दमक/ तीनचार दिनयता झापाको दमक नगरपालिकाको उत्तरी क्षेत्रमा जंगली हात्तीको प्रवेशले आतंकनै मच्चिएको छ । साँझको ७ बजेदेखि विहान सबैरैसम्म गाउँबस्तीमा आहाराको खोजीमा आउने र घरगोठ भत्काउनुका साथै खेतमा लगाएको अन्नबाली नष्ट गर्नथालेपछि दमक–२ र ३ का स्थानीयवासी हैरान भएका छन् । दुईतीनदिनको समयमा एक दर्जनभन्दा बढी घर र धानमकै लगायतका अन्नको भण्डार समेत भत्काएर हात्तीले अन्न खाएका मात्र छैनन्, आक्रमणबाट एक जनाको ज्यान समेत लिइसकेको पाइएको छ । हात्तीको यस्तो उपद्रोका बारेमा बुधबार स्थानीय प्रशासन, प्रहरी र दमक नगरपालिका नेतृत्वले प्रभावित क्षेत्रको सघन अनुगमन गरेको छ ।
अनुगमनका क्रममा कतै किसानको भण्डारण गरेर राखेको धान खाइदिएको त कतै बारीको केरा र अन्नबाली नष्ट गरेको पाइएको छ । सोही क्रममा ४५ वर्षीय स्थानीय मिन बहादुर भण्डारीको ज्यान समेत लिएको छिमेकीहरुले बताएका छन् । सो क्षेत्रका पदम ढकाल, इन्द्रमाया बराल, कमल निरौला, चन्द्रप्रसाद गुरागाई, सुदिन भट्टराई, डिकेन्द्र घिमिरे लगायतको घर र विभिन्न संरचनामा नराम्ररी क्षति पु¥याएको स्थलगत अनुगमनका क्रममा भेटियो । प्रथम धिमालको जग्गामा लगाइएको तरकारी बालीमा क्षति पु¥याउनुका साथै केराघारी नष्ट गरिदिएको छ । जंगली हात्ती दुईतीन वटाको संख्यामा साँझको ७ बजेदेखि विहान सबैरैसम्म गाउँबस्तीमा रहने गरेको प्रभावित बासिन्दाहरुले जानकारी गराएका छन् ।
दिउँसोको समयमा भने नजिकैको हंसे दुम्से सामुदायिक वनमा रहेको फोहोर फाल्ने डम्पिङ साइटमा जंगली हात्तीले समय विताउने गरेको पनि उनीहरुको भनाई छ । रातीको समयमा तिनै हात्तीको सानो बथान बस्तीमा पस्ने गरेको पाइएको छ । हात्ती धपाउन आगोको पुल्ठो लिएर जागा बस्ने गरेको दिपज्योति टोलका डिकेन्द्र घिमिरेले बताए । दिपज्योतिसँगै नमुना टोल, दुम्से चौक, लागीगुराँस टोल लगायतका टोलहरुमा जंगली हात्तीले उपद्रो मच्चाउने गरेको छ । प्रभावित सो क्षेत्रको दमक नगरपालिकाका प्रमुख राम कुमार थापा, इलाका प्रशासन कार्यालय दमकका अधिकृत चुडामणि आपगाई, इलाका प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) निशान थापा, दमक नगर सुरक्षा प्रमुख सई रुद्रबहादुर कार्की, स्थानीय संचारकर्मीहरु, सामाजिक व्यत्ति mत्व, सरकारी सुरक्षाकर्मीहरु लगायतको टोलीले अनुगमन गरेको हो  ।
अनुगमनका क्रममा स्थानीवासीको भौतिक संरचना र अन्नबालीमा भएको क्षतिको क्षतिपूर्ति र राहत प्रदान गर्ने वचन दमक नगर प्रमुख थापाले दिए । सो वापत क्षतिको विवरण हेरी न्यूनतम ५ हजारदेखि १ लाख रुपैयाँ सम्म दिने नगरपालिकाको नियम छ । सँधै क्षतिपूर्ति र राहत दिने अवस्था आउन नदिन साथै जंगली हात्तीलाई कसरी बस्तीमा प्रवेश गर्न रोक्ने भनेर सुरक्षाको प्रबन्ध गर्नुपर्नेमा स्थानीयवासी र सरोकारवालाहरुको चासो रहेको छ । त्यसका लागि एकाधदिन भित्रै सो क्षेत्रमा रहेको प्रहरी सुरक्षा चौकीमा जनशक्ति थप्ने र दिउँसो तथा रात्रीको समयमा साइरन सहितको प्रहरी गस्ती गर्ने निक्र्यौलमा अनुगमन टोली पुगेको छ ।
प्रभावित र पीडितहरुले रात्रीको समयमा दिनहुँ आगोको पुल्ठो बालेर जागा बस्नुपर्दा राज्यको उपस्थिति नभएको हो कि भन्ने भान परेको बताएपछि दमक नगर प्रमुख थापाले प्रहरी र प्रशासनको परामर्शमा यस्तो व्यवस्था गर्न तयारी गरेर जतिसक्दो चाँडो सो क्षेत्रमा सरकारी सुरक्षाकर्मीले नै गस्ती गर्ने सुनाए । इलाका प्रहरी प्रमुख थापाले पनि त्यसका लागि आफूहरु पनि तयार रहेको भन्दै साइरन सहित गस्ती गर्ने व्यवस्था हुने आश्वासन स्थानीयवासीलाई दिएर अनुगमनबाट फर्किए । अनुगमनका क्रममा नगरपालिकाले भने साइरनजडित मोटरसाइकल लगेको थियो । सो साइरनजडित मोटरसाइकललाई गस्तीका क्रममा खटाइने पनि जानकारी गराइएको छ ।
पूर्वी नेपाल अझ त्यसमा पनि झापाको उत्तरी क्षेत्रमा जंगली हात्तीले वर्षौंदेखि सर्वसाधारणलाई दुःख दिँदै आएको छ । यो समस्या दमकमा मात्र होइन, कमल गाउँपालिकाको उत्तरी क्षेत्र केर्खा, कमल, सितापुरी, सिम्ले, गुह्येश्वरी लगायतका क्षेत्रमा पनि चर्को रहेको छ । सितापुरीमा पूर्वपश्चिम राजमार्ग छेउका बासिन्दाहरु रात्रीको समयमा उत्तरको जंगलमा आगो बालेर बस्ने गरेका छन् । कतिखेर हात्ती आउला र उपद्रो गर्ला भनेर उनीहरुको निन्द्रा खलबलिने गरेको छ । दमकमा भने एकजना किसानको पानी तान्ने मोटरनै हात्तीले उत्काइदिएको छ । हात्तीको उपद्रो नियन्त्रण गर्न जिल्ला प्रशासनले वर्षौंदेखि नेपाली सेना परिचालन गर्ने, विद्युतीय तारबार लगाउने जस्ता अनेकन उपायहरु अपनाइसकेको छ । तर पनि वर्षेनी हात्तीले दुःख दिने काम नरोकिँदा यसको दीर्घकालिन समाधानका लागि भनेजस्तो उपाय कहिले फेला पर्ला भनेर सोच्ने दिन आएको छ ।

Author

You may also like