर्नुका साँथै विभिन्न प्रकारका अत्यावश्यक तत्वले शरीरलाई स्वस्थ राख्न सहयोग गर्छ । यसको कमी भएमा कलेजो र फियो सुन्निने, मुखमा घाउ आउने, समय भन्दा अगावै बच्चा जन्मिने, पाचन प्रणालीमा समस्या देखापर्ने, जन्मिने वित्तिकैको बच्चामा कमलपित्त (नियोनेटल जन्डिस) देखापर्ने, शरीरका विभिन्न भागमा मसिना बिमिरा देखापर्ने जस्ता समस्या हुन्छन् । यो दूध र दुग्धजन्य पदार्थ, अण्डा, कलेजो, उम्रिएका गेडागुडी, ब्रोकाउली, पालक आदिमा पाइन्छ ।

भिटामिन बी ३ ः यसको पनि मुख्य काम शरीरका कोषमा रहेर शक्ति उत्पादन गर्नु हो । यसलाई नाइसिन पनि भनिन्छ । यसको मुख्य स्रोत माछा, मासु अन्य खाध्य पदार्थ हुन् ।

भिटामिन बी ५ ः यसलाई पेन्टोथेनिक एसिड पनि भनिन्छ । यसको पनि मुख्य काम कोषमा रहेर शक्ति उत्पादन गर्नु नै हो । यो भिटमिन पाइने स्रोतमा फलफूल, सागसब्जी, दाल आदि हुन् ।

भिटामिन बी ६ः यसलाई पाइरोडोक्सिन पनि भनिन्छ । यसको पनि मुख्य काम शरीरका कोषलाई शक्ति प्रदान गरेर मजबुत बनाउनु हो । र, शरीरमा शक्ति उत्पादन गर्न मद्धत गर्नु हो । यसको शरीरमा कमी भए अचानक वेहासी पना देखापर्ने या मस्तिष्क सम्बन्धी समस्या देखापर्ने हुन्छ । स्रोत ः माछा, मासु, दाल, दुध, अण्डा, पालकको साग आदि ।

भिटामिन बी ७ ः यसलाई लाई बायोटिन पनि भनिन्छ । यसको काम पनि शरीरका कोषमा रहेर शक्ति उत्पादन गर्न मद्धत गर्नु हो ।

भिटामिन बी ९ ः यसलाई फोलिक एसिड पनि भनिन्छ । रातो रक्तकोषमा रहेको हिमोग्लोविन वढाउन मुख्य भुुूमिका खेल्नुका साथै सम्पूर्ण नसाको कोष विकासमा सहयोग गर्छ । यो भिटामिनको कमी भएमा रक्त अल्पता, पेट सम्बन्धी समस्या, मांसपेशीको दुखाइ आदि हुन्छ । यो भिटामिनको महत्व स्वास्थ बच्चा जन्मन सहयोग गर्नु पनि रहेकाले गर्भवती महिलालाई ख्वाउने गरिन्छ । हरियो सागपात, दाल, गेडागुडी, माछा, मासु, कलेजो आदिमा पाइन्छ ।

भिटामिन बी १२ ः यसलाई साइनाकोबाल्मिन पनि भनिन्छ । यसले शरीरका कोषमा रहेर शक्ति उत्पादन गर्न सहयोग गर्नुका साथै मानसिक विकासमा पनि भूमिका खेल्छ । यसको कमी भयो भने रक्तअल्पता, शरीरका अङ्ग निधाउने, झमझम गर्ने, पखाला लाग्ने, मानसिक कमजोरी सहितको समस्या हुन्छ । यो दूध, दही, सागपात, कलेजो, अण्डा आदिमा पाइन्छ ।

भिटामिन सी ः यसले कोषिका र हड्डिको विकास, रक्तनसा र छालाको सुन्दरता वढाउन, मुटुको रोगबाट बचाउन, मोतियाविन्दु हुनबाट रोक्न, कोलेस्ट्रोल सामान्य राख्न, शरीरलाई चाँडै थकानबाट बचाउँछ । रोग प्रतिरोधात्मक क्षमता वढाउन सहयोग गर्छ । यसको कमी भएमा स्कर्भी, घाउ ढिलो निको हुने, रगत धेरै बग्ने, रक्तअल्पता, पटक पटक रुघामर्की लाग्ने, एलर्जी, गिजाबाट रगत बग्ने, हात खुट्टामा विमिरा, खटिरा आउने जस्ता समस्याबाट ग्रसित भइन्छ । यो हरियो सागसब्जी, अमिला फलफुल, स्वाउ, आलु आदिमा पाइन्छ ।

Author

You may also like