बिमल लामिछाने
साउनको आगमन हुनु भनेको रोपाईँको मैजारो र माटोको सुगन्धसँग रमेको असारको विदाइ पनि हो । ग्रीष्मको प्रचण्ड रापले डढेको माटोलाई शीत्तल जलकणले सिञ्चित गर्दै आउने असारलाई प्रकृति, श्रम र मानव जीवनको अनुपम महाकाव्यको महिना पनि भनिन्छ । खेतका गराहरू पानीले भरिएर ऐनाजस्तै टल्किँदा र डाँडाकाँडाहरूले हरियो घुम्टो ओढ्दा धर्तीले नवजीवनको वरदान पाउँछ ।
भ्यागुताको ट्याँर–ट्याँरे क्रन्दन, पहाडे कुलोको सुसेली र तराइमा वर्षाको दर्कोले वायुमण्डलमा अलौकिक संगीत भर्छ । तर, यो संगितमा मात्रै अलमलिने समय होइन, ‘मानो खाएर मुरी उब्जाउने’ अमूल्य घडी हो असार, जहाँ हलीको निर्देश, बाउसेको चटारो र रोपाहारका असारे भाकाहरू हिलो र पसिनासँग एकाकार हुन्छन् । हिलोलाई चन्दन र कर्मलाई पूजा मान्ने किसानहरू यहाँ धान मात्र होइन, आलीमा दही–चिउरा खाँदै आफ्ना सुनौला सपनाहरू धर्तीको गर्भमा रोप्छन् ।
आजबाट यो वर्षको असार महिना सकिएको छ । तर, असारको पुरै महिना त्यसमाथिपनि असार १५ को धान दिवसले हाम्रो माटोप्रतिको अगाध प्रेम र पर्मको सामूहिक संस्कृतिलाई जीवन्त बनाएको छ । यो केवल वर्षाको भेल मात्र होइन, हाम्रो कृषि अस्तित्व, अर्थतन्त्र र संघर्षको बलियो तार्किक जग पनि हो । जसरी आकाशको पानीबिना प्रकृतिको चक्र अधुरो हुन्छ, त्यसैगरी असारको हिलोमा नडुब्दासम्म समृद्धिको क्षितिज उघारिन सक्दैन । यसले सृष्टिको एउटा अकाट्य सत्यलाई प्रमाणित गर्छ ।
सुख र उत्पादन सहजताको कोखबाट होइन, असहज परिस्थिति र कडा साधनाको गर्भबाट मात्र जन्मन्छन् । नेपाली समाजको आपसी सद्भावलाई एकीकृत गर्ने यो समयले श्रमलाई पेसासँग मात्र होइन, राष्ट्रिय गौरव र सभ्यताको निरन्तरतासँग जोड्छ । अतः तार्किक रूपमा हेर्दा, असार दुःखको पर्याय नभएर अभावमाथि विजय प्राप्त गर्ने र भविष्यलाई सुरक्षित गर्ने एउटा अपरिहार्य एवं दूरदर्शी लगानीको महायज्ञ पनि हो ।
हो, असार सबैले स्मरण गर्ने महिना हो । यतिवेला हामी विज्ञानको चरम उत्कर्षको ‘आधुनिक असार’सँग जुधिरहेका छौं । समयको अविराम गतिसँगै यान्त्रिक आधुनिकताको चमक त भित्रियो, तर यसले हाम्रा कतिपय मौलिक सांस्कृतिक धरोहर र रैथाने सुवासहरूलाई इतिहासको धुमिल पानामा सीमित गरिदियो ।
स्मृति–पटलको कुनै कुनामा आज पनि ढिकीमा कुटिएका ती सुगन्धित, अमूल्य चिउरा र पातिका पातले गुटुमुटु पारेर प्राकृतिक रूपमै पकाइने केराको अलौकिक स्वाद जीवन्त छ । त्यो स्वाद आजभोलिका विलासी तारे होटलका कृत्रिम र व्यावसायिक मेनुहरूमा खोजेर पनि भेटिँदैन ।
