दमक । यातायात व्यवस्था कार्यालय इटहरीको कार्यालय परिसरमा बुधबार प्रहरीले छापा मारेर बिचौलियाहरुलाई पक्राउ गरेको छ । कार्यालय बाहिरबाट बिचौलियाले अत्यधिक दुःख दिने गरेको गुनासो आएपछि सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीसहितको टोलीले यातायात कार्यालयमा अनुगमन गरेको थियो ।
सेवा लिन आउने ग्राहकसँग अतिरिक्त पैसा असुल्ने र कार्यालयका महत्वपूर्ण कागजात लेखापढी सेन्टरको सटरमा पु¥याएर मिलेमतो गर्ने १७ जना बिचौलियालाई पक्राउ गरेको सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी बेदराज फुयाँलले जानकारी दिए ।
पक्राउ पर्नेमा यातायात कार्यालय बाहिर फोटोकपी लगायतका पसल थापेर बस्ने बिचौलियाहरू रहेको इटहरी प्रहरीले जनाएको छ । उनीहरुमध्ये कतिपय आफूलाई डाक्टर भन्दै चिनाउने पनि रहेको प्रशासनले जनाएको छ । उनीहरुमाथि थप अनुसन्धान सुरु गरेको इटहरी प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा नक्कली डाक्टर, बिचौलिया र लेखापढी गर्नेहरू रहेको खुलेको छ। यातायात कार्यालय इटहरीमा बिचौलियाको बिगबिगी हुँदा सर्वसाधारणले सहज सेवा पाउन नसकिरहेको गुनासो बढेको प्रशासनले जनाएको छ ।
नियन्त्रणमा लिएका १७ जनालाई इलाका प्रहरी कार्यालयमा राखेर प्रहरीले कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइएको इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी टेकबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार जिल्ला प्रहरी कार्यालय सुनसरी र इटहरी इलाका प्रहरी कार्यालय इटहरीको टोलीले पक्राउ गरेको हो ।
इटहरी यातायात कार्यालयमा विचौलियाका आधारमा काम गरेर सेवाग्राही दुःख दिएको धेरै भईसकेको छ । यहाँ वर्ष, २ वर्षमा अनुगमन गर्ने र कर्मचारी तथा विचौलियालाई खेल्न दिने गरेकै कारण यहाँको समस्याका ज्यूँका त्युँ रहेको इटहरीका एक सेवाग्राही बताउँछन् । उनका अनुसार २०७४ सालमा इटहरीस्थित यातायात कार्यालयमा रहेर अनियमिततामा मुछिएका नायव सुब्बा सुरेश अधिकारीसहित ८ जनाविरुद्ध विशेष अदालतमा झण्डै ६२ करोड बराबरको अनियमितता गरेको ठहर गर्दै मुद्दा दायर भएको थियो । यातायात कार्यालयबाट उठेको राजस्व अनियमितता गरेको आरोपमा अख्तियारले ८ कर्मचारी विरुद्ध मुद्दा तयार गरेको हो । ‘सेवाग्रहीसँग उठाएको राजस्व नै सरकारी खातामा नराखेको पाइयो’ अख्तियार स्रोतले भन्यो,’यातायात कार्यालयमा हुने अनियमतितालाई यो मुद्दाले प्रतिबिम्बित गर्छ ।’ यति हुँदा नि त्यहाँका कर्मचारीहरु संवेदनशिल नभई कमाउ धन्दैमा लागेर विचौलिया प्रयोग गरिरहेका थिए । अहिले पक्राउ परेका १७ जनालाई फितलो कारवाही भएमा पुनः उनीहरुको दबदबा कायमै रहने उनको भनाई छ । हरेक ठाउँमा पैसा खाने डाक्टरले पैसा पाएनन् भने राम्रोलाई फेल गराइदिने र पैसा दिएका खराबै भए पनि पास गराईदिने गरेको उनले खुलाए । विचौलियाले दिएको बयानका आधारमा कर्मचारीलाई पनि कारवाही हुनुपर्ने उनको भनाई छ ।