देश–समाज राष्ट्रिय समाचार स्थानीय

चैत्र १५ को घटनालाई लिएर निरन्तर पक्राउ

दमक/ तीनकुनेमा चैत्र १५ गते राजापक्षबाट भएको प्रदर्शनका क्रममा घटेको घटनालाई लिएर पक्राउ गर्ने क्रम निरन्तर कायम छ । उक्त प्रदर्शनका कमाण्डरको रुपमा रहेका दुर्गा प्रसाई फरार रहेका थिए । उनले भारतीय प्रहरीसमक्ष आत्मसमर्पण गरेपछि नेपाल प्रहरीले पक्राउ गरेको बताएका छन् ।
यता प्रहरीले पनि विभिन्न स्थानमा भएको खोजतलासबाट पत्ता लगाएर पक्राउ गरी शुक्रबार काँकडभिट्टा नाका हुँदै प्लेनबाट काठमाडौं पु¥याएको छ । प्रसाईंलाई १२ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासले प्रसाईंलाई १२ दिन हिरासतमा राख्न अनुमति दिएको हो । प्रसाईंलाई प्रहरीले कम्तीमा १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्नका लागि माग गरेको थियो । सोहीअनुसार ढकालको इजलासले म्याद थपको अनुमति दिएको हो ।
प्रसाईंलाई शुक्रबार झापाको भद्रपुर विमानस्थल हुँदै बुद्ध एअरको जहाजबाट काठमाडौं ल्याइएको हो । सरकारी वकिलको कार्यालयमा बयान लिएपछि प्रसाईंलाई अदालत लगिएको थियो । प्रसाईं यही चैत १५ गते तीनकुनेको प्रदर्शनस्थलबाट फरार भएका थिए । उनले बिहीबार भारतको आसाम प्रहरीसँग आत्मसमर्पण गरेका थिए । भारतीय प्रहरीले उनलाई काँकडभिट्टा ल्याएर नेपाल प्रहरीलाई बुझाएको थियो ।
यसैबीच, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ध्रुवबहादुर प्रधानले युवा सङ्घलाई प्रधानमन्त्री केपी शर्मा ओलीले उक्साएर तीनकुने घटना गराएको आरोप लगाएका छन् । उनले सो घटनाको जिम्मा सरकारले लिनुपर्ने बताएका छन्। शुक्रवार प्रतिनिधिसभाको कानुन, न्याय, तथा मानव अधिकार समितिको बैठकमा सांसद प्रधानले यस्तो बताएका हुन् । उनले तीनकुनेको घटना सरकारले नियोजित रूपमा गराएको आरोपसमेत लगाए । उनले सरकार आफैँले नियोजित रूपमा घटना घटाएर पार्टीका नेताहरूमाथि झुटो मुद्दा लगाएको आरोप लगाए । देशमा अशान्ति निम्त्याउन सरकार लागि परेको आरोपसमेत उनले लगाएका छन् ।
‘तीनकुने घटनामा सबैखालको उत्तेजित गर्ने काम सरकारले गरेको भनेर आक्षेप लाइरहेको अवस्था हो। हामीले त्यही भनिरहेका छौँ । यो सरकारले नियोजित ढङ्गले गरेको छ। युवा सङ्घहरू जसलाई प्रधानमन्त्रीले भन्नुपर्छ त्यस किसिमको उक्साहट किन लगाइयो’ उनले भने, ‘पार्टी आफ्नो कार्यक्रमहरू गर्न सक्छ तर यहाँ कसैको आस्थालाई कसैले मार्न सक्ने कुरा होइन। त्यसमा पनि अस्पतालका विरामी हेर्न गएका सांसद धवल समशेरलाई पक्राउ गरियो, उपाध्यक्ष रविन्द्र मिश्रलाई पक्राउ गरेर सङ्गठित अपराध, राष्ट्रद्रोहका मुद्दाहरू लगाउने काम गरिँदै छ । यो सबै सुरक्षाकर्मीले गर्दैन यो सबैले निर्देशित हो ।’
यता गृहमन्त्री रमेश लेखकले राजावादीको हिंसात्मक प्रदर्शनका क्रममा तोडफोड र आगजानीलगायत घटनामा संलग्नहरूलाई पक्राउ गर्ने क्रम जारी रहेको बताएका छन् । शुक्रबार प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानवअधिकार समितिको बैठकमा गृहमन्त्री लेखकले तीनकुनेको हिंसात्मक प्रदर्शनका मुख्य आरोपी दुर्गा प्रसाईंलाई पक्राउ गरिएको र अन्य आरोपी पनि पक्राउ पर्ने क्रम जारी रहेको बताएका हुन् । गृहमन्त्री लेखकले वर्तमान संविधान र लोकतान्त्रिक व्यवस्थामा आफ्ना असन्तुष्टि राख्न सकिने भए पनि लोकतन्त्रको विकल्प खोज्ने र पछाडि फर्किने छुट नभएको बताए । तीनकुने घटनालाई सरकारले गम्भीरतापूर्वक लिएको उनको भनाइ थियो ।

Author

You may also like