मंसिरको सुनौलो ऋतुदेखि नै गाउँको अन्नपूर्ण भकारीमा जतनसाथ सुरक्षित राखिएको धानको त्यो गौरवमय इतिहास र खड्कुडोबाट निस्कने कञ्चन बाफको सुगन्धसँग जोडिएको आत्मसन्तुष्टि आज बजारका यान्त्रिक र पोलिस गरिएका चमक–धमकयुक्त चिउराहरूमा किमार्थ प्राप्त हुन सक्दैन । त्यो उत्तरबाल्यकालको स्वर्णिम परिवेश, जहाँ हाम्रा साना र कलिला खुट्टाहरू ढिकीको पुच्छर थिच्नका लागि एउटा अभूतपूर्व उत्साहका साथ दौडिन्थे । वैंस र तागत नपुगेका ती निर्दोष गोडाहरू निहुराउन गाह्रो हुँदा हजुरआमाको लुङ्गीको फेरो समातेर भएपनि ढिकीको पुच्छरमा चढ्नै पथ्र्यो । हजुरआमाले असीम वात्सल्य खन्याउँदै भन्नुहुन्थ्यो, ‘छेउमा टेक न बाबु, बल थपिन्छ कि ।’ हो, कालान्तरमा बुझ्दै जाँदा हजुरआमाको त्यो ममतामयी ढाडस केवल ढिकी कुट्नका लागि मात्र थिएन रहेछ, त्यो त जीवनका अनपेक्षित उत्साह र संघर्षहरूसँग जुध्नका लागि दिइएको एउटा साश्वत जीवन–दर्शन रहेछ । त्यही आड र संस्कारको बलमा आज पनि यो जीवनको गोरेटो अविचलित अडिएको आभाष हुन्छ ।
त्यो परम्परागत ढिकीको आफ्नै एउटा अनुपम संगीत थियो, आफ्नै माटोको सुवास र स्वर बोकेको लोक–लय थियो । ‘भक्र्याङ च्याङ… भक्र्याङ च्याङ’ को त्यो आवाजले केवल धान मात्र कुट्दैनथ्यो, बरु माटोसँगको अटुट मानवीय प्रिति र सामूहिकताको पाठ सिकाउँथ्यो । अहिले चेतनाको डिलमा उभिएर नियाल्दा लाग्छ, त्यो ढिकी मात्र कहाँ बज्थ्यो र ? त्यो त सिंगो गाउँकै एउटा सामूहिक धडकन, चेतना र जीवन्त आवाज घन्किएको रहेछ । जो आफैँ जुर्मुराएको ग्रामिण लोकजीवनको गाथा बोलेको रहेछ । त्यहाँभित्र आलोपालो हुन्थ्यो, अर्मपर्म हुन्थ्यो । एकघरको चिउरा कुटिसकेपछि अर्कोको पालो आउँथ्यो । कुट्दा मात्र होइन, खाँदा पनि आलोपालोमै खाइन्थ्यो । घर घुमी घुमी । धुसेरी र पातिका पातहरूमा बेरिएर रैथाने प्रविधिबाट पकाइने ती केरा अनि लैनो भैँसीको चकने दही । भावनात्मक थियो गाउँ । घाँसपात र कुँडोका लागि छिमेकीको आँगनमा सहजै गरिने आत्मीय फेराहरू, चकनै चकना भएको दही र तोलनमा मथेको मही समेत बाँडेर खाने ती संस्कार आज एकादेशको दन्त्यकथा जस्तै लाग्छन् । त्यतिबेलाको नेपाली ग्रामीण समाज बजारवाद र मुद्राको तुलोमा होइन, आपसी अकाट्य विश्वास, पारस्परिकता र स्नेहको जगमा चलेको थियो । हरेकको भान्छा र चुलोमा छिमेकीको निश्छल सद्भाव र सहअस्तित्वको पवित्र ज्योति बलिरहेको हुन्थ्यो । अझ भनौं, छिमेकीबाट आगोको फिलुङ्गो र दियालोको टुक्रासमेत आदानप्रदानले आत्मीयता प्रगाढ बनाएको थियो ।
