देश–समाज राजनीति राष्ट्रिय समाचार

एमालेको काठमाडौंमा आयोजित शक्ति प्रदर्शन : सिध्याउने र चोखिने मै सीमित

दमक । नेकपा एमालेले काठमाडौंमा जागरण सभा हात्ति आयो हात्ति आयो फुस्सा भएको छ । सत्तापक्ष दल एमालेको सो जागरण सभा विगत झैं विरोधीलाई सिध्याउने र आफुलाई लागेका आरोपबाट चोखिने रणनीतिमा केन्द्रीत रह्यो । सत्तामै रहेको एमालेले सडकमा कार्यकर्ता उतारेर गरेको शक्ति प्रदर्शनको औचित्यमाथि धेरैले प्रश्न उठाएका थिए ।
मुलुकमा बढ्दो अराजकता र अस्थिरताविरुद्ध लोकतन्त्र, शान्ति, राष्ट्रिय एकता, सामाजिक सद्भाव, सुशासन, समृद्धि र विकासका लागि विधिको शासन र कानुनी राजका पक्षमा जनमत निर्माण गर्न एमालेले जागरण सभा गर्ने भनेको थियो ।
प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले जागरण भनिएको सभालाई प्रष्टीकरण सभामा बदले ।
विशेष गरी प्रधानमन्त्री ओली र एमालेमाथि नै पछिल्ला समय उठिरहेका प्रश्न र आरोपमाथि केन्द्रित रहेर उनीहरूले ६ वटा प्रष्टीकरण दिएका थिए । पहिलो, सरकारको आयु र नेपाली कांग्रेससँगको गठबन्धन, दोस्रो, कम्बोडियामा ओलीको लगानीबारे लागेको जघन्य आरोपबारे, तेस्रो, ओलीले ’चिनियाँ कार्ड खेलेको’ प्रचण्डको अभिव्यक्ति, चौथो, रवि लामिछाने जोडिएको सहकारी बचत अपचलनबारे, पाँचौं, कुलमान घिसिङबारे र छैटौं, एमाले नेताहरू जोडिएका काण्डबारे स्पष्टिकरणको थलोमा रुपान्तरण गरियो ।
लाखौं जनता उतार्ने रणनीतिका साथ सरकारमा रहेको पार्टीको गरेको कार्यक्रम निकै अस्तव्यस्त थियो । अरुको ¥यालीलाई एकठाउँबाट हलचल गर्न नदिइने, हलचल गरे डण्डा बर्साउने गरिएको थियो । भद्रकालीबाट सुरू भएको ¥याली सुन्धारा, वीर अस्पताल, रत्नपार्क घन्टाघर हुँदै दरबार मार्गमा पुगेर सभामा परिणत भएको थियो ।
यतिखेर एमाले सत्तारुढ छ, कांग्रेसलाई सत्ताको प्रमुख सहयोगी घटक बनाएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली सरकारको नेतृत्वमा छन् । सानो संख्यामा विपक्ष रहेका छन तिनीहरुको आवाज विभिन्न तरिकाले दबाउने रणनीति लिएको छ ।
त्यही एमालेले शुक्रबार अनौठो रमिता देखायो सडकमा ! शक्ति सडकमा प्रदर्शन गर्नुको उद्देश्य के हो ? त्यो शक्ति कसलाई देखाउन खोजेको हो ? गतिलो जवाफ नेतृत्ववृत्तले आमसभामा दिनै सकेनन् अरुको उछितो काढ्ने, ढाडस दिने, पख्लास भन्ने र आफुलाई लागेका आरोपमाथि आरोपै होइ नझै गरी स्पष्टिकरण दिने काम सो सभाबाट भएको छ । त्यही एमाले प्रतिपक्षमा रहँदा सडकदेखि सदनसम्म तताउने नारा लगाउँथे । सरकारमा रहँदै गर्दा पनि उसले सडकमा शक्ति प्रदर्शन ग¥यो, काठमाडौंको मुख्य चोकमा चारैतिर सडक थुनेर, नागरिकलाई दिनभर सास्ती दिँदै ¥याली घुमायो ।
