दमक/ शुक्रबार भएको राजसंस्था पक्षधरहरूको आन्दोलन हिंसात्मक बनेको छ । आन्दोलनका क्रममा दूई जनाको मृत्यु भएको भने प्रदर्शनकारी र प्रहरी गरी ३५ जना घाइते छन् । प्रदर्शनकारीले तीनकुनेका स्थानीय घरमा आगो लगाएपछि त्यहाँभित्रबाट लाइभ गरिरहेका एभिन्युजकर्मी सुरेश रजकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
रजक आगजनीमा परेको थाहा भएपछि एभिन्युज टेलिभिजनका सञ्चालक भाष्कर राजकर्णिकारले प्रहरी तथा काठमाडौँको सिडियो ऋषिराम तिवारीलाई पटकपटक फोन गरेको तर उनीहरूले कुनै जिम्मेवार जवाफ नदिएको बताएका छन् । पछि रजक उक्त आगलागीमा नपरेको जवाफ सुरक्षाका अधिकारीले दिएका दिए । तर, अहिले गृह स्रोतले नै घटनामा परी जलेका व्यक्ति एभिन्युजका भिडियो पत्रकार रहेको पुष्टि गरेको छ । यसैगरी प्रदर्शनकारी र सुरक्षाकर्मीबीचको झडपमा प्रहरीको गोली लागेर कीर्तिपुरका सविन महर्जनको पनि गोली लागेर निधन भएको छ । महर्जनको शव महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा राखिएको छ। आन्दोलनमा तीन जना गम्भीर घाइते भएकोमा महर्जनको मृत्यु भएको हो । तीनकुनेमा भएको राजसंस्था पक्षधरको आन्दोलन उग्र बनेपछि प्रहरीले गोली चलाएको थियो। अहिले तीनकुनेलगायत आसपासका कफ्र्यु लगाइएको र नेपाली सेनाले गस्ति गरिरहेको छ । हिंसात्मक गतिविधिमा संलग्न रहेका ५३ जनालाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।
राजावादीहरु एकत्रित भएको तीनकुनेको एउटा घरको छतबाट प्रहरीले अश्रूग्यास प्रहार गरेपछि आन्दोलन नियन्त्रणबाहिर गएको राजावादीको आरोप छ । तर सुरक्षाकर्मीले भने राजावादीहरुले नयाँ बानेश्वरतर्फको निषेधित्र क्षेत्र तोड्न खोजेपछि त्यहाँ राजावादी समर्थकहरू र प्रहरीबीच झडप भएको बताएको छ । सो आन्दोलनको मुख्य कमाण्डर दुर्गा प्रसाईँको पछुवामा हिँड्ने एउटा गाडी प्रहरीको घेरा तोडेर अगाडि बढ्यो । त्यसपछि प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ भने लाठीचार्जसमेत गरेको छ । जवाफमा आन्दोलनकारीले पनि ढुंगा प्रहार गरेका छन् ।
प्रहरीको बलप्रयोगपछि दुर्गा प्रसाईंको टोली पछाडि हट्यो । प्रहरीले बल प्रयोग गरेपछि राजावादीको कार्यक्रम विथोलिन पुगेको छ । प्रदर्शनमा सहभागी हुन पुगेका नेता, कार्यकर्ताहरु कार्यक्रमस्थल बाहिरिएका थिए ।
राजसंस्था पक्षधरको आन्दोलन नियन्त्रणबाहिर गएपछि काठमाडौँमा सेना परिचालन गरिएको छ ।
गृह मन्त्रालयको आकस्मिक बैठक बसेर सरकारलाई गरेको आग्रहपछि तनावग्रस्त क्षेत्रमा सेना परिचालन गरिएको नेपाली सेनाका प्रवक्ता गौरवकुमार केसीले जानकारी दिए ।
राजसंस्था पक्षधरको आन्दोलन नेपाल प्रहरी र सशस्त्र प्रहरीको नियन्त्रणबाहिर गएकोले सेना परिचालनका लागि गृहले आग्रह गरेको केसीले बताए ।
राजसंस्था समर्थकको प्रदर्शनका क्रममा कान्तिपुर टेलिभिजनमा ढुंगामुढा र तोडफोड भएको छ । प्रदर्शनकारीहरूले कान्तिपुर टेलिभिजनलक्ष्यित आक्रमण गरेका थिए । आक्रमणबाट कान्तिपुर कार्यालयमा क्षति पुगेको छ । यस्तै तीनकुनेमै अवस्थित अन्नपूर्णपोस्टको कार्यालयमा पनि आगजनीको प्रयास भएको छ । ढुंगा प्रहार हुँदा अन्नपूर्णको कार्यालयमा पनि क्षति पुगेको छ । यस्तै कोटेश्वरको भाटभटेनीमा पनि प्रदर्शनकारीले तोडफोड गरेका छन् । आलोकनगरको एकीकृत समाजवादीको कार्यालयमा पनि प्रदर्शनकारीले आगजनी भएको छ ।