असारका दिन खेतकै कुइनेटामा ढुंगा जोडेर बनाइएको वनभोजे प्राकृतिक चुलो, त्यसबाट निस्कने धुवाँको बास्ना, र भित्रैसम्म राग पुग्ने गरी आगोको कोइलामा पोलेका हरिया मकैको स्वाद शब्दमा बयान गर्न असम्भव छ ।
तामाको अचार र करेलाको रैथाने तरकारीसँग हिलोमै बसेर खाइने त्यो खाजाका अगाडि संसारकै वैभवशाली र महँगा भोजहरू पनि फिक्का, नीरस र निसार लाग्छन् । वास्तवमा, त्यो स्वाद कुनै कृत्रिम नुन वा आयातीत मर–मसलामा कहाँ थियो र ? त्यो त खेतको हिलो र माटोमा सँगै पसिना बगाउने श्रमजीवी मान्छेहरूको आत्मीयता र निश्छल प्रेमको अमूल्य घोलमा मिश्रित थियो ।
श्रम र आत्मीयताको त्यही फ्युजन नै त्यो भोजनको वास्तविक लालित्य थियो । परन्तु, समयको क्रूर चक्रव्यूहमा आज पनि असार त आएकै छ, वर्षैपिच्छे निरन्तर आउँछ, तर त्यो पुराना मूल्यमान्यता बोकेको जीवन्त गाउँ आउँदैन ।
अचेल अमृततुल्य दही फ्रिजको कृत्रिम चिसोमा बन्धक छ भने, रैथाने चिउरा प्लास्टिकको निर्जीव थैलोमा कैद भएर बजारको हेङ्गरमा झुण्डिएको हुन्छ । ट्र्याक्टरको यान्त्रिक र कोलाहलपूर्ण आवाजले हिल्याएका आधुनिक खेतका गराहरूमा अचेल लोकजीवनका असारे भाका र ‘बाउसे’का गीतहरू होइन, मोबाइलका डिजिटल घण्टीहरू गुञ्जिन्छन् । समयको तीव्र गतिको बहावमा ढिकीको त्यो रैथाने र मौलिक लय कतै सुदूर इतिहासमा बिलाएर गयो ।
मानव जीवन र प्रविधि बाह्य रूपमा आधुनिक त भए, तर हाम्रो सनातन मन भने आधुनिकताको यो कृत्रिम साँचोमा फिट हुन सकेन । आज पनि एकान्तमा आँखा चिम्लिँदा अतीतबाट हजुरआमाको त्यो वात्सल्यपूर्ण र दिव्य स्वर गुञ्जिएर आउँछ, ‘ए छिटो उठन बाबु, आज धान उसिन्नुपर्छ, पल्लाघर गएर ठूलो खड्कुँडो मागेर ल्याउ..।’ चेतना र स्मृतिको त्यो उर्वर ब्याडमा आज पनि बाल्यकालको त्यो रैथाने रोपाइँ र असारे हिलो निरन्तर चलिरहन्छ । वास्तवमा, असार १५ पनि केवल दही–चिउरा चपाउने एउटा ऋतुकालीन कर्मकाण्ड वा उत्सव मात्र कहाँ थियो र ? यो त हलो, गोरु, हली, बाउसे, रोपाहार र धर्तीमाताको अस्तित्वको सामूहिक महागान थियो । हाम्रो कृषि सभ्यताको मेरूदण्ड थियो र अहिले पनि असारले कृषिको मेरुदण्डकै रुपमा भूमिका निर्वाह त गरेकै छ, मात्र शैली फरक छ ।
सहरको भौतिक चमक, कंक्रिटका महलहरू र कोलाहल जतिसुकै लोभलाग्दो र चम्किलो भए तापनि हामीले आफ्नो अस्तित्वको मूल जरा र धरातललाई कदापि बिर्सनु हुँदैन । किनकि हाम्रो वास्तविक पहिचान, संस्कार, मौलिकता र आत्मिक वैभव त्यही गाउँको पावन माटो, श्रम र रैथाने सानमा नै अन्तर्निहित छ । जबसम्म हामी आफ्नो माटो र जरासँग जोडिरहन्छौँ, तबसम्म मात्र हाम्रो अस्तित्व जीवन्त रहन्छ ।

Author

You may also like