गणेश कार्की-
शिक्षक, स्वास्थ्यकर्मी, ई लगायत धेरै आन्दोलनहरुमा फलानाका जायज मागहरु पुरा गर् भन्नेहरु धेरैलाई सोध्ने गर्छु, के के मागहरु जायज र के के नाजायज छन् भन्ने सूचिमा दिनु न । तर त्यो सूचि भेट्दिैन ।
‘जायज माग पुरा गरिदेउ’, ‘लचक बन’, ‘व्यवस्थापन गर’, ‘सहमति गर’ जस्ता अमूर्त र फराकिला कुराहरु गर्न सजिलो छ तर त्यसले दिगो समाधान दिदैन । कम्तिमा नेपालमा दिएन । आन्दोलन वा विरोधलाई सामसुम पार्ने मात्रै हत्कण्डा हुन् ति । माग सहि कि गलत ? कुन जायज र कुन नाजायज ? त्यसले उत्पादन गर्ने नतिजाको दुरगामी प्रभाव के हो ? यस्ता विषयहरुमा बुझ्नै पर्छ । अडान र लचकता त्यसपछिका कुरा हुन् । यति गरे उहि मागमा उहि व्यक्ति वा समूहको पटक पटक आन्दोलन हुन्थेनन् ।
उदाहरण हेर्नुहोस्, नेपालमा औषधिका बारेमा पढेका (फर्मासिस्ट) भन्दा धेरै औषधि पसल छन् भन्ने कुरा आउँछ । धेरैको त लाइसेन्स नै छैन । लाइसेन्स लिएका औषधिपसलहरु पनि धेरैमा त्यो ज्ञान नभएकाहरु छन् । त्यस्तोमा डाक्टरले सुगरको औषधि क्लोरप्रोपामाइड लेखिदिदा झुक्किएर मानसिक रोगको उपचारमा प्रयोग गरिने क्लोरप्रोमाजिन दिने सम्भावना हुन्छ । यहि कारण नेपालमा १०० जना बिरामीमा ३० जनाले औषधिपसलबाट गलत औषधि पाउछन् भनेर केहि अध्ययनले देखाएको छ । यसका बारेमा थप अध्ययन गर्न मन छ भने Look alike Sound alike (LASA) का बारेमा खोजी गर्नुहोला ।
अब, अधिकारप्राप्त निकायले त्यस्ता औषधिपसलहरु बन्द गरिदियो भने तपाई सहि गर्यो भन्नु हुन्छ कि गलत गर्यो भन्नु हुन्छ ? औषधि व्यापारी वा पसलका कर्मचारी नहुनु भएको खण्डमा सहि नै भन्नु हुन्छ होला । तर एक एकल महिला वा अपाङ्गता भएका व्यक्तिले रुँदै भिडियोमा मेरो परिवार त्यहिबाट पालिएको थियो, अब के गर्नु भन्नेमात्रै भिडियो हेर्नु भो भने तपाईको मानवता जाग्ला र सोच्न थाल्नु हुन्छ । तिनै व्यक्तिले त्यो पसल बन्द गर्न आउने अधिकारप्राप्त व्यक्तिलाई सटर तान्नमा रोक्दा अरुले ति व्यक्तिलाई तान्दा हिन्दी फिल्म सोलेमा गब्बर सिंहले मान्छे ताने जस्तै देखियो भने तपाईको भावना उग्ररुपमा ति व्यक्तिको समर्थनमा र सटर बन्द गर्नेहरुको विरोधमा जाला । यो सामान्य मानवीय स्वभाव हो । प्राकृतिक हो ।
त्यस्तै हो फुटपाथको कुरा पनि । फुटपाथ हिड्नका लागि हो । त्यहाँ न सवारी चलाउन पाइन्छ, न व्यापार व्यवसाय गर्न पाइन्छ । गरिबी हटाउने अन्तिम उपाय जस्तो गरि फुटपाथलाई जसरी प्रचार गरिदैछ, फुटपाथमा व्यापार गर्नेहरुलाई महानगरले व्यवस्थापन गरेकै छैन भन्ने जे दोहोर्याइदैछ । त्यहाँ केहि गलत छ ।
महानगरले नेपाल सरकारसँग मिलेर पहिले यस्तै व्यवसायीहरुलाई व्यवस्थापन गरेर भृकुटी मण्डपमा राख्यो तर सडकका फुटपाथ त खाली भएनन् । किनभने अहिले फुटपाथमा व्यापार व्यवसाय गर्नेहरु नेपालका अन्तिम गरीब पनि होइनन् । फुटपाथमा व्यापार व्यवसाय गरेर मुलुकले गरिबी मुक्तिको समाधान पाउँदैन । त्यसका लागि अर्कै समाधान चाहिन्छ । संघीय र प्रदेश सरकारको बढि ध्यान त्यसमा हुनु पर्छ । महानगरले गरीबहरुलाई आफ्नो क्षेत्रमा पढ्नका लागि अस्ति मात्रै १० प्रतिशतको मापदण्ड लागू गरेर करोडौँ शुल्क बराबरको छात्रवृतिको प्रणाली बनायो । अस्पतालमा पनि गरीबहरुका लागि उपचारमा छुटको ताकेता र छलफल गरिरहेको छ । साना साना शिप सिकाइका कार्यक्रम गर्ने भनेर १० करोड भन्दा बढि रकम छुट्याएको छ । तर ति बारेमा खास चर्चा हुदैनन् ।
यसैले सोच्नुहोस्, मेरो यहि स्टाटसमा पनि निर्मम भएर तथ्य खोजेर यो यो चै गलत र यो यो चै सहि हो भन्न सक्नुहोस् । कसैको मागमा कुन जायज र कुन नाजायज हो भन्ने सोच्नुहोस्, सोध्नुहोस् । त्यो माग पुरा भए पछि हुने परिवर्तनले के कस्तो नतिजा ल्याउँछ भन्ने कल्पना गर्नुहोस् ।
अब ‘जायज माग पुरा गरिदेउ’, ‘लचक बन’, ‘व्यवस्थापन गर’, ‘सहमति गर’ जस्ता अमूर्त र फराकिला कुराहरुबाट उम्कौँ ।