देश–समाज विविध समाचार स्थानीय

धानको उचित मूल्य नपाएपछि चैते धान खेती खस्कियो

दमक/ अघिल्ला वर्षहरुमा झापामा यस बेला चैते धान रोप्न धमाधम हुने गरेको थियो । यस वर्ष भने धान रोपाईको भन्दा चटारो चुनावको छ । धेरैको ध्यान चुनावतिरै मोडिएको छ । धेरै किसानहरुले यस वर्ष चैते धान नलगाउने योजना बनाएका छन् । यसको कारण भने चुनाव होईन, धान रोप्न हुने हैरानी र विक्री गर्दा पाईने मुल्य हो ।
झापामा केहि वर्षयता चैते धान रोप्ने क्रम क्रमिक रुपमा घट्दै गएको छ । विउ खरीद, मल, सिँचाई र जनशक्तिको हिसाब गर्दा लागत पनि नउठ्ने भएपछि चैते धान रोप्ने क्रम घटाएको किसानहरुको भनाई छ । धान रोप्नुको साटो किसानहरुले वैकल्पिक खेती रोज्न थालेका छन् । केहिले तरकारी खेती गर्ने गरेका छन् भने केहिले मकै लगाउने गरेका छन् । झापाको कमल ६ का किसान खेम आचार्यले भने, ‘धानको बिउ किन्नै प¥यो, नहर छैन बिजुलीबाट सिँचाई गर्नुपर्छ । ट्याक्टर नलगाई जोत्न र झार्न सकिँदैन । त्यसमा पनि खेताला नभई हुँदैन अनि बेच्ने बेलामा ६ सय र ७ सय भन्छन् एक मनको, अनि कसरी गर्नु खेती ?’
कृषि ज्ञान केन्द्रले समेत झापामा चैते धान लगाउने क्रम घट्दै गएको बताएको छ । धानको साटो मकै खेती लगाउने क्रम बढ्दा धान खेतीको क्षेत्रफल घट्न थालेको ज्ञान केन्द्रको तर्क छ । चैतको दोस्रो हप्तासम्ममा जिल्लाभरि रोपाइँ सकिने अनुमान गरिएको कृषि ज्ञान केन्द्रका प्रमुख सागर विष्टले जानकारी दिए । उनले परम्परागत खेती प्रणालीको तुलनामा मेसिनको प्रयोगमा जिल्लामा धानखेती गर्ने प्रचलन बढ्दै गएकाले रोप्नका लागि कतै बीउ तयार भइसकेको त कतै बीउ राख्ने काम भइरहेको बताए । जिल्लाका विभिन्न स्थानमा १० वटा धान रोप्ने मेसिन (ट्रान्सप्लान्टर)हरू रहेका छन् ।
प्रमुख विष्टका अनुसार गत वर्ष जिल्लामा करिब २० हजार हेक्टर क्षेत्रफलमा चैते धानखेती गरिएको भए तापनि यस वर्ष किसानहरूको आकर्षण मकैखेतीतर्फ बढेकाले १५ देखि २० प्रतिशतले धानखेतीको क्षेत्रफल घट्ने देखिएको हो । गत वर्ष चैते धानको मूल्य प्रतिमन (४० केजी) रु ७०० मात्र रहेकाले उचित प्रतिफल नपाउँदा किसानहरू निरास भई वैकल्पिक बालीतर्फ मोडिएका उनले बताए । उनले भने, “गत वर्षको मूल्यकै कारण किसानको चैते धानखेतीतर्फ खासै ध्यान गएन ।” धानको बीउ आपूर्ति गर्ने कम्पनीहरूले बीउसमेत यस वर्ष सोचेअनुरूप बिक्री गर्न नसकेको जनाएका छन् ।
जिल्लामा विशेषगरी हर्दिनाथ–१ जातको धान बढी लगाउने गरिए पनि यसपटक मोरङको आरजु राइस मिलले हर्दिनाथ–६ जातको धान प्रतिमन रु एक हजारमा खरिद गर्ने पूर्वसहमति गरेपछि किसानले उक्त जातको धान पनि लगाउन सुरु गरेका छन् । बिक्रीको सुनिश्चितता र तुलनात्मक रूपमा राम्रो मूल्य तोकिएकाले ‘हर्दिनाथ–६’ तर्फ किसानको चासो बढेको भए तापनि धेरैजसोले अझै ‘हर्दिनाथ–१’ लाई नै प्राथमिकतामा राखेको उनको भनाइ छ । त्यसैगरी, कृषि ज्ञान केन्द्रको सहयोगमा जिल्लामा ‘छरुवा धान’ प्रविधिलाई पनि प्रोत्साहन दिइएको छ । केन्द्रले हरेक वर्ष नयाँ स्थानहरू पहिचान गरी किसानलाई यो प्रविधि अपनाउन प्रोत्साहित गर्दै आएको छ भने पुराना किसानले आफैँ यसलाई निरन्तरता दिइरहेका छन् । छरुवा प्रविधिबाट धानको उत्पादन राम्रो हुने भए तापनि प्राविधिक पक्षमा ध्यान नदिँदा किसानलाई झार नियन्त्रणमा समस्या आउने गरेको प्रमुख विष्टको भनाइ छ । धानखेतीका लागि चाहिने रासायिक मलको जिल्लामा अभाव नरहेको उनले जानकारी दिए ।

Author

You may also like