:– ढुण्डुराज भट्टराई –:
हरितालिका तिज नेपाली हिन्दु महिलाहरूको विशुद्ध चाड हो । हिमालय पुत्री पार्वतीले व्रत बसी मनोकांक्षा पूरा भएको अर्थात शिवजीलाई पतिका रूपमा प्राप्त गरेको दिनसँग यो पर्व जोडिएको छ । छोरीचेलीलाई माइतिले सम्झने विशेष पर्वका रूपमा पनि यसलाई लिइन्छ । यो चाडमा विवाह पछि घर गएका चेलीबेटीलाई माइतीले लिएर आउछन् र विशेष परिकार बनाएर दरको रूपमा खुवाउछन् । आमाबुवा, दाजुभाइ र दिदीबहिनीहरू भेट हुने र दुखसुख साटासाट गर्ने अवसर पनि हो ।
हाम्रो ठुलो परिवारमा तिज पर्वले रौनक ल्याउँथ्यो । हाम्रा दुइजना दिदीहरूको घर इटहरा र कुलझोडामा थियो । विवाह हुन बाँकी दिदीबहिनी , दाजुभाई, आमा,बुवा, हजुरआमा गरेर घरमा हामी धेरै सदस्य थियौं । तिजमा दिदीहरू लिन नगए आउने चलन थिएन । त्यसैले दिदी लिन जानु अनिवार्य थियो । त्यो बेला प्राय सासुहरू कडा हुन्थे । सासुको खटनमा चलेका घरमा काम गर्ने बुहारीलाई आँफुखुसी माइत जान हत्तपत्त दिदैनथे । माइति गएर अनुरोध गरेपछि भने धेरैले बिदा दिन्थे ।हाम्रो घर देखि करिब २५ किलोमिटर टाढा दिदी घर थियो । कच्ची बाटो भएकाले गाडी थिएनन् । सवारी साधन भनेका वउल गाडी मात्र थिए ।पैदल हिडेर त्यहाँ पुग्न हामीलाई दिनभरी जस्तो लाग्थ्यो । बर्खायाम कहिले झरी त कहिले चर्को घाम । यात्रा कष्टकर थियो तर पनि हामीलाई दिदी लिन जान भनेपछि रहर लाग्ने । हामी दुईजना भएर दिदी लिन जान्थ्यौँ । बाटो लामो भएकाले बिच बाटोमा कोही आफन्तकोमा खाजा पानी खान्थ्यौ । खाजामा चाम्रे, भात या रोटी हुन्थ्यो । साँझ पर्दा दिदी घर पुगिन्थ्यो । सासुबाट अनुमति मागेर भोलि पल्ट फर्कन तयारी गरिन्थ्यो । भाञ्जाभाञ्जी, उनीहरूका कपडाको झोला सहित दिदीलाई हिलाम्मे बाटो भोकै प्यासै माइतीघरसम्म ल्याउन हम्मेहम्मे थियो । सँगै खाइखेली हुर्किएका र विवाह पछि विछोडिएका दिदीबहिनीको अभावले घर पुगेपछि हुने रमाइला पलहरूको कल्पना गर्दै बाटो तय गरिन्थ्यो । दिदीहरू आएपछि घरमा खुसियाली छाउँथ्यो । दर खानकालागि आमाले काक्राँ, कुभिण्डोको खल्पी तयारी अवस्थामा राख्नु हुन्थ्यो । दुई तीन दिन अघिमात्र माइत आएका दिदीबहिनी र अरू गाउँले साथीहरूसँग हामी रमाउँदै जंगल जान्थ्यौँ, सखुवाका पात, निगुरो, डौठे, जिब्रि साग खोजेर डोको भरी लिएर आउथ्यौँ । जंगलमा फलेका अँगेरी खान्थ्यौँ ।
