देश–समाज सम्पादकीय स्थानीय

माघे संक्रान्तिमा मनाइने सांस्कृतिक पर्व माघी

आज माघ १ गते माघे संक्रान्तिको दिन । जाडोलाई स्वागत गर्दै देशभर माघे संक्रान्ति मनाउने गरिएको छ । आजै पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका थारु समुदायको पवित्र र उल्लासको सांस्कृतिक पर्व माघी पर्व (नयाँ वर्ष) हर्षोल्लासका साथ मनाउने प्रचलन रहि आएको छ ।
एकातिर माघे संक्रान्तिको अवसरमा पिता पुर्खाहरुको पालादेखि नै चलनचल्तिमा रहेको सामाजिक तथा आर्थिक दृष्टिकोणबाट महत्वपूर्ण पर्वका रुपमा लिइन्छ । यो पर्व स्वास्थ्य र समाजसँग एकाकार छ । जाडोयामको एक निश्चित परिवर्तनलाई यो पर्वले संकेत गर्ने गर्दछ भने ज्योतिषीय विज्ञानले पनि यसलाई मान्यता दिएर सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गर्ने दिनको रुपमा लिने गरिन्छ । यो दिनदेखि सूर्य दक्षिणी गोलाद्र्धबाट उत्तरी गोलाद्र्धतर्फ प्रवेश गर्ने गर्दछ । यो पर्व खानपानसँग सम्बन्धित पनि छ । जंगली कन्दमुलहरु तरुल, घिउ, चाकु, तिलको लड्डु, खिचडी आदि खाइन्छ । ग्रामिण समाजमा के पनि प्रचलन छ भने, आफ्नो घरमा पकाएको खानेकुरा छिमेकीकहाँ बाढीचुडी खाने । यतिबेला घिउ, चाकु, तिलको लड्डु खाइन्छ, जसले शरीरलाई जाडोसँग जुध्न सहयोग गर्छ । अर्थात जाडोमा शरीरलाई न्यानो दिलाउनका लागि यी खानपान उपयोगी हुन्छ ।
सामाजिक सद्भाव र एकअर्काको साथ र सहयोगको भावनाबाट बनेका परिकार गाउँभरि बाँडेर खाने प्रचलन पुरानो हो । यसको अर्थ संभवत यो सिजन खाद्य संकट हुने र त्यसलाई टार्नका लागि आपसमा बाँढीचुडी खाने मान्यतामा आधारित छ ।
यस्तै पुसको अन्तिम दिनदेखि मनाउन सुरु गरिएको माघी पर्वले थारु समुदायमा छुट्टै पहिचान र अस्तित्व कायम गरेको छ । यस कारणले पनि झापाका केही पालिकाले सार्वजनिक बिदा दिएर माघी पर्वमा हर्षोल्लासका साथ रमाउने वातावरण मिलाई दिएको छ । खासगरेर माघी पर्व पूर्व अर्थात नयाँ वर्ष झापादेखि पश्चिममा कञ्चनपुरसम्म २० जिल्लामा बसोबास गर्ने थारु समुदायको पवित्र सांस्कृतिक पर्व हो । यो समुदायको नयाँ क्यालेण्डर पल्टाउने दिन छुट्टै संस्कार र संस्कृति रहि आएको छ । हरेक वर्ष पुसको अन्तिम दिनबाट माघ २ गतेसम्म थारू समुदायले माघी पर्व मनाउने गरेका छन् ।
माघी थारू समुदायको सबैभन्दा ठूलो पर्व भएकाले धुमधामका साथ मनाउन साताअघि नै उनीहरुको तयारी हुने गर्छ । दुई चार दिनअघिदेखि काम छाडेर खानपीन मात्र गर्छन् । ढिक्री माघीमा खाने महत्वपूर्ण परम्परागत परिकार हो जुन चालमको पिठोबाट बनाइन्छ ।
माघीलाई थारुहरुको मौलिक संस्कृतिले भरिएको सबैभन्दा ठूलो पर्व भएकाले पनि तराईमा यसको महत्व बढी हुने गर्दछ । तराईका धर्तीपुत्रका रुपमा थारु समुदाय परिचित भएको र यही समुदायको मुख्य पर्व भएकाले पनि अन्य समुदायले समेत तराईमा यसलाई भव्य रुपमा मनाउन थालेका छन् । त्यसो त तराईमा अहिले मिश्रित बसोबास भइसकेको छ ।
माघीको अघिल्लो दिन मासुको जोहो गरेर औपचारिक रुपमा माघीको सुरुवात हुने गर्दछ । थारु समुदायले आज रातभर मछौटा र ढुम्रा गीत गाएर मनाउने गर्दछन् । रातभर ढुम्रा गीत गाएका थारु समुदाय बिहान सबेरै नजिकैको नदी तालमा पुगेर विधिअनुसार स्नान गरी घर फर्किन्छन् र चेलीबेटीका लागि निसराउ तयार गर्दछन् ‘निसराउ’ चामल, नुन, उर्दलगायतको एक प्रकारको कोशेली हो । तराईका विभिन्न पालिकामा माघी महोत्सवमा थारु संस्कृति झल्कने परम्परागत हस्तकला प्रदर्शनी, पहिरन, भेषभुषा, थारुहरुको मौलिक खानाको परिकार घोंघी, ठिक्रीलगायत फुड फेस्टिवल एवं सांस्कृतिक झाँकी, नाचगान जस्ता कार्यक्रम शुरु भएका छन् । थारु समुदाय कला संस्कृतिको दृष्टिकोणले अत्यन्तै धनी मानिने भएकाले पनि सास्कृतिक कार्यक्रमलाई बढी महत्व दिइन्छ । संस्कृतिको संरक्षण र सम्बद्र्धनका लागि थारु समुदायलाई सबै क्षेत्रबाट सहयोग हुन जरुरी छ । पछिल्लो समय माघी पर्व थारु समुदायको पर्व मात्रै नभएर आमनेपालीको पर्वको रुपमा विकसित भएको छ । यसले सबै समुदायको अपनत्व लिओस्, सबै पर्वहरु सबै समुदायले सामुहिक भावनामा मनाउने संस्कृतिको निर्माण गरौं, माघी पर्वको हार्दिक शुभकामना ।

Author

You may also like