रुप
रङ्ग
अदलबदल
अवरोध
मार्गनिर्देश
दिशाबोध
नयाँ बिचार
अनेकन बाधा अडचन सहेर
हिजो कस्तो दिन बितायौ तिमीले ?
ए ! प्रजातन्त्र दिवस
आज किन अल्मलिन खोज्दैछौ ?
किन छटपटाउदैछौ ?
किन निरास हुँदैछौ ?
अघि बढ न
किन बोल्दैनौ ?
सायद सहिद गेटमा
बर्ष – बर्ष दिनमा माल्यार्पण गर्ने देखापर्छन
यही सोचेर गुनेर मौन रहेका हौला नि तिमी ?
अरु नबोले नि सहिदका लागि त बोल
उठाउ तिम्रा हातहरु
नकमाउ तिम्रा खुट्टाहरु
रगतका टाटाहरु अझै मेटिएका छैनन
देखिरहेका छन बुद्धका आँखाहरुले
अवसरवादले
मौका छोप्यो
तातो रगत पियो
डनवाद जन्मायो
धनवाद मौलायो
वाद – वादको खेती गर्यो
यो सबैलाई थाहै छ कि होइन भन त ?
तिनलाई तिमीले चिनेकै छौ
किन बोल्दैनौ , मौन छौ ?
बोल न
ए ! प्रजातन्त्र
वीपी , गणेशमान , मनमोहनको सपना साकार पार
उठाउ तिम्रा हातहरु
लेख तिम्रै कलमले
लेख तिम्रै कलमले ……………..?
२००७ सालको फागुन ७ गते नेपाली जनताको ऐतिहासिक सङ्घर्षले १०४ वर्षे राणा शासनको अन्त्य गरी प्रजातन्त्रको स्थापना ग¥यो। त्यो दिन नेपाली जनताका लागि स्वतन्त्रताको प्रतीक थियो। तर ७ दशकभन्दा बढी समय बितिसक्दा पनि नेपालको प्रजातन्त्र जनतामुखी नभई नेतामुखी बन्न पुग्यो। जनताको नाममा सत्ताको खेल चल्यो, र प्रजातन्त्रको खोलभित्र अनेकौँ स्वार्थका ब्याँसहरू जन्मिए। यही स्वार्थका कारण राजतन्त्र र नेपालको पहिचान रहेको हिन्दू राष्ट्रको अन्त्य भयो, तर जनताको जीवनमा वास्तविक परिवर्तन आएन।
राजनीतिका नाममा देशका नदी–नाला बेचिए, प्राकृतिक सम्पदा दुरुपयोग भयो, र भ्रष्टाचारको दलदल यति बाक्लियो कि आज स्वच्छ छानबिन गर्न अन्तर्राष्ट्रिय निगरानी ल्याउने हो भने ७५ प्रतिशत नेताहरू जेल जाने अवस्था बनेको छ। गरीब जनता लुटिए, केही वर्ग धनी बने, र असमानता झन् बढ्दै गयो। यही असन्तुष्टिबाट जेन–जी पुस्ता सडकमा उत्रिन बाध्य भयो। प्रजातन्त्र मनाउने मुलुकमा जनताको पीडा र निराशा हेर्नु परिरहेको यथार्थ राजनीतिक नेतृत्वको असफलताको प्रतिविम्ब हो ।
२०७२ सालमा जारी गरिएको गणतान्त्रिक संविधान पनि सर्वस्वीकार्य बन्न सकेन। मधेश, जनजाति र पहिचानका आन्दोलनहरूले असन्तुष्टि प्रकट गरे। एकातिर राजसंस्थाको पुनःस्थापनाको माग उठ्दैछ भने अर्कातिर हिन्दू राष्ट्रको वकालत भइरहेकै छ। आन्दोलनका मुद्दा र मागहरू सरकारका फाइलमा थन्किन पुगेका छन्, समाधानको सट्टा सम्झौताका नाममा समस्या दबाइएका छन्।
देशमा केही धनाढ्यका विकासका दृश्य देखाएर प्रगतिको भ्रम फैलाउने प्रयास भए पनि जनताको वास्तविक जीवनस्तर झन् कमजोर बन्दै गएको छ। रोजगार, शिक्षा र स्वास्थ्यजस्ता मौलिक हक अझै सुनिश्चित हुन सकेका छैनन्। शासक वर्गले उपलब्धिको रङ लगाएर असफलताका दाग लुकाउने प्रयास गरिरहेका छन्। यस्तो अवस्थाबाट गुज्रिरहेको नेपालको प्रजातन्त्र आज लङ्गडो बनेको अनुभूति हुन्छ — न पुरै उठेर अघि बढ्न सक्छ, न त बस्न नै।
हिजोका सहिदहरूले आफ्नो रगतले यो प्रजातन्त्रको बीउ रोपेका थिए। तर आज त्यो बोटमा अवसरवाद, स्वार्थ र मौनताको राँगर पलाइसकेको छ। प्रजातन्त्र दिवसमा माल्यार्पणका औपचारिकता पूरा हुन्छन्, तर सहिदहरूको सपना र जनताको आकांक्षा मौन छ । बुद्धका आँखाले अझै त्यही अन्याय र अन्यायका पोकाहरू देखिरहेका छन्। अवसरवाद, धनवाद र डनवादको खेतीले जनताको शासनलाई नेताको खेल बनाइदिएको छ।
वीपी कोइराला, गणेशमान सिंह, पुष्पलाल श्रेष्ठ र मनमोहन अधिकारीजस्ता महान राजनीतिज्ञ र सहिदहरूका सपना पुनर्जीवित गर्ने प्रयास अबको आवश्यकता भएको छ । जनताको पक्षमा प्रजातन्त्र पुनः स्थापित गर्न, हामी सबैले मौन तोड्नुपर्छ। सहिदका नाममा होइन, सहिदका मूल्यमा उठ्नुपर्छ । हात उठाऔं, कलम चलाऔं, र प्रजातन्त्रलाई पुनः जनताको पक्षमा फर्काऔं ।
जय प्रजातन्त्र दिवस ।

Author

You may also like