दमक/ नेपालको सवै भन्दा धेरै धान र मकै उत्पादन हुने झापामा नयाँ रोग तथा किराहरु देखा पर्न थालेको छ । जलवायु परिवर्तनका कारण समयमा पानी नपर्दा धान, मकै र अन्य बालीमा नयाँ खालका रोग र किराले समस्या ल्याउन थालेको छ । कमल गाउँपालिका वडा नं. २ मा कमल गजुरेलले ८ कठ्ठा जमिनमा चैते धान रोप्नु भयो । तर एक महिना नवित्दै कुन र के रोग लागेर हो धान एकाएक मर्न थालेको छ । लगाएको धान मध्ये आधा भन्दा धेरै मरिसकेको छ ।
यस अघि चैते धानमा फङगसबाट हुने खालका रोगहरु मात्रै देखा पर्थे । तर यो बर्ष देखि ब्याक्टेरियाबाट हुने नयाँ खालका रोग र किरा समेत देखा परेको कमल गाउँपालिकाका कृषि प्राविधिक प्रेमप्रसाद पोखरेलले बताउनु भयो । पोखरेलका यस बर्ष ब्याक्टेरियाबाट रोग लाग्न थालेको छ । खासगरी चैते धानमा नयाँ प्रजातिको किरा र रोग देखा परेको हो । धानमा मात्र नभइ जलवायुको असर समग्र कृषि क्षेत्रमा नै देखा पर्न थालेको छ । वेमौषमी बर्षा र बाढीले एकातिर ठूलो क्षति गरिरहेको छ भने नयाँ रोग र किराका कारण समेत बालीमा क्षति पुग्न थालेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ झापाका वरिष्ठ कृषि अधिकृत रविन्द्र सुवेदी बताउँछन् । सुवेदीका अनुसार जलवायु परिवर्तनका असरबारे विभिन्न अध्ययन अनुसन्धानले जलवायु परिवर्तनका असर धेरै कृषि क्षेत्रमा परेको देखाएको छ । उहाँका अनुसार झापामै २ बर्ष यता धान पाक्ने वेला बाढी पहिरो तथा हावाहुरी र असिनाले धेरै असर गरेको छ । २०६१ साल देखि बन मन्त्रालय तथा कृषि तथा पशुपंक्षी मन्त्रालयले गरको अध्ययनबाट पनि जलवायुको असर देखा पर्न थालेको छ ।
जलवायुको परिवर्तनले पानी पर्ने समयमा पानी नपर्ने र परी हाले पनि भारी बर्षा हुने कारणले धेरै असर गरेको छ । यस बाहेक अति गर्मीमा हुने विभिन्न रोग र किरा समेत झापा जिल्लामा गरिने कृषि बालीमा देखा परेको छ । अव किसानले मौषम हेरेर सोही अनुसार खेती गर्नु पर्ने उहाँले बताउनु भयो । यस्तै पानीको सहत समेत तल झरेकाले कतिपय ट्यूवलबाट हुने साना सिंचाइ समेत सुक्न थालेका छन् । नेपालको सवै भन्दा धेरै धान र मकै खेती हुने झापाका जमिनमा यतिखेर चैते धान र मकै खेतीले अधिक स्थान ओगटेको छ । तर नयाँ खालका किरा र रोग लागेर बालीमा क्षति हुन थाले पछि किसानहरु चिन्तित बन्दै गएका छन् ।

Author

You may also like