तीनकुनेमा आगजनी
राजावादी समूहले तीनकुने क्षेत्रमा एक घरमा आगजनी गरेको छ। यसअघि तोडफोड गरेको एक घरमा प्रदर्शनकारीले आगजनी गरेको हो ।
प्रदर्शनकारीले ढुंगा प्रहार गर्दै स्थानीयको घर तोडफोड गरेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो। आगो निभाउन दमकल आइपुगे पनि प्रदर्शनकारीले ढुंगा हानेर आगो निभाउन दिएका थिएनन् । सोही आगोमा परेर एकजना सञ्चारकर्मीको ज्यान गएको छ ।
राजावादीहरुले जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीको कार्यालयमा आगो लगाएका छन् । पूर्वराजा ज्ञानेन्द्र शाहको समर्थनमा भएको प्रदर्शनमा उत्रिएकाहरूले कम्पनीमा आगो लगाएका हुन् । राजावादीका नाममा ठाउंठाउँमा तोडफोड र आगजनी बढेपछि अहिले तीनकुने, कोटेश्वर र सिनामंगलमा प्रशासनले कफ्र्यु जारी गरेको हो ।
व्यक्तिका घर, पसल, सञ्चार गृह र सरकारी सम्पत्तिमा आगजनी बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले तीनकुने क्षेत्रमा कफ्र्यु लगाएको छ ।
तीनकुने क्षेत्रमा अराजकता बढ्दै गएको, सुरक्षाकर्मी र दमकलमाथि नै आक्रमण गर्ने क्रम बढेपछि स्थिति नियन्त्रणमा लिन अघि दिउँसो ४.२५ बजेदेखि राति १० बजेसम्म कफ्र्यु लगाइएको हो ।
गृह मन्त्रालयमा गृहमन्त्री रमेश लेखक, प्रहरी महानिरीक्षक दीपक थापा, काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीसहितको छलफलपछि कफ्र्यु लगाउने निर्णय भएको हो । राजावादी समूहले काठमाडौंको आलोकनगरस्थित नेकपा एकीकृत समाजवादीको कार्यालयमा तोडफोड गरेको छ । प्रदर्शनकारीहरुले पेरिसडाँडामा रहेको माओवादी पार्टी कार्यालयमा समेत आक्रमण र तोडफोडको प्रयास गरेका थिए ।
प्रदर्शनकारीहरुले उनीहरूले तीनकुनेका तोडफोड र आगजनी गरेका थिए । तीनकुनेमा राखेको सभा नसकिँदै राजावादीहरू प्रहरी घेरा तोड्दै अघि बढेपछि अवस्था तनावग्रस्त बनेको छ ।
यसैबीच, आन्दोलनका कमाण्डर दुर्गा प्रसाईं आन्दोलनको हट–स्पट छोडेर भागे । आफ्नै कमाण्डको आन्दोलन तनावग्रस्त भएपछि दुर्गा प्रसाईं ठूलो तनावमा परेका छन् । प्रसाईंकै कारण तीनकुनेमा स्थिति नियन्त्रणबाहिर पुगेको प्रहरी प्रशासनको रिर्पोटिङ छ । उनी आफैं गाडी चलाएर निषेधित क्षेत्र तोड्न उद्धत भएको र प्रदर्शनकारीलाई पनि उक्साएको प्रहरीको बुझाई छ ।
आन्दोलनको चासो
राजावादीहरुको शुक्रबारको आन्दोलन अशान्तपूर्ण बनेपछि के हुन्छ भन्ने चिन्ता र चासो सर्वसाधारणमा बढेको छ । यसअघि संयुक्त जनआन्दोलन मुल समितिले शनिबार आन्दोलन नगर्ने र आइतबारदेखि निरन्तर सडकमा आउने घोषणा गरेको थियो । आज शनिबार घोडेजात्रा पर्व भएकाले आन्दोलन नगर्ने निर्णय समितिले यसअघि गरेको हो । तर, यो निर्णयमा पुनर्विचार हुन सक्ने राप्रपा महामन्त्री तथा संयुक्त जनआन्दोलन परिचालन समितिका संयोजक डा. धवलशम्शेर राणा बताउँछन् । उनले भने, ‘आज घोडेजात्रा हो हामीले नगर भन्या छौं । तर सरकारले जस्तो हरकत र रवैया अपनायो, त्यसले गर्दाखेरि के हुन्छ भन्न सकिँदैन ।’