भद्रपुर, १ माघ। बिर्तामोड ४ मा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले बाह्रदशी गाउंपालिका १ स्थित भागुडुब्बामा विपन्न समुदायका ज्येष्ठ नागरिकलाई न्यानो कपडा (ब्लाङ्केट) वितरण गर्नुका साथै उनीहरुलाई मिष्ठान्न भोजन गराइएको छ ।
संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत मानवीय उद्धार सेवा केन्द्र नेपालको सहकार्यमा आयोजित कार्यक्रममा १ सय जना बढी ज्येष्ठ नागरिकलाई ब्लाङ्केट वितरण गरिनुका साथै मिष्ठान्न भोजन गराइएको हो । बाह्रदशी १ मा रहेको जेष्ठ नागरिक भवनमा झापा क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य राजेन्द्र लिङ्देनको प्रमुख आतिथ्यतामा ब्लाङ्केट वितरण कार्यक्रम भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि लिङ्देनले सामाजिक उत्तरदायित्व अन्तर्गत यसरी विपन्न वर्गका नागरिकलाई जाडोमा न्यानो बनाउन ब्लाङ्केट सहयोग गरिएको भन्दै सिम्रिक साकोसलाई धन्यवाद दिए । उनले भने,‘सरकारले गर्ने काम एउटा सहकारी संस्थाले गरिरहेको छ । यस पवित्र कार्यलाई म हार्दिक धन्यवाद दिन चाहन्छु, यो एक पुण्य काम पनि हो । ’
प्रदेशसभा सदस्य निमसरी राजवंशीले पनि संस्थाको कामको प्रशंसा गरिन । कार्यक्रममा बाह्रदशी गाउंपालिका ५ का वडाध्यक्ष लोकनाथ संग्रौला, मानवीय उद्धार सेवा केन्द्र नेपालका अध्यक्ष धनबहादुर बुढाथोकी लगायतले शुभकामना मनतब्य राखेका थिए । संस्थाका अध्यक्ष सुवास भट्टराईको अध्यक्षता कार्यक्रम सम्पन्न भयो ।
पुस र माघ महिनामा अत्याधिक जाडो हुने र शीत लहर चल्ने भएकाले जाडो छेक्नका लागि विपन्न वर्गका ज्येष्ठ नागरिकलाई न्यानो होस् भनेर ब्लाङ्केट वितरण गरिएको सिम्रिक साकोसका कार्यकारी प्रमुख कमलबहादुर बस्नेतले बताए । संस्थाको कार्यक्षेत्र हल्दीबारी, बाह्रदशी तथा कचनकबलका गरिब तथा आर्थिक अवस्था कमजोर भएका विपन्न वर्गका जेष्ठ नागरिकलाई लक्षित गरी ब्लाङ्केट वितरण गरिएको कार्यकारी प्रमुख बस्नेतको भनाई छ