दमक / पछिल्लो समय संघीयताको अभ्यासमा भएका सरकार परिवर्तनको श्रृखलाले नेपाली राजनीतिक बृत्तमा नयाँ तरङ्ग पैदा गराएको छ । ५ महिनाको अवधिमा पाँच वटा सरकार फेरिएका छन् । भनिन्छ– ‘शासकले सत्ताकै स्वार्थमा सिँगौरी खेल्न थाल्यो भने जनताको समस्या बिर्सन्छ, देशको संवेदनालाई भन्दा कुर्सीकै लडाइँमा बलियो खेमा बनाउने अभ्यास गरिरहन्छ ।’ अहिले नेपालको विकास निमाणको गति र सत्ता परिवर्तनको श्रृखलाले यही भनाइलाई पुष्टी गरिरहेको आभाष हुन्छ । हाम्रो देशको ठूला पार्टीभित्रको वर्तमान रोग खेमाबन्दीमा अल्झिएको सत्तास्वार्थमा अल्झिएको जित र हारको बेरसिलो नृत्यबाट जनता आजित हुन थालेका छन् । यसअघि पनि बेलाबेला हलुङ्गेजसरी तात्दै र सेलाउँदै गर्ने सत्तापक्ष र प्रतिपक्षका विवाद र असहमतिका लप्का यतिखेर सरकार परिवर्तन र मन्त्रीमण्डल हेरफेरमा फलाम जसरी नै तातिरहेका छन् ।
यो पाँच महिनाकै अवधीमा नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले ५ वटा सरकारको नेतृत्व गुमाउन पुग्यो । २०७४ मा भएको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनपछि चारवटा प्रदेश सरकारको नेतृत्व गरेको नेकपा एमाले सोमबारबाट शून्यमा झरेको छ । २०७४ मा भएको संघ र प्रदेशसभा निर्वाचनमा सबैभन्दा ठुलो दल समेत बनेको एमालेले केन्द्रसँगै सातमध्ये चार वटा प्रदेश सरकारको नेतृत्व गुमाउन पुगेको छ ।
गत वर्षको पुस ५ अघि केपी शर्मा ओली अध्यक्ष रहेको नेकपा नेतृत्वमा केन्द्र सरकार र ६ वटा प्रदेश सरकार थिए । नेकपाका ७ वटा सरकारमध्ये केन्द्रसहित ५ वटा सरकारको नेतृत्वमा ओली पक्ष थियो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा हठात प्रतिनिधिसभा विघटन गर्ने निर्णय गरेसँगै केन्द्र र प्रदेश सरकारको नेतृत्वबाट तत्कालीन ओली पक्ष (अहिलेको एमाले)को नेतृत्वमा रहेका सरकारहरू फटाफट ढल्न थाले ।
यसअघि गण्डकी, लुम्बिनी र बागमती प्रदेश सरकारको नेतृत्व गुमाइसकेको एमालेले सोमबारबाट भने प्रदेश १ सरकारको नेतृत्व पनि गुमाउन पुगेपछि शून्यमा झरेको हो । यी चारवटै प्रदेशमा एमाले एक्लै बहुमतको सरकार बनेका थिए । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले सोमबार विश्वासको मतमा छलफल हुनुअघि नै प्रदेश सभालाई सम्बोधन गरेर राजीनामा दिएका हुन् ।
नेकपा एमाले सोमबारबाट पूर्ण प्रतिपक्षको भूमिकामा पुगेको छ । सोमबार प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले राजीनामा गरेसँगै संघीय सरकारदेखि प्रदेश सरकारबाट समेत बाहिरिनु पर्दा एमाले पूर्ण प्रतिपक्षको भूमिकामा सीमित बनेको हो । एमाले र माओवादी मिलेर बनेको नेकपामा आएको विवादपछिको विभाजन तथा त्यसपछि एमालेको माधव नेपाल समूहले छुट्टै पार्टी गठन गरेपछि केन्द्रदेखि प्रदेशमा समेत ठुलो दलका रूपमा रहे पनि सत्ताबाट बाहिरिन बाध्य भएको हो ।
