ओमप्रकाश गौतम-
जीवनलाई अध्यारोबाट उज्यालोतर्फ डोहोर्याउने हामी कलमजीवी जो चक, डस्टरले श्यामश्वेत पाटीमा आफ्नो जीवन चलाउछ । जीवन कालदेखि दशकसम्म कलमी र मष्तिष्कको आवाज बुलन्द गर्छ, वास्तवमा उ नै एक श्रमजीवी शिक्षक । जीवनलाई दुःखबाट उन्मुक्ति दिनका निम्ति जनजनमा शिक्षाको उज्यालो पर्दा खोल्ने पनि उनै हुन । नेता, प्राध्यापक, डाक्टर, इन्जिनियर, पाइलट, कुशल ब्यापारी बनाउने भनेकै शिक्षक हुन जो आफू जलेर भएपनि अरुलाइ प्रकाश छर्ने गर्छन् । यिनै प्रकाश छर्ने १७ थरीका अस्थायी शिक्षक र कर्मचारीबीच विभेद छ , यतिबेला ।
वास्तवमा स्थायी शिक्षकहरुले अस्थायी शिक्षक तथा कर्मचारीहरुलाई हेर्ने चश्मामा फरक भएको कारण र राज्यले हेर्ने दूर दृष्टिकोण नभएकै कारणले आज शैक्षिक क्षेत्रमा विकराल अवस्था सिर्जना भएको छ । हुन पनि हो शिक्षण पेसा आफैमा एउटा सुखी पेशा भएतापनि राज्यको संयन्त्रले गर्दा यो पेशा यतिबेला दर्दनाक घाउ बनेर आएको छ । शैक्षिक जगतमा ५० बर्ष काटेका तर सामुदायिक विधालयमा २० औं बर्षभन्दा बढी सेवारत अनेक थरीका शिक्षक तथा कर्मचारी अहिले न घरको न घाटको भएका छन । वास्तवमा शैक्षिक आन्दोलनको नेतृत्व सक्षम नभएकै कारणले गर्दा एकरुपता नभएको अनि दलीय सिण्डिकेटका कारण र शैक्षिक जगतमा नेतृत्व नै दलहरुको पिच्छ्लग्गु भएकै हुनाले शिक्षाजगत राजनीतिबाट टाढा हुन सकेन । सबै शिक्षक अध्यापन भन्दापनि शैक्षिक मुद्दालाई मुट्ठीभर राख्ने अनि शिक्षाका माफियाहरुसङ्ग चोचोमोचो मिलाएका कारण हरेक शैक्षिक मुद्दाहरु माफियाहरुको चङ्गुलमा फस्न गयो । २०२८ सालको शैक्षिक विरासत अहिलेसम्म कायमै छ, यहाँ नेतृत्व वर्गले जे जे भनुन् जस्तोसुकै अन्तर्वार्ता दिउन् हिजो र आजको शिक्षामा कुनै परिवर्तननै छैन । देशमा लोकतान्त्रिक गणतन्त्र आयो अब शिक्षा क्षेत्रमा सोचेभन्दा बढी आमूल परिवर्तन हुन्छ भनेर हवला दिएपनि उही पुरानै इतिहास दर्ज भएको छ, कुनै गुन्जायसै छैन । हिजो ठगेर लुटेर खानेहरुकै बिगबिगी छ । राज्यले सबैभन्दा बढी लगानी शिक्षामा गर्छ तर सबैभन्दा बढी यही शिक्षामा भ्रष्टाचार हुन्छ किन ? किनकि शिक्षा क्षेत्रमा हालिमुहाली गर्ने परिचय र प्रवृत्ति बोकेका झोले शिक्षक तिनै जसले बारम्बार शिक्षा क्षेत्रमा लुट मच्चाउछ ्र उसको राजनीतिक अभ्यास भनेकै शैक्षिक नेतृत्व कसरी आफ्नो हातमा पारौ भन्नेनै हो । जतापनि जतासुकै संजालै संजाल बनाएरै उसले शिक्षामा ब्रहमलुट गरेको छ । यो क्षेत्रमा मिलिभगतमा यतिसम्म कर्म हुन्छ कि सिण्डिकेटहरु शिक्षा क्षेत्रलाई ब्यापार गर्छन् अनि निजीकरण पनि गर्छन । यहाँ सरुवा, बढुवा, पदोन्नति, सम्मानित हुनका लागि लबिङ्ग संचालन गरेको पाइन्छ । विधालयमा गएर पढाउदै नपढाउने सिमित दल र तिनका अध्यक्षहरुलाइ आफ्नो मुट्ठीमा लिने अनि काठमाण्डौ केन्द्रित राजनीति गर्ने परिपाटी अहिलेसम्म बिधमान छ । यही विकृति र बेथितिले गर्दा आज शैक्षिक क्षेत्रको अवस्था बिकराल अवस्थामा छ । आज यसैको राप र तापले १७ थरीका शिक्षक कर्मचारीहरु यतिबेला शिक्षकहरुको छाता संगठन नेपाल शिक्षक महासङ्घले असोज ०३ देखि ०५ गते सम्म माइतीघर मण्डलामा सडक आन्दोलन गरे पश्चात् एकाएक आन्दोलन स्थगित भयो । आफ्ना माग सुनिश्चित भएन भनेर राहत, इसिडि, प्राविधिक धार, पेन्सन बञ्चित शिक्षक लगायतका अन्य कर्मचारीहरु गत असोज ०६ देखि अनवरत रूपमा आन्दोलनमा छन । उनीहरूले सरकार र नेपाल शिक्षक महासङ्घबीच गत शुक्रबारै भएको सहमतिमा राहत शिक्षकले असन्तुष्टि जनाएर अहिले आन्दोलनमा छन् । सरकारसङ्ग ६ बुँदे सहमतिपछि महासङ्घले गत शुक्रवार राति नै आन्दोलनको कार्यक्रम अन्त्य गर्दै पठनपाठनका लागि विधालय संचालन गर्ने निणर्य सहित अहिले देशभरका सामुदायिक विद्यालय सुचारु रुपले संचालन भएका छन् भने राहत शिक्षकहरुको अगुवाईमा काठमाण्डौ माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म कहिले सुतेर त कहिले सिटी बजाएर सडक आन्दोलन गरिरहेका छन् । आखिर यो आन्दोलन कसका लागि र किन भइरहेको छ ? अस्ति आन्दोलनको सारथी नेपाल शिक्षक महासङ्घ अहिले घरैमा सुतेर बसिरहदासम्म संघीय संसद अगाडि बसेर आफ्ना जायज माग सम्बोधन गरिरहदासम्म हिजो आन्दोलनको नेतृत्व गर्ने शिक्षक महासङ्घ आज खोइ कता हरायो ? आफ्नो मुद्दालाई सरकारले सम्बोधन गर्ने बित्तिकै कसैलाई जानकारी नदिइकन आधाबाटो बाटै फर्कन राहत शिक्षक लगायत अरुलाइ बिचल्ली बनाएर पनि अहिले देशभरका राहत शिक्षक, इसिडी लगायतका अन्य कर्मचारी यो मितिसम्म फरक प्रकारको आन्दोलनमै छन् । उनीहरूको बेदना बुझ्ने को हो ? हिजो आन्दोलन हुँदाताका टाउको गनेर उठाएको रकम कति पारदर्शी भयो या भएन यो सम्म हेर्ने दिन र अब हुने महासङ्घको चुनावमा को कसरी जुटने र कसलाइ आफ्नो अभिमत अहिले आन्दोलनरत शिक्षक तथा कर्मचारीले माइतीघर मण्डलामा पाएको कष्टबाट अब यो घगडान आन्दोलनबाट आएपछि मौन अवधिमा रहनेछन् भन्ने कुरा अब देखाउनेनै छ । आज राहत शिक्षकका केन्द्रीय समिति अध्यक्ष खेमराज अधिकारीले के सम्म उदघोष गरेका छन् कि हाम्रो माग पूरा नभएसम्म विद्यालय नफर्कने र काठमाण्डौमै आन्दोलन जारी राख्ने । यस्तो चेतावनी दिइरहदासम्म आउने र जाने क्रम जारी छ । हिजो शिक्षक महासङघले