देश–समाज मनोरञ्जन मुख्य समाचार स्थानीय

हरितालिका तीजका अवसरमा महिलाहरु नित्यकर्मका साथ ब्रत बस्दै

दमक/ हरितालिका (तीज) पर्वको पहिलो दिन आज देशभर सनातनी हिन्दू धर्मावलम्बी महिलाले निराहार ब्रत बसेका छन् । प्रेम, निष्ठा, आत्मियता, पारिवारिक एकताको प्रतिकको रुपमा मानिएको तीजको दोस्रो दिन ब्रतालु महिलाहरु विहानैदेखि आफुलाई पायक पर्ने देवालय, शिवालयहरुमा गएर पुजापाठ गरिरहेका छन् । व्रतका दिन शक्ति प्राप्त होस् भन्ने मान्यताअनुसार तीजको व्रत बस्नुअघि महिलाले मीठा तथा आडिला परिकार दरका रूपमा खाने परम्परा छ ।
तीजको पहिलो दिन भाद्र शुक्ल द्वितीयाका दिन माइतीले चेलीबेटीलाई बोलाएर दर खुवाउने चलन छ । विशेषगरी दूधबाट बनेका परिकार, मिठाइ, फलफूल, गहुँको रोटी, घिउलगायत खानेकुरा दरका रूपमा खाने गरिन्छ । धर्मशास्त्रविद् प्रा. तोयराज नेपालका अनुसार गहुँको रोटी र घिउजस्ता परिकार व्रत बस्नेका लागि आडिला मानिन्छन् ।
शास्त्रीय परम्पराअनुसार दर दुई भाग रात हुँदै खाइसक्नुपर्ने मान्यता छ । त्यसैले कतिपय महिलाले बिहान ३–४ बजेतिर उठेर दर खाने र त्यसपछि निराहार व्रत बस्ने तयारी गर्छन् । दर खाएसँगै चारदिने तीज पर्व सुरु भएको मानिन्छ ।
तीज धार्मिक पर्वसँगै महिलाले आफ्ना सुखदुःख, पीडा र सामाजिक अनुभव अभिव्यक्त गर्ने अवसरका रूपमा समेत स्थापित छ । विशेषगरी तीजका गीतमार्फत महिलाले जन्मघर छाडेर कर्मघरमा पुगेपछि भोगेका दुःख, पारिवारिक सम्बन्ध र सामाजिक अवस्थाबारे आफ्ना भावना सार्वजनिक गर्ने गरेका छन् । पछिल्लो समय यस्ता गीतमा महिला अधिकार, समानता र समसामयिक विषयसमेत समेटिन थालेका छन् ।
धार्मिक मान्यताअनुसार हिमालयपुत्री पार्वतीले महादेवलाई पति पाउन कठोर तपस्या र निराहार व्रत बसेको प्रसंगसँग तीजको परम्परा जोडिएको छ । साथीहरूले पार्वतीलाई हरण गरी सुरक्षित स्थानमा लगेर राखेपछि उनले त्यहीँ व्रत बसेर महादेवलाई पति पाएको कथा पुराणमा उल्लेख छ । यही घटनासँग जोडेर हरितालिका तीजमा व्रत बस्ने परम्परा सुरु भएको धर्मशास्त्रीय मत छ ।
तीजका अवसरमा पशुपतिनाथलगायत देशभरका शिवालयमा महिलाको भीड लाग्ने गर्छ । माइती, दिदीबहिनी तथा पुराना साथीभाइसँग भेटघाट गर्ने र वर्षभरिका सुखदुःख साटासाट गर्ने परम्परा पनि तीजको विशेषता हो ।
पछिल्लो समय तीज नेपालमा मात्र सीमित नरही भारतका केही क्षेत्रमा समेत मनाउन थालिएको छ । सञ्चारमाध्यम र सामाजिक सञ्जालको विस्तारसँगै तीजका गीत तथा सांस्कृतिक गतिविधि व्यापक बन्दै गएका छन् । तीजसँगै नेपाली समाज दसैँ–तिहारजस्ता ठूला पर्वको तयारीतर्फ समेत अघि बढ्छ ।

Author

You may also like