मुख्य

देशका पालिका प्रतिनिधिहरूकाे उत्तम अभ्यासबारे अनुभव साटासाट

दमक, २९ मंसिर ।

नयाँ संविधान जारी भएर संघीयता कार्यान्वयनको क्रममा रहेका स्थानीय तहका सरकारहरु आफ्नो क्षेत्रभित्र गरिरहेका असल, सफल, प्रभावकारी र उत्तम अभ्यासहरु एकआपसमा सिक्ने र सिकाउने काममा जुटेका छन् । सात वटै प्रदेशका सात नगरपालिका र झापाका १५ पालिकाका प्रमुख/अध्यक्ष, उप-प्रमुख/उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत साथै उच्च पदस्थ कर्मचारीहरु दमकमा भेला भएर राउण्ड टेवल डिस्कसनको माध्यमबाट अनुभव आदान प्रदान गरिरहेका छन् । दमक नगरपालिकाको संयोजन तथा द एशिया फाउण्डेशनले अष्ट्रेलियन सरकारको सहयोगमा विगत ६ वर्षदेखि शुरु गरेको स्थानीय सरकार सबलीकरण कार्यक्रम अन्तर्गत बिहीबारदेखि दमकको नेपालीरिका होटलमा यस्तो अनुभव कार्यक्रमको आदान प्रदान भइरहेको छ ।
कार्यक्रममा पालिकाहरुले प्राप्त उपलब्धि र राम्रा अभ्यासहरुका बारेमा एक अर्कालाई जानकारी गराउनुका साथै त्यस क्रममा बनाइएका योजना, कार्यक्रम, कार्यान्वयनमा देखापरेका चुनौती र पाएको सफलताका सूत्रहरुका बारेमा ज्ञान र अनुभव साटासाट गर्ने दमक नगरपालिका नगर प्रमुख राम कुमार थापाले जानकारी गराएका छन् । पहिलो दिन बिहीबार सो कार्यक्रमको उद्घाटनका क्रममा प्रमुख अतिथि नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटी भोल्कले उत्तम अभ्यास आदान प्रदानको कार्यले नगरपालिकाहरुलाई आगामी दिनमा सफल र प्रभावकारी कार्यहरुको अनुशरण गर्न, त्यस क्रममा देखापरेका चुनौतीहरुको सामना गर्न र संघीयताको कार्यान्वयनलाई अझ सृदृढ र जनताको हितमा काम गर्नमा महत्वपूणर् सघाउ पुग्न सक्ने आशा एवं विश्वास व्यक्ति गरिन् । उनले दिगो विकास, समावेशी लोकतन्त्र र समृद्ध समाजका लागि जनप्रनिधिहरुको क्षमता विकास र पालिकाहरुको सबलीकरणमा आफूहरुको सहयोग कामयावी बनाउन सबैको सहयोग र सहकार्य सान्दर्भिक रहेको र अहिलेसम्म त्यसमा समर्थन र साथ मिलिरहेको प्रष्ट पारिन् । आज शुक्रबारसम्म चल्ने सो कार्यक्रममा विशिष्ट अतिथि द एशिया फाउण्डेशनका राष्ट्रिय निर्देशक मेघन नाल्बोले नेपाल र नेपाली जनताको हित र कल्याणको कार्यमा स्थानीय सरकारहरुलाई सशक्त र सबल बनाउन आफूहरु लागिपरेको बताइन् । सो कार्यमा मिल्ने सफलता र उपलब्धिले आफूहरुलाई हौसला मिल्ने साथै त्यसका लागि स्थानीय तहका नेतृत्वकर्ता र नेपाल सरकारलाई धन्यवाद दिनुपर्ने उनको भनाई थियो  ।
