दमक । आइतबार एकै दिन झापामा भएका १० वटा दुर्घटनाबाट ४ जनाको ज्यान गएको छ भने १२ जना घाइते भएका छन् । ज्यान गुमाउने सबै मोटरसाइकल दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
१० वटा दुर्घटनामध्ये आठवटा मोटरसाइकल दुर्घटना भएका हुन् भने एउटा सिटी सफारी र एउटा ट्याक्टर दुर्घटना भएको हो ।
कमल(४ अमलडाँगीस्थित पूर्वपश्चिम राजमार्गमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । को। २७ प ३५१३ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित हुँदा शिवसताक्षी–८ का ३३ वर्षीय अनिलकुमार लिम्बू र सोही ठाउँ बस्ने २० वर्षीय सोमराज लिम्बूको मृत्यु भएको हो ।
त्यस्तै, मेचीनगर–७ इटाभट्टामा मेचीनगर(६ का २० वर्षीय अभिषेक लिम्बूले चलाएको प्र। ०१–१७ प ७४४ नम्बरको मोटरसाइकलको ठक्करबाट मेचीनगर–७ का ५० वर्षीय डिकेन राजवंशीको मृत्यु भएको छ । दुर्घटनामा मेचीनगर–६ का २१ वर्षीय रमेश श्रेष्ठ र लिम्बू घाइते भएका छन् ।
त्यस्तै, दमक–२ ढुकुरपानीस्थित भित्री सडक खण्डमा प्रदेश १–०२–४१ प १७४७ नम्बरको मोटरसाइकलको ठक्करबाट साइकलयात्री सोही ठाउँ बस्ने ७६ वर्षीय जयराम गुरागाईंको मृत्यु भएको छ ।
त्यस्तै, मेचीनगर–१३ मेची राजमार्गमा चन्द्रगढीबाट चारआलीतर्फ आउँदै गरेको प्रदेश १–०१–००२ ह ४०९८ नम्बरको सिटी सफारी आफैँ अनियन्त्रित हुँदा सिटी सफारीमा चढेका मेचीनगर–१३ का २४ वर्षीय नारदमणि सुवेदी, ४५ वर्षीय बुद्धिराम आचार्य घाइते भएका छन् ।
त्यस्तै, कमल(५ पाडाजुँगीस्थित पूर्वपश्चिम राजमार्गमा केर्खाबाट दमकतर्फ जाँदै गरेको प्रदेश १–०१–०१२ प ७७७७ नम्बरको मोटरसाइकलले पैदलयात्री ७० वर्षीय अकलबहादुर मगरलाई ठक्कर दिँदा घाइते भएका छन् ।
त्यस्तै, शिवसताक्षी–१ धरमपुरचोकमा प्रदेश १–०१–०१४ प ४५०८ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित हुँदा मोटरसाइकल चालक पाँचथर रानीटारका २८ वर्षीय सरोज राई र २८ वर्षीय युवराज राई घाइते भएका छन् ।
त्यस्तै, गौरीगञ्ज–५ मलाहटोलमा को। १ त ६०९३ नम्बरको ट्याक्टर आफैँ अनियन्त्रित हुँदा चालक गौरीगञ्ज–६ बस्ने १९ वर्षीय फुलचन महतो र ट्याक्टरमा रहेका सोही ठाउँ बस्ने ३५ वर्षीय हरि मिस्त्री घाइते भएका छन् ।
त्यस्तै, दमक–९ भाटभटेनीअगाडि को. ३० प ९०२९ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्री कमल–५ का ८५ वर्षीय हेमसागर खतिवडा गम्भीर घाइते भएका छन् ।
त्यस्तै, पाडाजुँगी–गौरीगञ्ज सडकको गौरादह–२ मा अल्फावेट नखुलेको ९५५३ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा गौरादह–२ बस्ने ४५ वर्षीया मंगली मुर्मू घाइते भएकी छन् ।
त्यस्तै, शिवसताक्षी–८ झिलझिलेमा मे. ११ प ८७९ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित हुँदा मोटरसाइकल चालक बिर्तामोड ६ बस्ने ३० वर्षीय सविन राई घाइते भएका छन् ।