विमल लामिछाने
तिहार भन्ने वित्तिकै नेपालीहरुको मानसपटलमा लक्ष्मी पूजाको रिल घुम्न थाल्छ । कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन महाकवि लक्ष्मीप्रसाद देवकोटा जयन्तीको रूपमा मनाइदै आएको छ । नेपाली साहित्यमा ‘महाकवि’उपाधिले सम्मानित देवकोटा बहुप्रतिभाशाली व्यक्तित्व थिए जसले कविता, निबन्ध, नाटक, गद्य, पद्य, अनुवाद, बाल साहित्यलगायतका विधामा आफ्नो गहिरो प्रभाव छाडेका छन् । उनको योगदान मात्र साहित्यमा सीमित थिएन, सामाजिक चेतना, मानवतावाद र राष्ट्रिय चेतनाका धारहरू समेत उनका रचनाहरूमा स्पष्ट देखिन्छन् ।
बाल्यकालदेखि नै विलक्षण प्रतिभाका धनी देवकोटा वि.सं. १९६६ सालमा काठमाडौँको डिल्लीबजारमा जन्मिएका हुन् । लक्ष्मीपूजाकै दिन जन्मिएकाले उनको नाम ‘लक्ष्मीप्रसाद’ राखिएको भनिन्छ । अंग्रेजी साहित्यमा अध्ययन पूरा गरेका देवकोटाले नेपाली, संस्कृत र अंग्रेजी तीनै भाषामा गहिरो पकड जमाएका थिए ।
देवकोटाको साहित्यिक यात्रा
उनका रचनाहरूले नेपाली साहित्यलाई नयाँ दिशा दिएका छन् । मुनामदन जस्तो जनप्रिय काव्यकृतिले प्रेम, पीडा र त्यागको भावलाई सरल भाषामा जनमानससम्म पु¥यायो । पागल कवितामा उनले आफ्नो मानसिक अवस्थामार्फत समाज र अस्तित्वप्रतिको दृष्टिकोण प्रस्तुत गरेका छन् । यस्तै सुलोचना, शाकुन्तल, सती जस्ता महाकाव्यहरू पौराणिक कथामा आधारित भए पनि आधुनिक सोच झल्कने गरी लेखिएका छन् ।
नाटक, निबन्ध र बाल साहित्यमा पनि उनको कलम उत्तिकै प्रभावशाली छ । अग्नि कोष, मृत्युपर्यन्त जस्ता नाटकहरूले न्याय, नैतिकता र समाजको अन्तद्र्वन्द्वलाई उजागर गर्छन् । निबन्धहरूमा मानवता, शिक्षा, राष्ट्र प्रेम जस्ता विषयवस्तु उठाउँदै देवकोटाले गहिरो सन्देश दिएका छन् । बालबालिकाका लागि लेखिएका भक्त बहादुर र मेरो कुकुर जस्ता रचनाले सरल भाषामा जीवनोपयोगी पाठ सिकाउँछ ।
आज यस लेखनीमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको अन्तिम कविता स्मरण गर्नु सान्दभिक हुन्छ जस्तो लाग्छ । प्रस्तुत छ, देवकोटाको अन्तिम कविता मृत्यु शैयाबाट साभार गरिएको यो कविता हेरौं ।
संसार रूपी सुख स्वर्गभित्र
रमेँ रमाएँ लिई भित्र चित्र
सारा भयो त्यो मरुभूमि तुल्य
रातै परे झैँ अब बुझ्छु बल्ल ।
रहेछ संसार निशा समान
आएन ज्यूँदै रहँदा नि ज्ञान
आखिर श्रीकृष्ण रहेछ एक
न भक्ति भो, ज्ञान न भो विवेक ।
महामरूमा कणझैँ म तातो
जलेर मर्दो विनु आश लाटो
सुकी रहेको तरुझैँ छु खाली
चिताग्नि तापी जल डाल्न फाकी ।
संस्कार आफ्नो सब नै गुमाएँ
म शून्यमा शून्यसरी विलाएँ
जन्मेँ म यो स्वर्गविषे पलाएँ
