राप्रपाको प्रदेश १ को अधिवेशनमा पराजित हुनुभयो, यो परिणामलाई कसरी लिनुभएको छ ?
–प्रदेश १ कमिटीेको अध्यक्षलगायतका लागि भएको अधिवेशनको परिणामलाई सामान्य ढंगले नै लिएको छु । हरेक प्रजातान्त्रिक पार्टीमा मुख्य नेतृत्वमा पुग्नका लागि प्रतिष्पर्धा हुन्छ । त्यो स्वाभाविक हो । त्यो नेतृत्व निश्चित समयावधीका लागि हुन्छ । त्यसपछि नेतृत्व हस्तान्तरण हुँदै जान्छ । नेतृत्वमा कोही पनि सँधैका लागि रहँदैन । मैले दमकको अधिवेशनमा राम्रै मत पाएको हो । पार्टी नेता र कार्यकर्ताहरुको साथ सहयोग रहेको छ । यो परिणामलाई सहजताका साथ लिई स्वीकार गर्नुपर्छ । प्रजातान्त्रिक अभ्यास भएको पार्टीमा यो सामान्य प्रकृया र कुरा हो ।
निर्वाचनमा पराजित भएपछि कतिपय सक्रिय राजनीतिबाटै पलायन पनि हुने गर्छन् नि ?
– म यस्तो परिणामबाट निरुत्साहित हुने मान्छे होइन । लामो समयदेखि म प्रजातान्त्रिक अभ्यासमै रहेर काम गरिरहेको छु । राजनीतिमा सकृय मानिसले कहिले पनि हार्दैन । म विगत ४० वर्षदेखि राजनीतिमा छु । एउटा पदमा हार्दैमा राजनीतिबाटै हार्ने भन्ने हुन सक्दैन । मेरो सकृयता र क्रियाशीलता रहिरहन्छ ।
अबको तपाईको भूमिका कस्तो रहन्छ ?
– मैले अहिले पनि राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति तथा केन्द्रीय सदस्यकै रुपमा आफ्नो जिम्मेवारी बहन गरिरहेको छु । पार्टीको पहिलो र दोश्रो महाधिवेशनबाट चुनाव जितेरै म केन्द्रीय सदस्यमा निर्वाचित भएको हुँ । खुला केन्द्रीय सदस्यका लागि निर्वाचन हुँदा मैले १३ औं नम्वरमा परेर जितेको थिएँ । यसबाटै मलाई पार्टीको नेता तथा कार्यकर्ताहरुको समर्थन र शुभेच्छा छ भन्ने पुष्टि हुन्छ ।
काँग्रेस र राप्रपामा के फरक पाउनु भयो ?
–राजनीति देश र जनताको हितमा गर्ने सेवा हो । जनताको अमनचयन र समृद्धिका लागि गरिने कर्म हो । विश्वेश्वरप्रसाद कोइरालाको प्रजातान्त्रिक समाजवादको आदर्शबाट पहिले प्रेरित थियो काँग्रेस । तर सत्तामा गएपछि उसले त्यो आदर्शलाई त्याग्न पुगेको छ । विपीले संवैधानिक राजतन्त्रको व्यवस्थालाई काँग्रेसले अंगीकार गर्नुपर्छ भन्नुहुन्थ्यो । तर त्यो गिरिजाप्रसाद कोइरालाको पालामा आउँदा बद्लियो । राष्ट्रपतिको पद पाउने लोभमा काँग्रेसले गणतन्त्रलाई अंगाल्न पुग्यो । काँग्रेस नेकपा माओवादीको उक्साहटमा लाग्यो, त्यसको परिणाम काँग्रेस अहिले पछि परेको छ ।
त्यही कारणले हो तपाईंले काँग्रेस छोडेको ?