पार्टीभित्रको विवादकै कारण सबभन्दा पहिला एमालेले गण्डकी प्रदेश सरकारको नेतृत्व गुमाउन पुग्यो । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ नेतृत्वको सरकार ७८ जेठ २७ मा ढलेको थियो । त्यसपछि यो प्रदेशमा काँग्रेस नेतृत्वमा ५ दलीय गठबन्धनको सरकार बनेको छ ।
एमाले नेतृत्वको गण्डकी प्रदेश सरकार ढलेको ठीक दुई महिनापछि अर्थात ०७८ साउन २८ मा एमाले नेतृत्वमै रहेको लुम्बिनी प्रदेश सरकार ढल्न पुगेको थियो । यो प्रदेशमा एमाले स्थायी समिति सदस्य समेत रहेका शंकर पोखरेलले सरकारको नेतृत्व गरेका थिए । पोखरेल नेतृत्वको लुम्बिनी प्रदेश सरकार ढलेपछि यो प्रदेशमा पनि ५ दलीय गठबन्धनका तर्फबाट माओवादी केन्द्रका नेता कुलबहादुर केसी मुख्य मन्त्री बनेका छन् ।
गण्डकी र लुम्बिनीपछि एमाले नेतृत्वको बागमती प्रदेश सरकार ढल्न पुगेको थियो । यो प्रदेशमा एमालेले डोरमणि पौडेलको राजीनामा गराएर एमाले उपाध्यक्ष समेत रहेकी अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री बनाए पनि शाक्य नेतृत्वको सरकार समेत धेरै टिक्न सकेन । पौडेलको राजीनामा पछि २०७८ भदौ २ गते मुख्यमन्त्री बनेकी शाक्य ७१ दिनमा कात्तिक १० गते राजीनामा दिएर बाहिरिन पुगेकी थिइन् । शाक्यको राजीनामा पछि यो प्रदेशमा ५ दलीय गठबन्धनका तर्फबाट एमालेबाटै अलग भएर बनेको माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डे मुख्यमन्त्री बनेका छन् । शाक्य नेतृत्वको सरकार ढलेको ५ दिनपछि प्रदेश एकमा शेरधन राईलाई राजीनामा गर्न लगाएर मुख्यमन्त्री बनेका भीम आचार्यको नेतृत्वको सरकार पनि बहिर्गमन भएको छ ।
५८ वर्ष लामो टुटफुटपछि दुई ठूला कम्युनिष्ट घटकको गठबन्धन र एकताबाट बनेको शक्तिशाली कम्युनिष्ट पार्टीको नेतृत्व गर्ने अवसर पाएका ओली अहिले विभाजित एमालेको नेतृत्व गरिरहेका छन् । नेकपा विभाजन हुँदा प्रचण्डसँग उभिएका माधव नेपालले नयाँ दल गठन गर्दा एमालेले पार्टी जीवनकै दोस्रो ठूलो विभाजन खेप्नु परेको छ ।
५५ पार्टी केन्द्रीय सदस्य, २३ प्रतिनिधिसभा सदस्य, आठ राष्ट्रियसभा सदस्य, ५३ प्रदेशसभा सदस्य र १४ सय बढी स्थानीय जनप्रतिनिधि एकीकृत समाजवादीमा लागेका छन् । एमालेका कतिपय नेताहरुले भने विभाजनको क्षति माओवादीबाट आएका रामबहादुर थापा बादल समूहबाट पूर्ति भएको दाबी गरिरहेका छन् । तर तथ्यले भने पुष्टि हुँदैन । माओवादीबाट २३ केन्द्रीय सदस्य, चार प्रतिनिधिसभा सदस्य, २ जना राष्ट्रियसभा सदस्य, ९ प्रदेशसभा सदस्य र १४ जना प्रतिनिधिसभा मात्रै आएका छन् । अर्कातिर एमालेकै संस्थापक र लामो समय पार्टी नेतृत्व गरेका पूर्वप्रधानमन्त्रीहरु झलनाथ खनाल र माधवकुमार नेपाल सहित पुराना नेताहरुले एमाले छोडेका छन् ।
राजनीतिक तालमेल नमिल्दा पाँच महिनामा पाँच सरकार फेरिँदा जनतामा विकासको अनुभूति भन्दापनि राजनीतिक वितिष्णा बढेको छ । यसको अन्त्य गरेर विकास र समृद्धिको यात्रामा अघि बढ्न राजनीतिक दलहरुले साझा प्रतिबद्धता जाहेर गरेर गुमेको जनविश्वासलाई फिर्ता लिन सक्नुपर्छ ।