मुख्य लेख

बाल दिवसको सन्दर्भ र यसको महत्व

युवराज बास्कोटा यज्ञ-
हिजो बाल दिवस । मूलतः वि. सं. २०२१ सालदेखि नेपालमा मनाउन आरम्भ गरिएको राष्ट्रिय बाल दिवस यसवर्ष २०८० मा आइपुग्दा ५९ औँ बाल दिवसको रूपमा यसलाई मनाइँदै छ । बाल दिवस– बालबालिकाको सर्वांगिण विकास, बाल अधिकारको पक्षपोषण–संरक्षण र यसमा स्वयं बाल सहभागिताको अनिवार्यतालाई माग गर्दछ ।
बालबालिकाको निर्धक्क र निर्भयतापूर्वक बाँच्न पाउने, सामाजिक विकासको प्रक्रियामा स्वयंलाई विकास गर्न पाउने, संरक्षण पाउने, आफ्नो बारेमा गरिने नीति निर्णय र सामाजिक गतिविधिहरूमा सक्रिय र अर्थपूर्ण सहभागिता हुन पाउने र यसक्रममा महत्वसहित आफ्नो विचार व्यक्त गर्न पाउने अधिकारहरूको सम्मिलन हो बाल दिवस ।
नेपालको संविधान २०७२ भाग ३, मौलिक हक र कर्तव्यको धारा ३९ मा बालबालिकाको हकको बारेमा यसरी उल्लेख गरिएको छ । संविधानमा उल्लेख भएअनुसार–
१) प्रत्येक बालबालिकालाई आफ्नो पहिचानसहित नामकरण जन्म दर्ताको हक छ ।
२) प्रत्येक बालबालिकालाई परिवार तथा राज्यबाट स्वास्थ्य शिक्षा पालनपोषण उचित स्याहारसुसार खेलकुद मनोरञ्जन तथा सर्वांगिण व्यक्तित्व विकासको हक छ ।
३) प्रत्येक बालबालिकालाई प्रारम्भिक बाल विकास तथा सहभागिताको हक छ ।
४) कुनै पनि बालबालिकालाई बाल विवाह गैरकानुनी ओसारपसार र अपहरण गर्न वा बन्धक राख्न पाइने छैन ।
५) कुनै पनि बालबालिकालाई सेना प्रहरी वा सशस्त्र समूहमा भर्ना वा प्रयोग गर्न सांस्कृतिक वा धार्मिक प्रचलनका नाममा कुनै पनि माध्यम वा प्रकारले दुर्व्यवहार, उपेक्षा वा शारीरिक, मानसिक यौनजन्य वा अन्य कुनै प्रकारको शोषण गर्न वा अनुचित प्रयोग गर्न पाइने छैन ।
६) शारीरिक, मानसिक वा अन्य कुनै किसिमको यातना दिन पाइने छैन ।
७) बाल अनुकूल न्यायको हक हुनेछ ।
८) जोखिममा रहेका बालबालिकालाई राज्यबाट विशेष संरक्षण तथा सुविधा हुनेछ ।
उपधारा १० – कानुन विपरित बालबालिकालाई कलकारखाना, खानी, अन्य जोखिमपूर्ण काममा लगाउने बालविवाह गैरकानूनी असोरपसार र अपहरण गर्न वा बन्धक राख्न सेना प्रहरी सशस्त्र समूहमा भर्ना वा प्रयोग गर्न सांस्कृतिक धार्मिक प्रचलनका नाममा कुनै पनि दुर्व्यवहार, उपेक्षा, शारीरिक मानसिक यौनजन्य वा कुनै प्रकारका शोषण यातना दिइएको पाइएमा कानूनबमोजिम दण्डनीय, सजाय वा क्षतिपूर्ति हुनेछ ।
तथ्यले भन्छ– बाल दिवसलाई बालबालिकाको आफ्नो दिवसको रूपमा मनाउने अवधारणाको साथ संयुक्त राष्ट्रसङ्घ बालअधिकारसम्बन्धी महासन्धी १९८९ लाई नेपालले १४ सेप्टेम्बर १९९० अर्थात् २९ भदौ २०४७ मा अनुमोदन गरेको दिनलाई बालबालिकाको विशेष दिनको रूपमा आत्मसाथ गरी सोही दिनलाई राष्ट्रिय बाल दिवसको रूपमा मनाउने निर्णय भएअनुसार प्रारम्भमा भदौ ४ गते मनाइने बाल दिवस वि. सं. २०६३ सालदेखि भदौ २९ गते मनाइन्छ ।
