दमक/कोरोना महामारीको संक्रमण बढिरहे पनि सरकारले निषेधाज्ञालाई खुकुलो गर्दै लगेको छ । यसैक्रममा पूर्वका झापा, मोरङ, सुनसरी र इलाम जिल्लामा आज मंगलबारदेखि जोरविजोर प्रणालीका आधारमा सार्वजनिक सवारीका साधनको आवागमन समेत खुला गरिएको छ । तर राजधानी काठमाडौंसम्मको लामो दूरीको यातायात संचालनका बारेमा भने कुनै निर्णय गरिएको छैन ।
इलाम, झापा, मोरङ र सुनसरी ४ जिल्लामा सार्वजनिक यातायात जोरविजोर प्रणाली अन्तरगत सञ्चालनमा ल्याइने जिल्ला कोभिड व्यवस्थापन समितिले झापाको बैठकले निर्णय गरेको छ । सार्वजनिक सवारी संचालन गर्दा सिट क्षमताभन्दा बढी यात्रुहरु भने राख्न नपाइने नियम राखिएको छ । चारै जिल्लाका प्रमुख जिल्ला अधिकारीको समन्वय र छलफल पश्चात उक्त निर्णय गरिएको झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले जानकारी गराए । सोमबार बसेको डीसीसीएमसीको बैठकले निषेधाज्ञा खुकुलो बनाएपनि पूर्ण रुपमा भने खुला गरेको भने छैन । कोरोना संक्रमणको जोखिम कायमै रहेकाले निषेधाज्ञा जारी राखिएको प्रजिअ तिमिल्सिनाद्वारा जारी आदेशमा उल्लेख गरिएको छ । बैठकले यही असार ३१ गतेसम्मका लागि निषेधाज्ञा जारी राखेको छ । बैठकले अत्यावश्यक सेवाबाहेकका सबै प्रकारका नीजि सवारी साधन, सिटीसफारी, अटोरिक्सा जोरविजोर प्रणाली अन्तर्गत संचालन गर्न पाउने निर्णय गरेको छ । प्रजिअको आदेशमा भने कोरोनाको संक्रमण दर घट्दै गएको उल्लेख गरिएको छ ।
झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाको अध्यक्षतामा बसेको उक्त बैठकले बसेकले जिल्लामा सञ्चालित होटल तथा रेष्टुरेन्टसमेत सञ्चालनमा ल्याउने निर्णय गरेको विर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीले बताए । वाणिज्य संघको पहलमा होटल तथा रेष्टुरेन्ट सञ्चालनमा ल्याइएको हो । बैठकले साँझ ५ बजेसम्म होटल तथा रेष्टुरेन्ट सञ्चालनको निर्णय डीसीसीएमसी झापाको बैठकले गरेको छ । तर त्यो समयपछि भने टके अवेको सेवा मात्र दिन सकिने. प्रजिअको आदेशमा भनिएको छ । डीसीसीएमसीको अघिल्ला बैठकहरुले खाद्यान्न, फलफूल, तरकारी, माछामासु, दुधडेरी, पुस्तक र हार्डवेयर पसल, निर्माणजन्य सामग्री, इलोक्ट्रोनिक्स, टेलरिङ्ग, लत्ताकपडा, जुत्ताचप्पल, सुनचाँदी, कस्मेटिक, भाँडा, गाडी, मोटरगाडी शोरुम, प्लास्टिक तथा मेशिनरी पसल विहान ६ देखि साँझ ५ बजेसम्म खोल्न पाउने निर्णय गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले बताए । यसअघि यि पसलहरुलाई बिहान ६ बजेदेखि अपरान्ह ३ बजेसम्म मात्र खोल्न पाउने अनुमति दिएको थियो ।
पसल सञ्चालन गर्दा भौतिक दूरी कायम गर्न पसल संचालकहरुलाई आग्रह गरेको छ । मोटर वर्कसपहरु पनि विहान ६ देखि साँझ ५ बजेसम्म संचालन गर्न पाउने व्यवस्था गरिएको छ । तर खुला गरिएका सबै काम गर्दा स्वास्थ्य सुरक्षाको मापदण्डलाई पूर्णरुपले पालना गर्नुपर्ने भनिएको छ । सिनेमा हल, पार्टी प्यालेस, स्वीमिङ पुल, मनोरञ्जन स्थल, पार्क, सैलुन, व्यूटी पार्लर, जिमखाना, समूहमा खेलिने खेलकूद, पुस्तकालय, संग्रहालय, चिडियाखाना भने बन्दनै राख्ने निर्णय गरिएको छ । तर सार्वजनिक रुपमा गरिने सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार लगायतमा भने रोक लगाइएको छ ।
यसअघिदेखिनै काठमाडौंमा पनि सार्वजनिक सवारीका साधनहरु संचालन खुला गरिसकिएको छ । त्यहाँ आइतबारदेखि सार्वजनिक सवारी साधनको जोर विजोर प्रणाली समेत हटाइएको छ । यता पूर्वमा विवाह गर्नुपरेमा दुई वटा गाडीमा ५÷५ जना गरी १० जनासम्मलाई मात्र जन्ति आउन जान दिइएको छ । विदेशी नागरिकहरुलाई झापाको काँकडभिट्टा नाका लगायत सबै नाकाबाट नेपाल प्रवेश गर्नमा रोक लगाइएको छ । तर आपूर्ति व्यवस्था भने खुलानै राखिएको छ । यसका साथै भारतबाट नेपाल आउने नेपाली नागरिकलाई भने आवश्यक कोरोना परीक्षण पछि मात्र भित्रिन दिइने पहिलेकै निर्णयलाई निरन्तरता दिइएको छ ।