मुख्य विचार/वहस

हाम्रो नेपाल र हामी नेपाली

सुदिपराज पन्त-
यस्तो सुन्दर देश छ नेपाल । यति शान्त ,स्वच्छ र शितलता प्रदान गर्ने देश र त्यहाँको नेपालीहरु हेर्दा नै शरीरमा सकारात्मक उर्जा भरिन्छ । बुद्धको जन्मभूमी भएको कारण नै होला गिनेचुनेको फुटकर मान्छेहरु बाहेक धेरै जनताहरुमा उत्कर्ष प्रेम, करुणा र दया मायाको अपार भण्डार देख्न सकिन्छ ।
विश्वका विकसित र सर्बसम्पन्न देशमा निर्धक्क हिड्न डर लाग्छ । कतिखेर लुट्ने हो, कतिखेर बन्दुक हान्ने हो या चक्कुले घोप्ने हो थाहा हुन्न । हरेक दिन यस्ता दुर्घटनामा परेर मान्छे मरिरहेका हुन्छन् । कतिपय देशहरुमा बम न पड्केको दिन नै हुँदैन । बम र बारुदकोबीचमा बसेर जीवन संघर्ष गर्नेहरु धेरै छन् ।
नेपालमा एउटा मान्छेको हत्या भयो भने अहिले पनि देश हल्लिन्छ, ठूलो समाचार बन्छ । नेपाल यति शान्त छ कि यहाँ अझै पनि नेपालीहरुले मार्नु, हत्या गर्नुलाई ठूलो पाप सम्झन्छन् । लुट्नु, ठग्नु पनि अरु देशहरुको जति धेरै छैन । लम्पट नेताहरुले पुलिस प्रशासन र कानूनलाई कमजोर पारे पनि धेरै जनताहरुले अझै पनि कानून, पुलिस प्रशासन प्रति उत्तिकै विश्वास गर्छन्न् । पदीय ब्यक्तिले पाएको शक्तिको प्रयोग जनताहरुको सुविधाको लागि नभएर आफ्नो लागि हो भन्ने सम्झन्छन् । कमजोरी यहीँ छ ।
बाटो घाटो धेरै बनिसक्यो । धेरैको घरहरु परिमार्जित भएका छन् । ब्यापार ब्यबसायहरु नयाँ, उन्नत ढंगले गरिदैछ । बैंकिङ, स्वास्थ्य र शिक्षामा प्रगति नै भएको छ । विद्युतिकरणले देशलाई नयाँ दिशातर्फ लैजादैछ । विदेशबाट भित्रिएको रेमिट्यान्सले देशलाई मजबुत बनाउँदैछ ।
हेर्नुहोस त, हाम्रो नेपाल कति राम्रो छ ,त्यहाँका जनताहरु कति प्रेममय छन् । यति धेरै भावनाबाट अनि अन्तर्मनबाट सन्चालित हुने नेपाली जस्ता मान्छेहरु अन्य ठाउँमा बिरलै होलान् ।
नेपाल अझै पनि बिग्रिसकेको छैन । यि लम्पट नेताहरुको छाँयाबाट सरकारलाई टाढा राख्ने, विधिको शासन चलाऊने भ्रष्टहरुलाई हदसम्मको सजाय तुरुन्त दिने खालको एक दर्जन साहसी नेपाली लिडरहरुको खाँचो छ । जुन दिन यस्ता साहसी नेपालीहरु उदाएर फ्रन्ट लाइनमा आउँछन् त्यो दिनदेखि नेपाल र नेपालीहरुले पछाडि फर्कनुपर्ने छैन । फेरि भन्छु देश त्यति निक्रिष्ट ढंगले बिग्रिएको छैन । यि लम्पट नेताहरुले हामीलाई देश फिर्ता बोलाउनु पर्दैन । यिनीहरु बिस्तापित भएसंगै असंख्य बिदेशी नेपालीहरु देश बनाउन फर्कने छन् । पक्का फर्कने छन् । नेपाल देश र नेपाली हुनुको स्वाद संसारको कुनै देशले दिन सक्दैन । नेपाल र नेपाली सर्वसाधारणहरु साँच्चै महान छन् ।
( दमकका समाजसेवी पन्त हाल अमेरिकामा कार्यरत छन् )

Author

You may also like