लेख विचार/वहस

हेलाको शिकार बन्नु हुँदैन सामुदायिक विद्यालय

आदरणीय अभिभावकजन, हार्दिक नमस्कार अभिवादन ।

सामुदायिक विद्यालय पढे बढेको हामी पहिलो पुस्ताले समाज ढाकेका छौँ । विषयगत रुचिका साथ धेरधेरै पढेको व्यक्तित्वले समाजको शिखर स्थान हासिल गरेको छ । अहिले यतिखेर नजानिँदो लयमा सामुदायिक विद्यालयको उपस्थितिलाई कमजोर तुल्याउन क्रियाशील संस्थागत विद्यालय र यसको दक्ष जनशक्ति पनि सामुदायिक विद्यालयकै उत्पादन हो ।

यसकारण पनि सामुदायिक विद्यालय व्यवस्थापन समिति, सम्पूर्ण गुरुजन, अभिभावक र विद्यार्थीले हिनताबोध अँगाल्नुहुँदैन, आफैंमा हिनभाव पाल्नुपर्दैन । पछिल्ला केही दिनयता अन्य कतिपय विद्यालयभन्दा सामुदायिक विद्यालय धेरै दृष्टिले बलिया रहँदै आएका दृष्टान्तहरू गतिला गतिला र मन लोभिने तहका समाचार बन्ने गरेका छन् । यो सबल पक्षको सुदृढ विकास सँगसँगै सामुदायिक समाजमा सकारात्मक योगदान गर्न प्रयत्नशील छन् र लालयित पनि ।

समाजको पहिलो पुस्ताले आफ्नो रहरलाई बन्धक राखेर र छाकबासलाई काटेर सामुदायिक विद्यालय निर्माणमा खर्चिएको सामथ्र्य कम महत्वको छैन । यो पृष्ठभूमिबाटै उत्पादित तपाई हामीले आफूभित्र रहेको सवल पक्ष र राम्रा विषयवस्तुको पहिचान गर्न सकेनौँ । सिकाइका लागि विद्यालय–गुरुजनले गर्नुभएको प्रयत्न र समाजसँग यसको संलग्नतालाई नजिकैबाट अँगाल्न र सम्हाल्न सकेनौँ । फलतः सामुदायिक विद्यालय हेलाको शिकारजस्तो भयो, रहँदै आयो ।

आज प्रश्न धितो बन्धक राख्न चाहिने प्रमाणपत्रको मात्र होइन, प्रत्येक विद्यार्थीले प्राप्त गरेको शिक्षा र शैक्षिक गुणस्तरको हो । शैक्षिक गुणस्तरको मापन निर्धारणसँगै संकल्पका साथ अघि बढ्ने हो भने हामी एउटा ५ वर्षमै अपेक्षित सफलता आर्जन गर्न सक्छौँ । सामुदायिक विद्यालय निर्माणमा हाम्रा अग्रजले गर्नुभएको योगदानलाई प्रतिफलका हिसावले साकार पार्न सक्छौँ । समुदायगत कला, संस्कृति र भाषाअनुरुप विकसित अध्ययन र पठनपाठनको संग्रहलाई राष्ट्रिय बौद्धिक पूँजीको रूपमा प्रवद्र्धन गर्न सक्छौँ ।

आज बजारमा दुई खाले शिक्षा प्राप्त शैक्षिक जनशक्ति छ । एउटा उत्कृष्ट जनशक्ति अष्टे«लियातिर आकर्षित छ भने अर्को खाडी देशतिर । यो दुइटै पक्ष हाम्रालागि घातक छ । यसले गाउँबस्तीलाई उजाड बनाएको छ, बृद्ध आमा–बुबालाई घरमा एक्लाएक्लै । आजका विद्यार्थीमा देशभित्र नै गरिखान सकिन्छ भन्ने अर्थमा भरपुर आत्मविश्वासको अभाव छ । सीपसहित आर्जन गरेको शैक्षिक जनशक्तिले पनि कक्षा १२ उत्तीर्ण हुनासाथ बिदेश पलायन हुनुपर्ने स्थिति अन्त्य गर्न जरुरी छ । यद्यपि, जनयुद्धकालीन सामाजिक जीवनका असजिला क्षणमा सहजताको खोजिमा शहर सिफ्ट हुने र बिदेशतिर लाग्ने कारण एउटा हो भने अंग्रेजीमोहको अतिरिक्त पराकाष्टाले उघ्रिएका हामी अभिभावकको सदिच्छाका कारण पनि पलायन दर वृद्धि गर्नमा अलिअलि मलजल पुगेको छ ।

