कमल/ झापाको कमल गाउँपालिकाको १९औँ गाउँसभा अधिवेशनमा आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ८३ करोड ६९ लाख ५३ हजार १७८ रुपैयाँको बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ । गाउँपालिकाले कृषि उत्पादन वृद्धि, स्वास्थ्य सेवा सुदृढीकरण, पर्यटन विकास र भौतिक पूर्वाधार विस्तारलाई प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो ।
गाउँपालिका अध्यक्ष हुकुमसिंह राईले सभामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धि, उत्पादनमा आधारित अनुदान, व्यावसायिक खेती प्रवद्र्धन, कृषि सिँचाइ महसुलमा सहुलियत तथा कृषिको यान्त्रीकरणलाई प्राथमिकता दिइने बताए ।
पशु विकासतर्फ उद्यमशीलता प्रवद्र्धन, दुग्ध तथा पशुजन्य उत्पादनको बजारीकरण, सुत्केरी पशु पोषण कार्यक्रम, बाँझोपन निवारण, पशु स्वास्थ्य शिविर, रेबिज नियन्त्रण तथा नस्ल सुधार कार्यक्रम सञ्चालन गरिने नीति पनि सार्वजनिक गरिएको छ ।
स्वास्थ्य क्षेत्रमा कमल नगर अस्पतालबाट आवश्यक जनशक्ति र उपकरणसहित २४सै घण्टा सेवा सञ्चालन गर्ने, स्वास्थ्य बीमा कार्यक्रमलाई निरन्तरता दिने, गाउँपालिकाभित्रका स्वास्थ्य संस्थाको भौतिक पूर्वाधार सुधार गर्ने तथा लखनपुर स्वास्थ्य चौकीको नयाँ भवनबाट सेवा सञ्चालन गर्ने योजना अघि सारिएको छ ।
पर्यटनतर्फ साधुहोली सिमसार र कमल पोखरीलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गरिने, भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई सङ्घीय सरकारको मापदण्डअनुसार व्यवस्थापन गरिने नीति लिइएको छ । साथै सामुदायिक विद्यालय सुधार, युवालाई रोजगारी सिर्जना, खेलकुद विकास तथा भौतिक पूर्वाधार विस्तारका कार्यक्रमलाई पनि प्राथमिकता दिइएको छ ।
उपाध्यक्ष प्रमिला न्यौपाने तिवारीले प्रस्तुत गरेको बजेटअनुसार आन्तरिक राजस्वबाट ५ करोड ९४ लाख ७० हजार ५ रुपैयाँ, राजस्व बाँडफाँटबाट १४ करोड ८८ लाख २ हजार १८७ रुपैयाँ, अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट १६ करोड १९ हजार रुपैयाँ, सङ्घीय सरकारबाट हस्तान्तरित कार्यक्रमका लागि ४४ करोड ६९ लाख रुपैयाँ तथा प्रदेश सरकारबाट हस्तान्तरित कार्यक्रमका लागि २ करोड १७ लाख ५७ हजार रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ ।
व्ययतर्फ सङ्घीय चालुतर्फ ४२ करोड ३९ लाख रुपैयाँ, सङ्घीय पुँजीगततर्फ २३ करोड रुपैयाँ, प्रदेश चालुतर्फ ३८ लाख ५७ हजार रुपैयाँ, प्रदेश पुँजीगततर्फ १ करोड ७९ लाख रुपैयाँ, पालिकाको चालुतर्फ १२ करोड २३ लाख ३० हजार रुपैयाँ तथा पालिकाको पुँजीगततर्फ २४ करोड ५९ लाख ६६ हजार १७८ रुपैयाँ विनियोजन गरिएको छ ।
प्रस्तुत नीति, कार्यक्रम र बजेटमाथि गाउँसभामा छलफलपछि पारित गर्ने प्रक्रिया अघि बढाइने गाउँपालिकाले जनाएको छ ।