आखिर भै खाक त्यसै विलाएँ ।
अस्पतालको शैयाबाट लेखेको यो देवकोटाको जीवनको अन्तिम कविता थियो । देवकोटाको काव्यशैलीमा भावनाको गहिराइ, दर्शनको उच्चता र भाषाको मधुरता एकसाथ मिसिएको पाइन्छ । उनले साधारण जनताको पीडा र संवेदना कवितामा उतारेर साहित्यलाई जीवनसँग जोडिदिए । मुनामदन उनको सर्वाधिक चर्चित कृति हो, जसले नेपाली समाजको आत्मा बोल्छ । देवकोटाले नेपाली साहित्यलाई केवल सुन्दर शब्दको संसार मात्र बनाएनन्, उनले साहित्यलाई जीवन र मानवीय संवेदनाको सजीव रुप दिए । मुनामदनमार्फत उनले जनताको दुःख, श्रम र प्रेमलाई यति गहिरो भावनामा प्रस्तुत गरे कि त्यो आज पनि नेपाली मनमा अजर अमर बनेर बाँचिरहेको छ ।
देवकोटाको कलम कविता, नाटक, निबन्ध, कथा, अनुवाद आदि सबै क्षेत्रमा उस्तै सशक्त थियो। शेक्सपियर र मिल्टन जस्ता पश्चिमी साहित्यकारहरूका कृतिहरूलाई नेपालीमा रूपान्तरण गर्दै उनले नेपाली भाषालाई अन्तर्राष्ट्रिय स्तरमा प्रस्तुत गरे। देवकोटाको लेखनीमा मानवता, करुणा र सौन्दर्यप्रेमको गहिरो चेतना झल्किन्छ । उनको कविता केवल शब्द(जाल मात्र होइनन्, मनुष्यत्वको उद्गार पनि हो । देवकोटाको योगदान केवल साहित्यमा सीमित छैन, उनी शिक्षाको क्षेत्रमा पनि अग्रणी चिन्तक थिए । उनले नेपाली शिक्षामा सिर्जनशीलता र आलोचनात्मक सोचको आवश्यकता औंल्याए। उनको जीवन र रचना आज पनि प्रेरणाको स्रोत बनेको छ ।
उनका लेखनमा गरिबी, असमानता, जातीय भेदभावजस्ता सामाजिक समस्यामाथि गहिरो टिप्पणी पाइन्छ । मानवताको पक्षमा उभिएको उनको लेखन जनताको लागि लेखिएको लेख हो । जटिल विषयवस्तुलाई सरल भाषामा प्रस्तुत गर्ने उनको कला अद्वितीय थियो भन्न सकिन्छ । नेपाली साहित्यलाई आधुनिक दिशा दिनमा देवकोटाको योगदान महत्वपूर्ण छ । उनले परम्परागत ढाँचालाई तोडेर व्यक्तिगत अनुभव, वैज्ञानिक सोच र सामाजिक विवेकलाई साहित्यमा समेट्ने काम गरेका छन् । हरेक रचनामा भाषा, विषय र शैलीमा नवीन प्रयोग देखिन्छ ।
नेपाली साहित्यिक आकाशमा अमर ज्योति बनेर उदाएका महाकवि लक्ष्मीप्रसाद देवकोटाको नाम सुन्नासाथ सिङ्गो नेपाली समाज अद्वितीय गौरवको अनुभूति गर्दछ । उनी विचारक, शिक्षाशास्त्री, अनुवादक, रचनात्मक लेखक र मानवतावादी चिन्तक पनि थिए । उनी विचारका उज्याला दीप, भावनाका नदी र मानवीय चेतनाका उच्च शिखर थिए । वि.सं. २०१६ भाद्र २९, तदनुसार १४ सेप्टेम्बर सन् १९५९ मा महाकवि देवकोटाको निधन भयो । उनको लेखनीले नेपाली भाषालाई नयाँ उचाइमा पु¥यायो र साहित्यलाई जनमानससँग जोड्ने सम्बन्ध सेतुको आधार बनायो । आजपनि हामी उनलाई सम्झिरहेका छौं ।