यस वर्ष ‘बालबालिकामा लगानी ः सुनिश्चित भविष्यको थालनी’ नाराका साथ राष्ट्रिय बाल दिवस मनाइँदैछ । यद्यपि, वर्ष फेरिएसँगै नारामात्र फेरिने र बालबालिकाको अवस्था भने ज्यूँका त्यूँ रहने अवस्था अन्त्य हुन जरुरी छ । बालअधिकारको हकअधिकारको रूपमा भविष्य निर्माणको सुनिश्चितता, संरक्षण र बालबालिकाको जीवन–वृत्तिको विषय कार्यान्वयनको मुख्य विषय बन्न आवश्यक छ ।
गएका दुइटा वर्षहरू कोभिड १९ र लकडाउनको प्रभावमा रहे । अब यो त्रासको स्थिति अन्त्य भएको छ । बालदिवस कस्तो हुनुपर्छ ? बाल दिवस कसरी मनाउनु पर्दछ ? यसमा रचनात्मकता के हुने ? के गर्दा उनीहरूको सिकाइ प्रक्रिया सहज हुन सक्छ ? कसो गर्दा दैनन्दिन जीवन वृत्ति–विकासको पक्ष आकर्षित र गहकिलो बन्न सक्छ ? भन्ने विषय आमरूपमा चासो बन्न जरुरी छ ।
बालबालिकाका अभिभावकलाई गाँस–बाँस–कपासको समस्या बलशाली रहेजस्तै शतप्रतिशत बालबालिकाको पहुँचमा आधारित गुणस्तर सहितको प्रविधिमैत्री शिक्षा, स्वास्थ्य, सरसफाई, पोषणजस्ता आधारभूत पक्षहरू आज पनि चुनौतिको चाङमुनि छोपिएका छन् । अर्थात् यी पक्षहरू हाम्रा आँखैअघि अजंगको पहाडजस्तो भएर उभिएका छन् ।
सामुदायिक शिक्षा गुणस्तर सुधारको प्रश्नको निरुपण एकातिर गरिनु र यसनिम्ति विकल्प खोजिनु आवश्यक छ भने अर्कोतिर भरखरै संसदमा पेश भएको शिक्षासम्बन्धी विधेयकमार्फत शिक्षालाई व्यवसायिकीकरण गर्ने वर्तमान सरकारको रवैयाप्रति दह्रो र खह्रो भएर यसविरुद्ध उभिनु आजको टड्कारो खाँचो भएको छ ।
समाजको ऐनामा हाम्रा बालबालिका काँचो माटो हुन्, चाहेको आकृतिमा कुँध्न, ढाल्न र सुन्दर सम्पदाको रूपमा तिनलाई विकास गर्न सकिन्छ । मूलतः बालबालिका निर्दोष आँखा हुन्, जसले समाजको भविष्य नियालिरहेको हुन्छ । हाम्रा बालबालिका निर्दोष हाँसो हुन्, जसले सामाजिक उन्मत्त हाँसो हाँसिरहेको हुन्छ । बालबालिका निर्दोष मन हुन्, जहाँको फूलबारीमा कञ्चन मनहरू भमरा झैँ नाचिरहेका हुन्छन् । यीमाथि व्यवसायिकताको भार र मार थोपरिनुहुँदैन । सामाजिक विभेदजन्य अपमान र अन्याय गरिनुहुँदैन ।
बालसुलभ चेतना विकासको दृष्टिकोणले तिनलाई पढ्दा के ? कहाँ ? कसरी ? किन ? जस्ता अनगिन्ती प्रश्नहरू उब्जने उमेर समूह, अज्ञानतामा हुने गल्तीहरू, प्यारो लाग्ने तोते बोली, घरिघरिको बदमासी, अवोध गतिविधि, सानो कुरामा खुसी र दुःखी हुने बाल्यकालीन आनीबानीहरू, कार्टुनमा रमाउने र रमाउँदारमाउँदै असीमित सपनाको सिरानी लगाउने सस्याना र कलिला बालबालिकाको पूर्णतः सुरक्षा र संरक्षणको लागि बाल दिवस मनाउने र यसमार्फत विषयवस्तुको उठान गर्ने गरिन्छ र आफ्नै मौलिकताको कसीमा उभिएर गर्नुपर्छ ।
१८ वर्ष उमेर पूरा नगरेका बालबालिकालाई बाल अधिकार तिनको जन्मसिद्ध वा नैसर्गिक अधिकार हो । यसमा सामाजिक सुरक्षा, शिक्षा दीक्षा, माया, स्नेह, शान्ति, समझदारी, बालमैत्री वातावरण, पोषिलो खानपान आदि बालबालिकाको नैसर्गिक अधिकार हो भनिन्छ ।