राहत, साविक उमावि, अस्थायी करार शिक्षण सिकाइ अनुदान विशेष शिक्षा प्राविधिक धार लगायत अस्थायी रुपमा कार्यरत शिक्षकलाई दरबन्दी कायम गरी शतप्रतिशतलाई आन्तरिक प्रतिस्पर्धाका आधारमा स्थायी हुने सुनिश्चित गर्नुपर्ने माग अघि सारेको थियो भने सरकारसङ्ग भएको सहमतिमा यस्ता शिक्षकमध्ये ७५ प्रतिशतलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्ने उल्लेख समेत छ । तर यो कागजी काममा मात्र सिमित रहयो हिजोका दिनमा उमेर रहदासम्म शिक्षक सेवा आयोग खुलेनन् । उमेरमा प्रतिस्पर्धासम्म गर्न पाएनन, बूढो भए आयोग परीक्षामा परीक्षा दिन पाएनन् । अहिले बर्षैपिच्छे बनेका सरकारहरुले शिक्षामा नयाँ – नयाँ रङ्ग छर्न थाले भने अहिले आएर यो सरकारले गत भदौ २७ गते संसदमा दर्ता गराएको विधेयकमा भने ५० प्रतिशतलाई खुला प्रतिस्पर्धाबाट स्थायी गर्ने ब्यबस्था प्रस्ताव गरेको थियो । विधेयकको ब्यबस्थाअनुसार राहत अनुदान कोटालाई स्वतः दरवन्दीमा रुपान्तरण गर्दा विद्यालयमा ४६ हजार स्थायी शिक्षक दरबन्दी थप हुने भएको छ । योसम्म हुँदा राहत शिक्षक अध्यक्ष खेमराज अधिकारीले के भनेका छन् भने – “ २०७३ सालअघिका शिक्षकलाई शतप्रतिशत र त्यसपछिका लागि ७५ प्रतिशत आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्ने सहमतिका मस्यौदा तयार भएपनि अन्तिम मोडमा तोड्मोडका साथ शिक्षकलाई धम्की दिएर, प्रहरी देखाएर सहमतिमा जबरजस्ती हस्ताक्षर गरियो । यतिसम्म गरियो कि शिक्षकमाथि यति धेरै अपमान कहिल्यै पनि भएको थिएन यसैको विरोधमा अहिले हामी भोक हडतालसम्म गर्ने साहस बटुलेका छौं । हामीलाई हाम्रा माग सम्बोधन हुनेछ भनेर माइतीघर मण्डलामा लावारिस बनाएर घर फर्क अभियानमा गएको शिक्षक महासङ्घ धोकेवाज हो ।’ सरकारले २०५६ सालदेखि शिक्षक दरबन्दी थप गर्न नसक्दा शिक्षक नियुक्ति गर्न राहत कोटा भन्दै नियुक्ति गर्दै आइरहदासम्म अहिले जम्मा ४० हजार राहत शिक्षक कलम, मार्कर, डस्टर र श्यामस्वेत पाटीमा आफ्नो जीवन जिइरहदा उनीहरूलाई राज्यको सम्बन्धित निकायले उनीहरूको जायज माग अहिलेसम्म सम्बोधन नगर्दा कसको मन रुदैन ? हो यसैको आर्तनादमा आज कान्तिपुर नगरीको माइतीघर मण्डला मात्रै होइन सिंहदरवार, बालुवाटार र संघीय संसदसम्म घेर्न अहिले अगुवाइ गरिरहेको राहत शिक्षक नेतृत्व आफ्नो जीवनदान गर्न समेत कोहिकसैसङ्ग झुक्ने छैन यसमा वर्तमान सरकार र सडक आन्दोलनलाई सडकमै बिचल्ली बनाउने नेपाल शिक्षक महासङ्घ आन्दोलित शिक्षक र कर्मचारीहरुको जायज माग सम्बोधन गर्न वार्ताको टेवलमा बसेर ठोस निष्कर्षमा पुग्न जरुरी छ । सबलाइ चेतना भया ्र