दमक । दमक नगरपालिका–७ स्थित सिर्जना टोलमा रहेको रामजानकी मन्दिर परिसरमा किरियापुत्री भवन निर्माणका लागि शनिबार शिलान्यास गरिएको छ । नगरप्रमुख राम थापाले एक कार्यक्रमबीच भवनको शिलान्यास गरेका हुन् । भवन निर्माणसँगै मन्दिरको संरक्षण, प्रचारप्रसार र धार्मिक पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ ।
कार्यक्रममा नगर उपप्रमुख रेगिना भट्टराई प्रसाईं, वडा नं. ७ का वडाध्यक्ष भीम पौडेल, टोल विकास संस्थाका पदाधिकारी, मन्दिर व्यवस्थापन समितिका अध्यक्ष तथा स्थानीय बासिन्दासहितको सहभागिता थियो ।
शिलान्यास कार्यक्रममा नगरप्रमुख थापाले आर्थिक रूपमा कमजोर तथा असहाय परिवारलाई आफन्तको निधनपछि किरियाकर्म गर्न सहज होस् भन्ने उद्देश्यले भवन निर्माण गर्न लागिएको बताए । मृत्यु संस्कारका बेला आवश्यक स्थान र व्यवस्थापन जुटाउन आर्थिक समस्या भोगिरहेका परिवारका लागि भवन उपयोगी हुने उनको भनाइ थियो । सार्वजनिक प्रयोजनका लागि निर्माण हुने यस्ता संरचनाले समुदायमा सहयोग, सहकार्य र सामाजिक उत्तरदायित्वको भावना पनि बलियो बनाउने उनले बताए ।
नगरप्रमुख थापाका अनुसार २०७० सालमा स्थापना भएको रामजानकी मन्दिर पर्याप्त प्रचारप्रसार र पूर्वाधारको अभावमा अपेक्षाकृत रूपमा ओझेलमा परेको छ । किरियापुत्री भवन निर्माणसँगै मन्दिर परिसर व्यवस्थित हुने र यसको धार्मिक तथा सामाजिक पहिचान विस्तार गर्न सहयोग पुग्ने उनले बताए । स्थानीय सरकार जनताको प्रत्यक्ष आवश्यकतासँग जोडिएका सामुदायिक पूर्वाधार निर्माणमा प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले निर्माणपछि संरचनाको संरक्षण र उचित सञ्चालनमा स्थानीय समुदायको भूमिका महत्वपूर्ण हुने बताए ।
दमक नगरपालिकाको ७४ लाखको स्टिमेट लागत रहेपनि ६० लाखको ठेक्कामा काम भईरहेको वडा नं. ७ का वडाअध्यक्ष भीम पौडेलले बताए । उनका अनुसार सो भवन निर्माणसँगै त्यहाँ रहेको जानकी मन्दिरलाई व्यवस्थित, आकर्षक र सुविधासम्पन्न बनाउने लक्ष्य रहेको छ । मन्दिर र किरियापुत्री घर छुट्याउँन उत्तरपट्टि कम्पाउण्ड लगाए पछि मन्दिरका गतिविधिमा कुनै असर नपर्ने पनि उनले उल्लेख गरे ।
तीन तलाको लागत स्टिमेट भएपनि तत्कालको लागि ट्वाइलेट, बाथरुमसहित दुई परिवारले काजकिरिया गर्न कुनै कठिनाई नहुने गरी निर्माण हुने वडाअध्यक्ष पौडेलले बताए ।
रामजानकी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष दिलकुमार माझीले मन्दिरलाई दमकको मात्र नभई पूर्वी नेपालकै महत्वपूर्ण धार्मिक आस्थाको केन्द्रका रूपमा विकास गर्ने लक्ष्य रहेको बताए । जनकपुरमा रहेको रामजानकी मन्दिरको धार्मिक महत्वलाई दमकसम्म जोड्दै यहाँको मन्दिरको प्रचारप्रसार र प्रवद्र्धन गर्न आवश्यक रहेको उनको भनाइ छ ।
माझीका अनुसार मन्दिर परिसरमा पर्याप्त जग्गा रहेकाले भविष्यमा धार्मिक आस्थासँग सम्बन्धित विभिन्न संरचना निर्माण गर्न सकिन्छ । त्यसका लागि दमक नगरपालिका, वडा कार्यालय, स्थानीय टोल तथा नगरवासी सबैको सहकार्य आवश्यक रहेको उनले बताए । मन्दिर प्रचारप्रसारको कमीका कारण ओझेलमा परेको भन्दै उनले सञ्चारकर्मीसहित सबै पक्षलाई यसको धार्मिक महत्व बाहिर ल्याउन आग्रह गरे ।
२०७० साल चैतमा स्थानीयको जनश्रमदानसहित मन्दिर निर्माण गरिएको भए पनि आसपासका बासिन्दाबाहेक बाहिरबाट आउने श्रद्धालुको संख्या अपेक्षाकृत बढ्न नसकेको मन्दिरका पुजारीले बताए । उनका अनुसार प्रशस्त जग्गा रहे पनि आवश्यक भौतिक पूर्वाधार निर्माण हुन नसक्दा यसको सम्भावना पूर्ण रूपमा उपयोग हुन सकेको छैन ।
मन्दिर पूर्वतर्फ खोलाले घेरिएको र खोलाको डिल हुँदै दुवैतर्फ रुखले ढाकिएको शान्त वातावरण रहेकाले धार्मिक पर्यटनका लागि आकर्षक गन्तव्य बनाउन सकिने पुजारीको भनाइ छ । अब किरियापुत्री भवन निर्माणसँगै क्रमशः आवश्यक पूर्वाधार थप गर्दै मन्दिर परिसरलाई व्यवस्थित र आकर्षक धार्मिक पर्यटकीय स्थलका रूपमा विकास गर्न सकिने उनले बताए ।
स्थानीय गंगा मगरले रामजानकी मन्दिर कुनै व्यक्ति वा समुदाय विशेषको नभई सबैको साझा आस्थाको केन्द्र भएकाले यसको विकासमा सबै दमकवासी जुट्नुपर्ने बताए । मन्दिर परिसरको सरसफाइमा विभिन्न स्थानीय समूह तथा टोलवासी सहभागी हुँदै आएको उल्लेख गर्दै उनले धार्मिक स्थलको संरक्षण र विकासमा राजनीतिक तथा सामाजिक विभाजनभन्दा माथि उठेर सहकार्य आवश्यक रहेको बताए ।
उनका अनुसार पूर्वी क्षेत्रमा रहेको महत्वपूर्ण रामजानकी मन्दिर पर्याप्त प्रचारप्रसारको अभावमा लामो समयदेखि छायामा परेको अनुभूति भए पनि पछिल्लो समय स्थानीय सरकारको ध्यान पुग्न थालेपछि यसको भविष्यप्रति आशा जागेको छ । मन्दिरमा दैनिक पूजापाठ हुँदै आए पनि बाहिरी क्षेत्रका श्रद्धालुलाई आकर्षित गर्न थप पूर्वाधार र प्रचारप्रसार आवश्यक रहेको उनले बताए ।
किरियापुत्री भवन निर्माणले तत्कालीन रूपमा आर्थिक रूपमा कमजोर परिवारलाई किरियाकर्मका लागि सहज स्थान उपलब्ध गराउनेछ भने दीर्घकालीन रूपमा रामजानकी मन्दिरको पहिचान र धार्मिक पर्यटन विकासको आधार तयार गर्ने अपेक्षा गरिएको छ ।

Author

You may also like