बालबालिकाको विकासक्रमलाई हेर्ने हो भने प्रत्येकको आफैंमा एउटा बिशेषता देखिन्छ । उनीहरूमा भएको यो क्षमता पहिचान गरी त्यसलाई उजागर गर्नु र यसमा प्रोत्साहन गर्नुको सट्टा बाटाघाटामा बेस्याहारका अलाबा सवारी साधनमा, होटल तथा रेष्टुरेण्टमा, केही उद्योग धन्दाहरूमा बालबालिकाले सस्तो मूल्यमा श्रम बेच्न तथा दुर्व्यवहार भोग्न र परस्पर लहैलहैमा आएर सहन बाध्य छन् । कतिपय लागू औषध र दुर्व्यसनजन्य कुलतका शिकार भएका छन् । कतिपय बालबालिकाले सडकमै कैयौं दिनरात बिताएका छन् । समृद्ध समाज निर्माणको सूचकका लागि यो किमार्थ राम्रो होइन ।
शिक्षक, अभिभावक र विद्यालय व्यवस्थापन समितिको परस्पर बुझाइले विद्यालय जीवनमा यसको गुणात्मक र मात्रात्मक परिवर्तन सम्भव छ । यससँगै हाम्रा बालबालिकाको भविष्य निर्माण निर्वाद अनिवार्य छ । सामुदायिक विद्यालयमा छोराछोरीलाई पढाउनु हुँदैन । त्यहाँ राम्रो पढाइ नै हुँदैन । यहाँबाट उत्पादित जनशक्ति राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा बिक्नै सक्दैनन् भन्ने अभिभावकको सोचाइ र बुझाइ चिर्न जरुरी छ ।
विद्यालयमा वार्षिक कार्यतालिका, शैक्षणिक योजना, एकाइ योजना बनाइ शिक्षण गर्दा बालबालिकाको समोचित रुचिको पक्षलाई ध्यानमा राख्न जरुरी छ । केवल विषयवस्तुको वर्णन गर्ने, कण्ठस्थ गर्न लगाउने, घोकाउने जस्ता गुरुकुलकालीन विधिबाट आजको बहुप्रतिस्पर्धामा आधारित बजारले चाहेको जस्तो शिक्षण विधि सम्भव नहुने बरु प्रभावित मात्र हुने भएकोले शिक्षकले पनि अवलम्बन गर्दै आउनुभएको तौरतरिकामा परिवर्तन ल्याउन जरुरी छ ।
बजारको पहुँचमा भएका आजका प्रविधिमैत्री बालबालिकालाई पैसाभन्दा धेरै बालमैत्रीय समय दिन जरुरी छ । स्वयंमा आ–आफ्नो जाति, भाषा, धर्म, संस्कृति र संस्कारअनुरुपको संस्कारी, सभ्य, शिष्ट, आचरणयुक्त नागरिक बनाउन उनीहरूलाई स्पाइडरम्यान होइन, सरल र असल बन्न प्रेरित गर्नुपर्ने भएको छ । भनिन्छ– बालापनमा आमाको स्पर्शले माया ममता सिकाउँछ, बाबाको हातको ठेलाले संघर्ष सिकाउँछ । विद्यालयमा गुरुहरूले दिनुभएको गृहकार्यले अनुशासन सिकाउँछ । बेन्चमा सँगसँगै बस्ने साथीको संगत र सहकार्यले मित्रता सिकाउँछ । बाटोमा हिँड्दा लागेका ठेसहरूले अघि बढ्न सिकाउँछ । हामी सरोकारवाला सबैले यसतर्फ मार्ग प्रशस्त गर्नुपर्छ ।
यसनिम्ति आजको यस समयमा बालबालिकालाई सत्य–निष्ठा र आशावादी बन्न हरेक हिसाबले सिकाऔं ! वर्षमा एक दिनमात्र पर्ने बाल दिवसलाई वर्षैभरि अर्थात् सधैँभरि मनाऔँ र व्यवहारमा लागू गरौँ ! उनीहरूको सुन्दर भविष्य निर्माणप्रति गम्भीर हुँदै जिम्मेवार र उत्तरदायी बनौँ ! हाम्रो आशाको दीयो, भविष्यको भरोसा र उनीहरूको उज्ज्वल क्षितिज निर्माण सँगसँगै सम्भव छ । हार्दिक शुभकामना सहित !

Author

You may also like