– नेपाली काँग्रेसमा सरकारमा गएपछि समाजवाद होइन, पुँजीवाद हावी भयो । काँग्रेसले पूर्णरुपले निजीकरणको नीतिलाई अंगाल्न पुग्यो । जुन काँग्रेसको सिद्धान्त र आदर्श विपरीत थियो । अहिले उसले विपी, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र सुवर्णशमशेरले भनेबमोजिमको बाटोमा छैन । त्यसैले म राप्रपाको राजासहितको प्रजातन्त्र र हिन्दु राष्ट्रको अवधारणमा सहमत भएँ । पार्टीको केन्द्रीय अध्यक्ष कमल थापाको अनुशासन, तार्किक क्षमता र वक्तृत्वकलाबाट म आकर्षित भएको हो । त्यसले मलाई प्रेरित गरेको हो । त्यस्तै राप्रपाका नेताहरु राजेन्द्र लिङ्देन , धबलशमशेर जबराको मार्गदर्शन र मार्गचित्रले पनि मलाई प्रेरणा दिइरहेको छ । पहिलेको आदर्शवादी काँग्रेस र राप्रपामा अन्तर रहेन । मलाई काँग्रेस र राप्रपा उस्तै लागेको छ ।
तपाईप्रति राप्रपाका पुराना नेता कार्यकर्ताहरुको व्यवहार कस्तो छ ?
– मेरो सबैसंग घुलमिल छ । सहमति र सहकार्य छ । पार्टीको अन्य नेताहरुलाई जस्तै म प्रतिको व्यवहारमा पनि भिन्नता छैन । प्रदेश अधिवेशनको परिणामले हामीलाई नयाँ पाठ पढाएको छ । नेता कार्यकर्ताहरुको म प्रति सद्व्यवहार छ । कतिपयले कमी कमजोरी पनि औंल्याइदिनुभएको छ, पार्टीको काम गर्नमा कुनै असहजता छैन ।
विगतमा जस्तो राप्रपा फेरि फुटने त होइन ?
–अहिले तीनवटा पार्टी मिलेर राप्रपा बनेको छ । पहिलो पुस्ताका नेताहरु पनि एकभएर अघि बढ्नुपर्छ भन्नेमा एकमत भएका छन् । अन्य नेता तथा कार्यकर्ताहरु पनि मिलेर जानुपर्छ भन्नेमा छन् । त्यसैले अब पार्टी फुट्दैन । राप्रपामा केही नेताहरु पंचायतको स्कुलिङबाट आएकाले केही भिन्नता देखा पर्न सक्छ । त्यसैले कतिपयले आफूलाई अहिलेको समयअनुसार रुपान्तरित गरेर अघि बढ्नुपर्छ । एकले अर्काको अस्तित्व स्वीकार गरेर अघि बढ्नुपर्छ । यसो भएमा पार्टीभित्र एकताको अवस्था कायम रहिरहन्छ ।
राप्रपालाई अब कस्तो शक्ति भनेर चिन्ने ?
– देश र जनताको सामु अब राप्रपाको विकल्प छैन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को झण्डै दुई तिहाइको सरकार पनि जनताले हेरिसकेका छन् । जनता अहिले कम्युनिष्ट र काँग्रेसबाट वाक्कदिक्क भइसकेका छन् । काँग्रेस २२ वर्ष सत्तामा बस्यो तर आफ्नो सक्षमता देखाउन सकेन । त्यो उसको अकर्मण्यता थियो । राप्रपाले अब राष्ट्रवादी, हिन्दुवादी र राजसंस्थावादीलाई समेटनु पर्छ । अब आउने स्थानीय निर्वाचनमा जनताको मन जित्नेतर्फ मन जित्न लाग्नुपर्छ । अबको आवश्यकता राप्रपा, राजसंस्थासहित प्रजातन्त्र र हिन्दु राष्ट्रनै हो ।
अन्त्यमा, केही भन्नु छ ?
– सर्वप्रथम प्रदेश १ को अध्यक्षामा विजयी हुनु हुने राम थापालगायत सम्पूर्ण सदस्यहरुमा बधाई दिन चाहन्छु । प्रदेश १ मा गर्नुपर्ने काम र टिमले अपेक्षा गरेमा मबाट कुनै कमी नहुने जानकारी पनि गराउँछु । साथै अधिवेशनमा सहभागी नेता कार्यकर्ता, व्यवस्थापनमा खटिने सहयोगी व्यत्तित्वहरु, शुभेच्छुक, स्वयंसेवक तथा निर्वाचन समितिका सबैमा हार्दिक आभार प्रकट गर्दछु ।