व्रतको अघिल्लो दिन दिउँसो आमाले पकाएको चाम्रे निगुरोको तरकारी र सिन्की गुन्द्रुकको अचारसँग खाएको स्वाद सम्झदा अहिले पनि जिब्रो रसाउँछ । बिजुली थिएन । लालटिन र टुकी बालेर साँझमा आमा भात पकाउनु हुन्थ्यो । भान्साकोठामा आमालाई सघाउदै दिदीबहिनीहरू टुकी र लालटिनको उज्यालोमा एकअर्काको अनुहार हेर्दै मन्दमन्द मुस्कानका साथ बेलुका अबेरसम्म कुरा गर्थे । हामी दाजुभाइ पनि पटेरको गुन्द्रीमाथि बसेर उहाँहरूका गफमा मिसिन्थ्यौ । आमा हाम्रा गफ सुन्दै खानाका परिकार बनाउनुहुन्थ्यो । परिकारमा दुधमानेको अचार,काँक्रा,कुभिन्डोको खल्पि जस्ता अचारका परिकार, आलु, मटर, पाकेका फर्सी, निगुरो आदिबाट तरकारी, तामा र आलुको रस, खीर वा ढकने,साथमा दही, मोही, घ्यु आदि हुन्थे । हिजोआज जस्तो दरमा मासु खाने चलन थिएन ।
राती अबेरसम्म परिवारका सबै सदस्यहरू जागा नै रहन्थ्यौँ ।
पराल र पटेरको पिरामा वरिपरि बसेर झर्के थाल र बटुकामा स्वाद लिदै गफ गर्दै धेरै बेर लगाएर दर खान्थ्यौँ । घरधन्दा सक्दा १२ बजिसकेको हुन्थ्यो । तिजको व्रतको दिन बिहानै उठेर नित्यकर्मपछि बालबच्चालाई खानेकुरा बनाई ख्वाउने काम आमाको हुन्थ्यो । दिदीबहिनीहरू स्नानपछि राता बस्त्रहरू तथा गरगहनामा आफुलाई सजाउँथे । त्यसपछि आमाको पालो आउथ्यो । व्रतको दिन घाम अस्ताउञ्जेलसम्म निर्जल र निराहार बस्नुपथ्र्याे । विवाहितले पतिको दिर्घायु तथा सुस्वास्थ्यको कामना गर्दै र अविवाहितले सुयोग्य वरको आशा राखी यो व्रत लिन्छन् । व्रतमा गहिरो आस्था थियोे । त्यतिबेला हाम्रो गाउँमा मन्दिर थिएन, बाजागाजाहरू थिएनन् , ठुलो बजार थिएन । सबै छरछिमेकका महिलाहरू एउटा कुनै घरमा भेला हुन्थे र आँगनमा वा बरण्डामा बसेर तीजका गीतहरू गाउँथे, नाच्थे, दुना टपरी गाँस्थे, बाती कात्थे, दुखःसुखका कुरा गर्दै दिनभर रमाइलो गर्थे । बेलुकाको शिवजीको पुजा गरेपछि मात्र व्रत पूरा हुन्थ्यो । सबै छरछिमेकका वर्तालुहरू भेला भइ एकै ठाउँमा पुजा गर्थे ।
अहिले जस्तो नजिकै बजार नभएकाले कसैको बारीमा फलेका केरा,अम्बक आदिलाई पूजापछि प्रसादका रूपमा सबैले ग्रहण गर्थे अनि मात्र पानी पिउँथे । यसरी व्रत समापन हुन्थ्यो । त्यस दिन बस्तुभाउ र बालबच्चा ब्यवस्थापनमा पुरूषको विशेष भुमिका हुन्थ्यो । तीजको लगत्तै पर्सि पल्ट ऋषि पञ्चमी आउँछ । यो दिनपनि महिलाहरूको लागि विशेष दिन हो । महिलाहरूले आफू रजस्वला भएका समयमा जानि नजानी भए गरेका गल्तीहरूको शुद्धीकरणका लागि यो व्रत