देश–समाज मुख्य

मदन प्रतिष्ठानको साधारणसभा सम्पन्न, सहसचिवमा बगाले निर्वाचित

उर्लाबारी, ९ असोज-
उर्लाबारी- ३ स्थित मदन भण्डारी स्मृति प्रतिष्ठान नेपालको २२ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सो अवसरमा प्रतिष्ठानको कार्यसमिति सहसचिव पदको निर्वाचनमा दमकका खोमप्रसाद बगाले निर्वाचित भएका छन् ।
गत वैशाख १८ मा सम्पन्न प्रतिष्ठानको २१ औँ चुनावी साधारणसभामा सहसचिव बाहेकका अन्य सम्पूणर् पदाधिकारीहरु सर्वसम्मत निर्वाचित भएका थिए । सहसचिवमा दमकका बगाले र उर्लाबारीका रुद्र बहादुर तामाङ्गको उम्मेद्वारी पर्दा सर्वसम्मत हुन नसकेपछि निर्वाचन समितिले आगामी साधारण सभामा निर्वाचन गर्ने जनाएको थियो । जम्मा ३ सय ३५ सदर मतमध्ये थापाले १ सय ९५ मत प्राप्त गरे भने तामाङ्गले १ सय ४० मत मात्र प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।


कार्यक्रमका प्रमुख अतिथि पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. यादवराज कोइरालाले कार्यक्रम उद्घाटन् गर्दै प्रतिष्ठानले नेपालमा प्रविधिक शिक्षाको जग हाल्ने काम गरेको बताए । साथै उनले प्रतिष्ठानले गुणस्तरीय शिक्षामार्फत दक्ष जनशक्ति उत्पादन गरी राज्यलाई प्राविधिकमय बनाउन योगदान पुर्याएको चर्चा गरेका छन् । उनले निकट भविष्यमै प्रतिष्ठानलाई थप शैक्षिक कार्यक्रमहरु संचालनको लागि अनुमति दिने बताउँदै संस्था अनुसन्धान केन्द्रको रुपमा अघि बढिरहेकोले थप उन्नयन र सफलताको शुभकामना व्यक्त गरेका छन् ।
सभामा प्रतिष्ठानका सचिव अग्निप्रसाद भट्टराईले सचिवको प्रतिवेदन र नीति तथा कार्यक्रम, कोषाध्यक्ष होमबहादुर थापाले आर्थिक प्रतिवेदन तथा आ.व. २०८०/०८१ को बजेट प्रस्तुत र लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए ।
उक्त अवसरमा प्रतिष्ठानले एक/एक जना उत्कृष्ट उप प्राध्यापक, प्रशिक्षक र उत्कृष्ट कर्मचारी, ५ जना उत्कृष्ट विद्यार्थी र एक/एक जना उत्कृष्ट ऋणी र सफल व्यावसायिक कृषि समूहलाई सम्मान समेत गरेको छ ।
संस्थाको उन्नयनमा पुर्याएको योगदान र कार्य सम्पादन मुल्याङ्कनको आधारमा स्कूल अफ नर्सिङकि प्रिन्सिपल रन्जना डाँगी, मदन भण्डारी कलेज अफ इन्जिनियरिङका उपप्राध्यापक इ. मनिष यादव र मुख्य कार्यालयकी प्रशासन उपसहायक पुष्पा भण्डारी पुरस्कृत भएका छन् ।
यस्तै उत्कृष्ट नतिजा हासिल गर्न सफल विद्यार्थीहरु क्रमशः सिवानी रञ्जितकार, सागर आचार्य, तिला हाङ्मा फ्याक, सरद मगर र सुजित घिसिङ्लाई सम्मान गरिएको थियो ।लक्षित वर्ग शैक्षिक ऋण( उपहार) कार्यक्रमतर्फ उत्कृष्ट ऋणी दिपिका श्रेष्ठ र सफल व्यावसायिक कृषि समूहतर्फ जय श्रीराम एग्रो फर्म रंगेली पुरस्कृत भएका थिए ।
त्यस्तै सो अवसरमा प्रतिष्ठानको भिडियो प्रतिस्पर्धामा प्रथम, द्वितिय र तृतिय भएका विद्यार्थीहरु क्रमशः टेवन कार्की, सृजन पौडेल र समीक्षा सिवाकोटी लगायत अन्य सहभागीहरुलाई समेत पुरस्कृत गरिएको थियो ।
प्रतिष्ठानका कार्यसमिती अध्यक्ष रोमनाथ ओलीको अध्यक्षतामा सम्पन्न उक्त सभामा महिला उपाध्यक्ष सुमित्रा भण्डारीले स्वागत मन्तव्य राखेकी थिइन् भने कार्यक्रम संचालन कार्यसमिति सचिव अग्निप्रसाद भट्टराईले गरेका थिए । सो सभाले विधानका विभिन्न बुँदाहरु परिवर्तन र थप गर्ने निणर्य गरेको छ ।
१ सय ८८ जना आजिवन सदस्य रहेका प्रतिष्ठानमा जम्मा ८ सय १ जना सदस्य रहेका छन् ।

Author

You may also like