शक्ति प्रदर्शनको मूलभूत उद्देश्य सरकारले पक्राउ गरेका व्यक्तिका ‘कर्तुत’को खण्डन गर्नू रहेको देखियो । सभामा एमालेका दुई शीर्ष नेता महासचिव शंकर पोखरेल र अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरे ।
सरकारको नेतृत्व लिएको दल जसले आशाको त्यान्द्रो देखाउँला । सदनमै भन्ला– डेढ वर्षमा मुलुकलाई यो अवस्थामा पु¥याउछौँ । अर्थात् गठबन्धनले ०८४ सम्म मुलुकको आर्थिक अवस्था, सामाजिक अवस्थामा यसरी सुधार गर्नेछ भन्ने अपेक्षा राखेका समर्थक पनि निराश भए । पम्प्लेट र पोष्टरमा निकै ठूलो आशा जगाउने झै गरी बनाइएका भए पनि अन्ततः नागरिकलाई आशा जगाउने सवालमा न त पार्टीका महासचिवले धारणा राखे न त सरकारको नेतृत्व गरेका प्रधानमन्त्री ओलीले नै । आम नागरिक त्यो कार्यक्रमबाट न भुतो न भविष्यती केही देखेनन ।
एमालेले सभाको आयोजना गरेर केवल दुईवटा सन्देश दियो । एउटा हो– एमाले कमजोर छैन । कुनै पनि पार्टीले जति सडकमा आफ्ना कार्यकर्ता उतार्न सक्छ भन्ने र सभाको अर्को सन्देश थियो– एमालेको विरोध गर्नेलाई कुनै पनि स्थान रहने छैन । त्यो सँगसँगै दरबारअघि उभिएर ‘हैसियत’मै नरहेका दरबारिया शक्तिलाई जगाउने काम एमालेले ग¥यो । त्यसो त, कम्युनिष्टहरु शास्त्रअनुरुप ‘दुश्मन’ चाहिन्छ नै, त्यो कुसको नै किन नहोस् । एमालेले शक्ति प्रदर्शन र नेतृत्व वृत्तको बोलीमा ‘दुश्मन’ खोजी गरेको हो कि आभास हुन्थ्यो । नत्र बेला–कुबेला शक्ति प्रदर्शन गर्नुको अर्थ नै थिएन ।
दुवै शीर्ष नेताले दुई दिनअघि निवासबाटै पक्राउ परेका एक विवादित व्यापारी दुर्गा प्रसाईंकै बदख्वाइँमा बिताए । तिनले एमाले अध्यक्षमा लगाएको आरोपको जवाफ उनीहरुले सभाबाट दिए । आफुहरुमाथि लागेका आरोप निराधार, कपोलकल्पित र फेक भएको बताए तर त्यसलाई छानविन गर्नुपर्ने कुनै कुरा उठाएनन् । राज्यका निकायले छानबिन गर्नुपर्ने विषय सभामार्फत् एकपक्षीय धारणा सार्वजनिक गरेर ढाकछोप गर्ने प्रयास एमालेले गरेको छ ।
जसलाई राज्यकै एउटा निकायले पक्राउ गरेर कानुनी दायरामा ल्याइसकेको छ । अनुसन्धान सुरू भएको छ । सत्य तथ्य बाहिर ल्याउने दायित्व सरकारकै हो ।
दुर्गा प्रसाईंले कम्बोडियाको एक टेलिकम कम्पनीमा केपी शर्मा ओलीको २१ करोड अमेरिकी डलर लगानी भएको भिडियो बनाएर प्रचार थालेका थिए । उनी यतिखेर प्रहरी हिरासतमा छन् । “कम्बोडियामा २१ हजार करोड डलर भन्दिए भो !,” आक्रोशित ओलीले सम्बोधन गर्दै भने, “त्योमात्रै किन अमेरिकाका बैंकको आधा सम्पत्ति मेरो हो । भन्नलाई भनेर मात्रै हुन्छ र ?”
