अर्थ कला/साहित्य/संस्कृति देश–समाज समाचार स्थानीय

कोजाग्रत पूर्णिमासँगै १५ दिन लामो बडादसैं समापन हुँदै

दमक । महालक्ष्मीको पूजा आराधना र रात्रि जाग्रामसँगै नेपालीहरूको महान् पर्व बडादसैं आज समापन हुँदैछ। आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमामा साँझ महालक्ष्मीको विशेष पूजा गरी रातभर जाग्राम बस्ने धार्मिक परम्परा छ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज शास्त्रानुसार गरिने अखिल बलिपूर्तिको कार्यसमेत सम्पन्न हुनेछ। यससँगै विजयादशमीदेखि सुरु भएको मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने १५ दिन लामो क्रम पनि समाप्त हुनेछ।

धार्मिक विश्वासअनुसार कोजाग्रत पूर्णिमाको रात महालक्ष्मीले पृथ्वी भ्रमण गरी जाग्राम बसेका भक्तजनका घरमा प्रवेश गरेर धन तथा ऐश्वर्य प्रदान गर्छिन्। यस दिन महालक्ष्मीसँगै ऐरावत हात्तीमा सवार इन्द्रको पनि पूजा गर्ने चलन छ।

आज बिहान दसैंघरमा रहेका फूलप्रसाद र जमराका अवशेष नदी, तलाउ वा पोखरीजस्ता पवित्र जलाशयमा विसर्जन गरिन्छ।

लक्ष्मीपूजाको १५ दिनपछि महालक्ष्मीको आराधना गरिने भएकाले कोजाग्रत पूर्णिमालाई धार्मिक दृष्टिले विशेष महत्त्वका साथ लिइन्छ।

बडादसैंको बिदा र तिहारको आगमनको संकेतका रूपमा समेत लिइने यस पर्वपछि भोलिदेखि कात्तिक स्नान, तुलसीको विशेष पूजा आराधना र आकाशदीप दान सुरु हुने धार्मिक परम्परा छ।

कात्तिक स्नान व्रत बस्नेहरूले आश्विन शुक्ल पूर्णिमादेखि कात्तिक शुक्ल पूर्णिमासम्म मास, मुगी, मुसुरो, चना र भटमासजस्ता दुई दल भएका अन्न सेवन नगर्ने शास्त्रीय मान्यता रहेको छ।

Author

You may also like