दमक/ झापाको दमक नगरपालिकाको नयाँ नेतृत्वले निर्वाचनताका दिएको वचनअनुसार सुकुम्बासीहरुलाई धनीपुर्जा दिन निस्सा वितरण गरिरहेको छ । नगर प्रमुख राम कुमार थापाको नगर नेतृत्वले राष्ट्रिय भूमि आयोगको सम्पर्क कार्यालय नगरपालिका भित्रै खोली सुकुम्बासीहरुलाई जग्गा दिने कामका लागि आवश्यक कार्यलाई द्रुत गति दिएको हो । सो अनुसार गत साउन १ गते दमक नगरपालिका वडा नम्वर १० का ५ सय बढी भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई धनीपुर्जाका लागि निस्सा वितरण गरेको थियो ।
यसैक्रममा बिहीबार दमक नगरपालिका वडा नम्बर १ का भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुलाई धनीपुर्जाको निस्सा वितरण गरिएको छ । स्थानीय नवदुर्गा मन्दिरमा बिहीबार एक कार्यक्रमको आयोजना गरी दमक नगर प्रमुख राम कुमार थापा र उप–प्रमुख रेगिना भट्टराईले वडा भित्र रहेका भूमिहीनहरुलाई जग्गाको निस्सा वितरण गरेका हुन् ।
दमक वडा नम्बर १ का वडा अध्यक्ष हरिप्रसाद न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा भूमिहीनहरुलाई निस्सा वितरण गर्दै नगर प्रमुख थापाले आफूहरु निर्वाचित भएर आएदेखिनै पहिलो प्रथमिकतामा राखेर भूमिहीनलाई धनीपुर्जा उपलब्ध गराउने काममा लागेको बताए । निर्वाचन ताका गरेको वाचा अनुसार द्रुत गतिमा काम गर्दा अहिले निस्सा वितरण गरिएको र अब केहिदिनमै धनीपुर्जा समेत उपलब्ध गराइने उनले प्रष्ट पारे । अघिल्ला जनप्रतिनिधिले यसमा कुनै काम नगरेकाले केहि समय लागेको भन्दै नगर प्रमुख थापाले अब द्रुत गतिमा काम हुने बताए । त्यसैगरी नगर उप–प्रमुख भट्टराईले भूमिहीनको समस्यालाई सदाका लागि अन्त्य गरी समृद्ध नगर निर्माणमा आफूहरु लागि परेको पनि बताए । प्राविधिक कामले केहि ढिलाई भएपनि आगामी संघ र प्रदेशको निर्वाचन अघिनै धनीपुर्जा उपलब्ध गराउने गरी आपूmहरुले काम गरिरहेको उनले बताए । कार्यक्रममा राष्ट्रिय भूमि आयोग झापा जिल्ला अध्यक्ष तिलकसिंह पाण्डेले प्राप्त निवेदनका आधारमा आयोगले छानविन गरेर चाँडै धनीपुर्जा वितरण कार्यमा लाग्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा राजनीतिक दलहरुका तर्पmबाट नेपाली काँग्रेसका दमक नगर सभापति प्रकाश प्रसाईंले आयोगको काम अघि बढाउन राजनीतिक दलहरुका तफबाट सक्दो सहयोग गर्ने बताए ।
दमकबाट भूमिहिन समस्या सदाका लागि अन्त्य गर्ने गरी नगरपालिकालाई काम गर्न सुझाव दिए । वडा भित्र हाल सम्म दर्ता रहेका ८४७ भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुलाई धनीपुर्जाको निस्सा वितरण गरिएको वडाअध्यक्ष न्यौपानेले जानकारी गराए । यसअघि दमक–१० मा पनि भूमि आयोगले सुकुम्बासीहरुलाई जग्गाको निस्सा बाँडेको थियो ।