परिस्थिति व्यापक ढंगले फेरिएको छ, फेरबदल भइरहेको छ । तर शैक्षणिक विकाससँगको सामाजिक जीवनमा यो फेरबदल आएन । सांस्कृतिक विरासत संगठित भएन बरु यसमा गम्भीर विचलन देखियो । फलतः संगठित शक्ति विन्यास भयो, विविधतासँगको एकताको उन्नयनबाट बनेको समाज व्यक्तिका रुचिकर विषयोपर टुक्रियो र भावनाका कैयौं छालउछालमा वस्तुस्थित छिन्नभिन्न भयो । अब यसलाई एक ठाउँमा ल्याउन र जोड्न ढिला भइसकेको छ । यसको माध्यम शिक्षा शिक्षण नै हो ।

यसबीचमा हामी तपाई अभिभावकजनहरू आफ्ना बालबालिकालाई कहाँ पढाउने ? कहाँ पठाउने ? कस्तो शिक्षाचरणमार्फत विकास गर्ने गराउने ? भन्ने सोंचमा छौँ भने श्री पञ्चायत माविलगायत नगरका कुनै पनि सामुदायिक विद्यालयलाई कमजोर ठान्नुभएन । समुदायको साझा सम्पत्तिको रूपमा रहेका सबै विद्यालयहरू पठनपाठनमा उम्दा छन्, गति र प्रगतिका साथ अग्रसरता लिइरहेका छन् । अर्थात् अब्बल छन् । यद्यपि, यसमा खबरदारी गर्ने काम हाम्रै हो, डटेर खबरदारी गर्नुपर्छ । रोजगारउन्मुख शिक्षा र अंग्रेजीमोहको व्यवस्थापन पनि सामुदायिक विद्यालयहरूले प्रशस्तै मात्रामा गरेका छन् । यो स्थिति निर्माणमा हिजो एकबेला हाम्रा अभिभावकजनको अथाह लगानी छ भने शिक्षा राज्यको अनिवार्य दायित्व हो । संविधान व्यवस्थाअनुसार निःशुल्क शिक्षा सामुदायिक विद्यालयमा उपलब्ध भइरहेको छ । व्यवसायिक आकर्षण त नहोला तर भौतिक पूर्वाधार र विद्यार्थी संख्याको आधारमा गुरुजनको उपलब्धता अपवादबाहेक धेरैमा भएकै देखिन्छ ।

चरा उडेको देखेर समुन्नत परिकल्पनामा उत्रिएका राइट्स दाजुभाइले जहाज बनाए र परीक्षणकै घडीमा सफलतापूर्वक उडाए । चराका अघिपछि दौडिने एउटा पंक्ति कान नछामेर पछिपछि दौडिरहेको पनि छ । अर्थात् अतिरिक्त अंग्रेजीमोहका कारण पूर्वीय जीवन दर्शनमा आधारित नेपालको मौलिक परिचय बोकेको विविधतायुक्त संस्कार, मनमोहक संस्कृति, मानवीय मूल्य निर्देशित सहिष्णुता र आचरण सहितको नैतिक शिक्षा गुमनाम भएको छ । हामी कतिपयलाई अहिले पनि अंग्रेजीमोहले सताएको छ, आफ्नोपन र मनविहिन शिक्षा सिकाइमा ठूलो उर्जाको खर्चसहित समय अलमलिइरहेको छ । भाषा एउटा पक्ष हो तर भाषा नै सबथोक होइन । गौतम बुद्धले अंग्रेजी जानेकै कारण बुद्धत्व प्राप्त गर्नुभएको थिएन । एशियन मुलुकमै अंग्रेजी नपढ्ने र नचाइने चाइनिजले, जापानिजले र कोरियनले दुनियाँमा तहल्का मारिसके, अर्थव्यवस्था कब्जामा लिइसके । हामीलाई भने अंग्रेजी चाहिन्छ । शिक्षा मूलतः आफ्नोपन र मनसँगै ज्ञानआर्जनको पक्ष ठूलो कुरा हो भन्न सकिन्छ ।