लिन्छन् । ब्रतमा सप्तऋषिको पूजाअर्चना गरिन्छ । ब्रतको लागि दतिवनको खोजिमा दिदीबहिनीसँग टाढाटाढाका होलि खेत तथा जंगल जान्थ्यौँ । दिनभरी लगाएर ब्रतको लागि आवश्यक सामाग्री जुटाइन्थ्यो । पञ्चमीको दिन सबै ब्रतालु महिलाहरू खोलामा स्नान गर्न जानुपथ्र्याे । खोलामा पुगेर ३६५ वटा दतिवनका डाँठ दाँतले टोकेर खोलामा कगाउँथे । गाइको गोबर, कुश, माटो, खरानी आदिले शरीर लेपन गर्थे ।चाल्नोमा तिल चामल जौ (गनौती) आदि राखेको चाल्नो शीरमाथि राखी पानी खन्याएर राखेर स्नान गर्थे । यसो गर्दा शरीर तथा मन शुद्धीकरण हुन्छ भन्ने विश्वास थियोे । हामी केटाकेटीहरूपनि साथ लागेर जान्थ्यौ र धित मरूञ्जेल पौडि खेल्थ्यौँ। दिदी आमाहरू स्नानकर्म सकिएपछि चोखो वस्त्र पहिरिन्थे । त्यसपछि हामी सबै घर फर्कन्थ्यौँ । त्यो समयमा हामीसँग क्यामरा, मोवाइल केही थिएनन् तर पनि तस्बिरहरू स्मरणमा जस्ताको तस्तै छन् । घर आएर टोल भरीका आमा दिदीबहिनीहरू सप्तऋषिको पूजा सम्पन्न गर्थे । गुरूलाई दक्षिणा पछि आआफ्ना घरमा बनेका कर्कलो, सागपात, कन्दमुल तथा फलफूल आदिका परिकार खान्थे । हाम्रोमा पनि आमाले यस्तै भोजन तयार गर्नु हुन्थ्यो । सबैलाई तिज तथा पञ्चमीले खुसी तुल्याउथ्यो ।
आजकल तिज फरक ढंगले मनाउन थालिएको छ । आस्था कसैमा छैन । महङ्गा बस्त्र र गरगहना देखाउने पर्व बनेको छ । शुद्ध आहार छैन । मासुका अस्वस्थ परिकार र पेय पदार्थमा भुलिन पाउँदा आनन्दित हुन्छन् । व्रत पनि अभिनय जस्तो लाग्छ । परम्परा र संस्कारलाई परिस्कृतका नाममा बिकृत बनाए झैँ लाग्छ । पुरूष महिलाको बराबर संलग्नता छ । कुन तिथिमा तीज मनाउने भने हेक्का कसैलाई छैन । एक महिना अघिदेखि तीजका कार्यक्रम आयोजना हुन्छन् । होटल, रिसोर्टमा पार्टी हुन्छन् । फोटो,भिडियो मार्फत सुटिङ गरिन्छ । विषेश गरि खानपिन तथा नाचगानमा मात्रै रमाउने र सामाजिक सञ्जालमा भद्दा पाराले पोष्ट गर्ने प्रचलन छ । संघसंस्थाहरूले पनि यो पर्व मनाउन थालेका छन् । टिकटक, इन्स्टा, युट्युब, रिल आदिमा देस विदेशमा मनाइएका तीजका नाना थरीका फोटो भिडियो देख्न सुन्न पाइन्छ । अहिलेको पुस्ता यसमै रमाएको देखिन्छ । यस किसिमले मनाउने पर्वका केही पक्षहरू राम्रा पनि होलान् । तर तिज र पञ्चमी जस्तो नेपाली महिलाहरूको आस्था र विश्वासको गरिमामय पर्वलाई अबका पुस्ताले केवल भोज र पार्टीको पर्वको रूपमा मात्र बुझ्ने र मनाउने निस्चित प्राय छ ।