पहिलो दिनको कार्यक्रममा उत्तम अभ्यासहरुको अनुभव आदान प्रदान गर्नुका साथै शुक्रबार दमक नगरपालिकाका महत्वपूणर् योजनाहरु र कार्यक्रमहरुका बारेमा सहभागी पालिकाका जनप्रतिनिधि र अधिकारीहरुलाई स्थलगत अवलोकन भ्रमण गराइने कार्यक्रम रहेको द एशिया फाउण्डेशनका कोशी प्रदेश संयोजक श्याम सापकोटाले जानकारी गराए ।
कार्यक्रममा नेपाल नगरपालिका संघका केन्द्रीय अध्यक्ष भिम ढुंगानाले
अहिलेका अवस्थामा स्थानीय तहका सरकारहरुलाई क्षमता विकास गर्ने र भ्रष्टाचाररहित समाजको निर्माण गरिरहेका छौं भन्ने सन्देश दिन अत्यावश्यक रहेको धारणा राखे । संघ, प्रदेश र स्थानीय तहका सरकारहरुलाई एकल र साझा अधिकार रहेको साथै तिनको विभाजन भएको अवस्थामा एकअर्काका अधिकारहरुलाई हस्तक्षेप नगरी अघि बढ्नु र विभिन्न समयमा देखापर्ने विवादहरुको सही ढंगले निरुपण गर्नुपर्छ भन्ने उनको भनाई थियो । संविधान कार्यान्वयन गर्न र संघीयतालाई मजबूत बनाउने कार्यमा अष्ट्रेलिया सरकारको सहयोगले प्रभावकारी भूमिका खेलिरहेकाले त्यसका लागि धन्यवाद दिनुपर्ने उनले बताए । गाउँपालिका राष्ट्रिय महासंघका केन्द्रीय उपाध्यक्ष लक्ष्मण बहादुर शाहीले देशभरिका गाउँपालिका र नगरपालिकाहरुमा क्षमता विकास, असल शासन, कानून निर्माण, न्यायिक क्षेत्रका समस्याहरुको निरुपण लगायतको विषयमा स्थानीय सरकार सबलीकरण कार्यक्रम मार्फत् भइरहेको गतिविधि र सहयोग फलदायी भइरहेको बताए ।
जुम्ला जस्तो विकट हिमाली क्षेत्रका पालिकाहरुमा समेत यो कार्यक्रमको कार्यान्वयनले महत्वपूणर् प्रभाव पारिरहेको उनको भनाई थियो । कोशी प्रदेश सभाका सांसद होम बहादुर थापाले संघ, प्रदेश र स्थानीय तहका सरकारहरुको अधिकार क्षेत्र नबाझिने गरी कानून बनाउने काममा पनि थप कार्य भइरहेको बताए । कार्यक्रमको अध्यक्षता गरेका दमक नगरपालिका प्रमुख राम कुमार थापाले स्थानीय तहका सरकारले सर्वसाधारणका गुनासा र आवश्यकतालाई ध्यानपूर्वक सुनेर निष्पक्ष भइ काम गर्नु हरेक जनप्रतिनिधिको कर्म, धर्म र दायित्व भएको कुरा राखे । दमक नगर प्रमुख थापाले दमकमा देशभरिका पालिका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृत लगायत उच्चपदस्थ अधिकारीहरुबिच अनुभव आदान प्रदान गर्ने कार्यक्रम राखिनु आफूहरुका लागि गर्वको कुरा भएको भन्दै त्यसका लागि आर्थिक सहयोग गर्ने अष्ट्रेलियन सरकारलाई धन्यवाद दिए । कार्यक्रममा दमक नगरपालिका उप-प्रमुख रेगिना भट्टराई प्रसाईले स्वागत र प्रमुख प्रशासकीय अधिकृत गणेशराज कार्कीले कार्यक्रम संचालन गरेका थिए । कार्यक्रमको शुरुमा अष्ट्रेलियाकी राजदूत भोल्क लगायतका पाहुनाहरुलाई पञ्चै बाजा र दमकका प्रथम नागरिक धिमाल जातिको नृत्यले स्वागत गरिएको थियो ।

Author

You may also like