कतिपय सहजताका कारण संस्थागत विद्यालयहरू रोजाइमा पर्ने गरेका छन् । यद्यपि, रोजाइ आफ्नो योग्यतम् स्वविवेकको कुरा हो, धर्म–धर्मान्तरमा लुक्न सक्ने यसको मर्मको कुरा हो । तर कुरा के भने दैनन्दिन पढाइ नभएकै कारण, विद्यालयमा योग्य गुरुजन नभएकै कारण, गुणस्तर खस्केकै कारण, प्रविधिमैत्री नभएकै कारण, अंग्रेजी माध्यम नभएकै कारण सामुदायिक विद्यालयको विकल्प अर्को कुनै शिक्षालय खोज्नुपर्ने वाध्यता भने अब कसैलाई कहिँ पनि छैन ।

स्थानीय सरकारको रूपमा पालिका क्रियाशील रहेयता सामुदायिक विद्यालयको अधीनअन्तर्गत मण्टेश्वरी अवधारणामा आधारित कक्षाहरू जस्तो कि नर्सरी, एलकेजी र युकेजी कक्षासमेत सञ्चालन भइआएका छन् । पालिकाले तयार गरेको निःशुल्क स्थानीय पाठ्यपुस्तक, पाठ्यसामग्री र सरकारको विद्यार्थी खाजा कार्यक्रमको उपलब्धताले दक्षजनशक्ति निर्माणमा राज्यको दायित्व मुखर भएको सहजै अनुमान लगाउन सकिन्छ र अध्ययन गर्न पनि सकिन्छ ।

अब सामुदायिक विद्यालयमा समुदाय अटाउन सक्ने वातावरण बन्दै आएको छ, पठनपाठनमैत्री वस्तुस्थिति जुट्दै आएको छ र क्रमशः सबथोक पुग्दै आएको छ । नागरिकको पहुँच स्थानीय आवश्यकताअनुसार वृद्धि–विकास भएको छ । यति भएपछि आफ्ना बालबालिकाहरूलाई अर्काको देखासिकी गर्ने होडमा चर्को शुल्क भुक्तानी सहित विकल्पमा किन जाने ? गम्भीरतापूर्वक सोच्न जरुरी छ । कुनै बेलाको बाध्यकारी अवस्थाको विकल्पमा सामुदायिक विद्यालयतर्फ अभिभावकहरू सगर्व जोडिनु स्वभाविक बन्दै आएको छ ।

सामुदायिक विद्यालयतर्फ आरम्भ गरिएको प्राविधिक शिक्षा र पालिकाले निर्माण गरेको स्थानीय पाठ्यपुस्तकले स्थानीयस्तरमा चाहिने दक्ष जनशक्ति उत्पादन गर्ने विश्वासको ब्याड सामुदायिक विद्यालय मात्र बन्न सक्छ । आर्थिक उत्पादन र निर्भरताको आधारमा नागरिकको सम्पन्नता र विपन्नता जाँच्ने होइन, नागरिकको चेतना विकास र अभाव टार्न भए गरिएको संगठित पहलप्रयत्नका आधारमा यसको मापन गरिनुपर्छ । विकासको यो मापन विधिभित्र छिर्दै समुदायले स्वामित्व लिने संरचनागत पक्षमा हामी सबै उभिनुपर्छ, अनिवार्य हातेमाले गर्दै जोडिनुपर्छ । हामीले हाम्रा बालबालिकालाई अग्रजको श्रममिहिनेत खनिएको स्थानमा र नागरिकमाथि राज्यको निगरानी प्रकट भएको ठाउँमा पढाउनुपर्छ ।

समाजको अडिलो उपस्थिति, प्रतिनिधिमूलक सहभागिता, अमूल्य सहयोग, सद्भाव र स्याहारसंभारकै कारण सामुदायिक विद्यालय बनेका हुन् । यिनै विद्यालयमार्फत प्रसारित शिक्षाले समुन्नत समुदाय बनेको हो । यसको अक्षुण उत्तराधिकारीका रूपमा क्रियाशील तपाई हामी अभिभावकले सामुदायिक विद्यालयलाई होच्याएर होइन, सहभागिता जनाएर गुमेको साख उठाउदै बालबालिकाको मनोकांक्षाअनुरुपको शिक्षा शिक्षणमा ल्याउन जरुरी छ । धन्यवाद ।

Author

You may also like