दमक/ झापाको दमक बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख उत्तमप्रसाद भट्टराईले ‘संस्कृत र सन्थाली भाषाको ध्वनी’ विषयमा विद्यावारिधी उतीर्ण गरेका छन् ।
उनी ‘संस्कृत र सन्थाली भाषाको ध्वनी’ विषयमा विद्यावारिधि गर्ने सम्भवतः नेपालकै पहिलो व्यक्ति हुन् । उनले नेपाल संस्कृत विश्वविद्यालय दाङबाट विद्यावारिधी गरेका हुन् । उनले ०८० मंसिर १६ मा विश्वविद्यालयको अनुसन्धान केन्द्रमा अन्तिम भाइबा बुझाएपछि उनी सो विषयमा उतीर्ण भएको जानकारी आएपनि प्रमाणपत्र लिन भनें बाँकी छ । ‘यो बिषयमा अरुले विद्यावारिधि नगरेको अवस्था बुझें । मेरो यस विषयको नतिजा उतीर्ण भएको जानकारी आयो । अव प्रमाणपत्र आउन चाँही एक डेढ महिनापछि हुन्छ होला ।’– ६३ बर्षीय उनले खुसी प्रकट गर्दै भने ।
०३६ सालमा नेपालमा एसएलसी उतीर्ण गरेपछि भारतको मध्यप्रदेशबाट ०३८ मा आइए, अहमेदाबादबाट ०४१ म बीए र ०४३ मा एमए गरेका थिए । त्यसपछि उनले त्रिभुवन विश्वविद्यालयबाट ०४९ मा बीएड र ०६२ मा एमएड गरेका थिए । ०४४ ÷०४५ मा दमक क्याम्पसमा अध्यापनका लागि प्रवेश गरेका उनी अग्रेजी डिपार्टको प्रमुख, सहायक क्याम्पस प्रमुख हुँदै ०७२ देखि ०७६ सम्म दमक क्याम्पस प्रमुख भएका हुन् । संस्कृत र सन्थाली भाषाको ध्वनीका बारेमा विद्यावारिधि गर्ने उनको सोच ०६४÷०६५ देखि अघि बढ्यो । ०७३ असारमा उनले विद्यावारिधिका लागि नाम दर्ता गराए । ०७३ असारदेखि प्रत्येक ६÷६ महिनामा प्रतिवेदन बुझाउँदै जानुपर्ने तथा गाइड र कोगाइडको हस्ताक्षर गराएर ०७८ असार ११ गते पहिलो पटक पहिलो भाइबा बुझाए । प्रविधि मूल्यांकनमा गइ त्यसका सुझावलाई समेटेर ०७८ चैत २८ गते फेरि बुझाए । २०८० बैशाख ८ गते प्रिभाइबा बुझाए । थप त्यसको सुझाव सहित ०८० भदौ ३१ र त्यसपछि मंसिर १६ मा फाइनल भाइबा बुझाएपछि उनी विद्यावारिधिको लागि यात्रा पुरा गर्ने क्रममा पुगे । ‘मलाई रुचि लागेको बिषय भएकाले तयारी गर्दै विशेषतः सन्थाल भाषा सिक्दै गएँ । धेरै नै गाह्रो भयो । यो क्रम पुरा गर्न १५ बर्ष लाग्यो ।’– उनले भने ‘संस्कृत लोप हुन लागेको र सन्थाली भाषा पनि लोपकै अवस्थामा पुग्दै गएकाले दुवैको संरक्षणमा सघाउ पुर्याउने सोच राखेर यो क्षेत्र रोजें ।’ सन्थाल जाति मुख्यतः झापा र मोरङमा बसोबास गर्ने आदिवासी हो । शोधपत्र तयार पार्ने क्रममा उनले झापाको गौरीगञ्ज २ तुलाचनका साथै हल्दिबारी र मोरङको उर्लाबारी ८ को सन्थाल बस्तीमा पुगेर हरपक्षको अध्ययन गरे ।