बैंकको ऋण लिएर नतिरेको, उद्यमी र व्यवसायीलाई खेद्नुपर्छ भन्ने अभियान चलाएको, अर्थतन्त्र ध्वस्त पार्न लागिपरेको भन्दै आफ्नै आदेशमा पक्राउ परेका व्यक्तिविरुद्धमा प्रधानमन्त्रीले सडकमा उभिएर सार्वजनिक धारणा राखे ।
ओलीले प्रसाईंमात्रै होइन रास्वपा सभापति रवि लामिछाने र कुलमान घिसिङविरुद्ध पनि सार्वजनिक मञ्चबाटै दुत्कार्ने काम गरे । लामिछाने कास्की प्रहरीको हिरासतमा छन् । उनैप्रति टिप्पणी गर्दै ओलीले ‘सहकारी ठगले अझ गाली गर्ने !’ शैलीमा आलोचना गरे । “आफैँ सहकारी ठगी गर्ने अरुलाई गाली गर्ने ?,” ओलीको टिप्पणी थियो ।
कुलमान घिसिङ ऊर्जा मन्त्रालयअन्तर्गतको एउटा कार्यालयको प्रमुख हुन् । कार्यकारी प्रधानमन्त्रीले उनलाई समेत विश्वासमा लिन नसक्ने देखेपछि सडकबाटै आलोचना गर्न भ्याए ।
“केही उद्योग बाँकी छन् चलेका, तिनैको बक्यौता नउठाउने तर लाइन काट्ने ?,” ओलीको प्रश्न थियो, “मिटरको बिलअनुसार तुरुन्त पैसा असुल गर ।” ओलीले यति भन्न ‘शक्ति देखाउनुपर्ने’ जरुरत थिएन ।
त्यसबाहेक सरकारको नेतृत्वमा रहेका ओलीले कसैको नाम नलिई लक्षित गर्दै भने, “कसैले आफ्ना सात पुस्तालाई सम्पत्ति थुपारेर गोरु बेचेको साइनो नभएका व्यक्तिलाई अर्बौँको मालिक बनाएको छ । हामी बहस गर्न चाहन्छौँ ।”
यदि यस्तो काम कसैले गरेको छ भने नेपालको कानुनअनुसार ऊ सजायको भागिदार हुन्छ । त्यस्ता पात्रहरुको सम्पत्ति छानबिन गर्न आयोग बनाउने हो या भएका आयोग या सम्पत्ति शुद्धीकरण विभागलाई छानबिन लगाउने हो, त्यो दायित्व उनैका हो । अझ सम्पत्ति शुद्धीकरण विभाग त प्रत्यक्ष रुपमै प्रधानमन्त्री मातहत छ । सरकारले त्यस्ता अवैध धन राख्ने पात्रबारे बहस चलाउने होइन कि अनुसन्धान गरी अभियोग लगाउँदै सजाय दिलाउने हो ।
उनले आफु अति नै इमान्दारिता रहेको प्रष्ट्याउँदै अबको १८ महिनामा सत्ता देउवालाई सुम्पिने भन्न समेत भ्याए ।
“कान खोलेर सुने हुन्छ सबै कुरा बुझे हुन्छ ०८४ सम्म गठबन्धन कायमै रहन्छ,” उनले भने, “०८३ असारमा शेरबहादुर देउवाजीलाई सरकार जिम्मा लगाउँछु । अब मैले १८ र शेरबहादुर देउवाजीले १८ महिना सरकार चलाउछौँ ।”
महासचिव शंकर पोखरेलले एमालेमाथि निरन्तर प्रश्न उठिरहेका विषय ओम्नी, यती र गिरिबन्धुलगायतमा एमाले र आफ्ना नेता निर्दोष रहेको दाबी गर्दै बचाउ गरे । तर प्रतिपक्ष दलले झैँ एमालेले सडकमा रमिता देखाएर जनतालाई दिएको सास्ती केवल प्रसाईं प्रवृत्तिविरुद्ध मात्रै केन्द्रित थिएन आफ्ना कमजोरी ढाकछोप गर्ने प्रयास पनि थियो ।

Author

You may also like