दमक/ राज्यले सामाजिक सुरक्षा भत्ता वितरण थालेको तीन दशकमा पहिलोपटक लाभग्राहीको ग्राफ घटेको छ । आर्थिक वर्ष ०८१/८२ मा अघिल्लो वर्षको तुलनामा २२ हजार ८८५ लाभग्राहीको संख्या घटेको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले जनाएको छ ।
पछिल्ला वर्षमा दुई लाखका दरले लाभग्राहीको संख्या थपिँदै आएको थियो । सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र माग्न थालिएसँगै शुद्धीकरण भएर लाभग्राहीको संख्या घटेको र यसबाट राज्यलाई करिब चार अर्बभन्दा बढी बचत भएको विभागका अधिकारी बताउँछन् ।
०८०÷८१ मा लाभग्राहीको संख्या ३८ लाख २९ हजार ४८९ थियो । यो संख्या ०८१/८२ को असार मसान्तसम्म घटेर ३८ लाख ६ हजार ६३४ मा पुगेको विभागका महानिर्देशक युवराज कटेलले बताए । ‘अघिल्ला वर्षहरूमा वार्षिक दुई लाखका दरले यो संख्या बढिरहेको थियो । अहिले २२ हजार घट्नु भनेको दुई लाख २२ हजार लाभग्राही घटेको रूपमा लिएका छौँ । ०८०÷८१ सम्म सामाजिक सुरक्षा भत्ता लिनेको संख्या हरेक वर्ष दुई लाखका दरले बढेको तथ्यांक छ । पछिल्ला दुई वर्षयता भत्ता लिनेहरूको राष्ट्रिय परिचयपत्र नम्बर माग्न थालिएको छ । त्यसपछि संख्या बढ्न रोकिएको देखिन्छ । ०७७/७८ मा लाभग्राहीको संख्या ३४ लाख ५५ हजार ४४६ रहेकोमा ०७८÷७९ मा बढेर ३६ लाख दुई हजार ७०५ पुगेको थियो । त्यस्तै, ०७९/८० मा एक लाख ९७ हजार ५७२ बढेर ३८ लाख २७७ पुगेको थियो । ०८०÷८१ मा २९ हजार ४८९ लाभग्राही बढेका थिए । त्यसपछिका वर्षमा संख्या घटेको छ ।
०८१ देखि सरकारले सामाजिक सुरक्षा भत्तासँग राष्ट्रिय परिचयपत्रलाई जोडेको हो । कतिपयले दोहोरो भत्ता लिइरहेको हुन सक्ने भएकाले राष्ट्रिय परिचयपत्र नम्बर माग्न थालिएको र त्यसले दोहोरो भत्ता लिनेको संख्या घटेको हुन सक्ने विभागले जनाएको छ ।
ज्येष्ठ नागरिकले मासिक चार हजार पाउँछन् भने एकल महिलाले दुई हजार ६६० रुपैयाँ पाउँछन् । त्यस्तै, क्षेत्र तोकिएका दुर्गमका बालबालिका र दलित बालबालिकाले मासिक ५३२ रुपैयाँ पाउने गरेका छन् । चालू आर्थिक वर्षदेखि भत्ता पाउने ज्येष्ठ नागरिकको न्यूनतम उमेर ६८ बाट ७० बनाइएकाले आगामी वर्ष यो संख्या पनि घट्ने विभागको आकलन छ ।
