अन्तर्वार्ता मुख्य

दमकका जीउँदो इतिहास : मेघराज तिम्सिना

मेघराज तिम्सिना दमकको जीउँदो इतिहास हुन् । उमेरको हिसाबले उनीभन्दा पाका मानिसहरु पनि दमकमा धेरै होलान् । तर यहाँको शिक्षा, साहित्य र राजनीति तथा विकास सम्बन्धी इतिहास अरुबाट पाउन शायदै मुस्किल छ । तर मेघराज तिम्सिना दमकका हरेक क्षेत्रसँगको आवद्धता तथा हेक्का राखेकै कारण उनको जीवनको उतार–चढावलाई गाँसेर दमकको विकाससम्बन्धी उनका भोगाईलाई आधार बनाएर खगेन्द्र कार्कीले गरेको कुराकानीमा आधारित सामग्री ।

औलोको जगजगीको अवस्थामा ८ कक्षा पढेर दमकमा शैक्षिक, साहित्यिक तथा सामाजिक क्षेत्रबाट छिरेको ठिटोलाई जबरजस्ती समाएर २०१८ सालमा ५० रुपैयाँ मासिक पारिश्रमिकमा शिक्षक बनाएपछि शिक्षण पेशा सुरु गरेका मेघराज तिम्सिना आज दमकका प्रतिष्ठित् व्यक्तित्वमा गनिन्छन् ।
तिम्सिना पाँचथर जिल्लाको हिलिहाङ गाउँपालिका (साविक सुभान गाउँपञ्चायत) ७ मा वि.सं. १९९८ सालमा जन्मिएका बुबा देवी प्रसाद, आमा मधुन्धराका ९ सन्तान मध्येको माइलो छोरा हुन् ।
पढ्नका लागि झोलामा चामल बोकेर एक दिन भरि हिंडेर आठराई पुगेर कष्टकर ८ कक्षासम्मको पढाई गरेपछि परिवारसँग बाउँठिएर उनी मधेस झरेका थिए । दमकमा ८ कक्षासम्म पढेको ठिटो देखेपछि शिक्षकको अभावमा छट्पटाइरहेका त्यसबेलाका दमकको हिमालय माध्यमिक विद्यालयले शिक्षक त भेटायो तर टिकाउन भने सकेन । ६ महिना शिक्षण पेशा गर्दा पनि तलब नपाएपछि उनको मन फेरी बहलाउन थाल्यो । विद्यालयले तलब दियोस् पनि कसरी १०÷१२ जना शिक्षक भएको स्कुलमा एक सुका पैसा थिएन । अनि तिमल्सिनाले तत्कालिन उपप्रधानपञ्च वेदप्रसाद सिटौलासँग दुखेसो पोखे । सिटौलाले तुरुन्तै उनको दुखेसोको सुनुवाई गरेर तत्कालिन स्कुल सचिव नारायण ढकाललाई बोलाएर तलब विषयमा कुरा राखेपछि ढकालले उल्टै उपप्रधानपञ्चसँग ३ सय ऋण मागेर तलब दिएकोे अनुभव बताउँछन्–तिम्सिना । त्यस बेलाको आफ्नो जीवनले भोगेका भोगाइहरु सुनाउँदै उनले भने– त्यसपछि ३ सय बोकेर काठमाडौंतिर बरालिएर एक महिनापछि धरान कक्षा ९ मा पढ्ने मनसायले फर्किए । जसोतसो १० कक्षा चढेको मात्र के थिएँ, बाल्यकाल बिताएको स्कुलको बहुतै याद आयो र फेरी जन्मठाउँ पाँचथरको आठराईको विद्यालयबाटै एसएसली पास पनि गरे ।
त्यसपछि गाउँको प्राइमरी स्कुल हुँदै विभिन्न विद्यालयमा अध्यापन गराउँदै भारतबाट इन्टरमिडिएट पनि गरे । फेरी घुम्दै, डुल्दै रुम्जाटार भने झै झापाको दमकसँग २०१८ सालमा गाँसिएको न्यानो माया फेरी जोडिने वातावरण बन्यो र हिमाबिमै दोस्रो पटक २०२२ सालमा पुनः शिक्षक बन्ने सौभाग्य पाएँ ।
आईएसम्म पढेको व्यक्ति बढुवा हुने आश र अपेक्षा गर्दै अध्यापन गराईरहेको थिए । अप्रत्यासित रुपमा २०२८ साल जीवनकै कठिन वर्षका रुपमा उभिएको अनुभुति सुनाउँदै तिम्सिनाले भने– २०२८ सालमा एउटा काण्ड आयो– रमाइलो झोडा सुकुम्बासी काण्ड
 झगडाको चर्चाहरु धेरै आइरहेका थिए । हामी पनि शुक्रबार बेलुकी स्कुल छुट्टी भएपछि १०÷१२ जना शिक्षकहरु मिलेर हेर्न पुग्दा घेरामा परेको पत्तै भएन । कराई टोलीवाला मिल्ट्रीले मान्छेलाई घेर्ने र हान्ने गर्न थाले । अब यहाँ बसेर पार लाग्दैन भनेर भाग्दा भाग्दै मलाई गोली लागेर घाइते बनायो । तै पनि कसोकसो गरेर घाइते अवस्थामै घर आइ पुगेछु । घर आइपुगेपछि हाते पर्चा निस्कियो । एक मात्र त्यसबेलाका डाक्टर एबी क्षेत्री थिए । तिनले राती राती यहाँ आएर डे«सिङ गर्ने, दबाई गर्दिने काम गरे । पुलिसले वारेन्ट ग¥यो । गोली लागेर बेपत्ता ‘मेघनाथ तिम्सिना भनेर नाम निस्किएको थियो ।
नाम मेघराज भएकाले पक्राउ हुनबाट त बचियो तर त्यही काण्डले २०२९ सालमा जागिर खाइदियो । जागिर गएपछि त्यसको कुनै कारवाही गर्ने मनस्थितिमा म पुगिन । १२÷१४ वर्ष जागिर खाईहालियो अब भैगो भनेर चुप लागेर बसे । अनि केही काम त गर्नै पर्छ भनेर केही महिनापछि एउटा पुस्तक पसल वि.सं. २०३९ सम्म चलाए । चुलाचुली पुस्तक पसल नाम गरेर चलाएको थिए । राम्रो चल्थ्यो । पाठ्यपुस्तकको एजेन्सी थियो । गोरखापत्र दैनिक, मातृभूमि, नयाँ सन्देश, राष्ट्रपुकारको एजेन्सी लिएर व्यापार गरे । पत्रकार नभए पनि पत्रकारको काम पनि गरे । पत्रकारको अभावको बेलामा राससमा समाचार पठाउँथे तर पत्रकारितातिर हात हालिन ।
धेरै ठाउँमा प्राध्यापन पेशा गरियो । शिक्षा मन्त्रालयसहित झण्डै डेढ दर्जनले सम्मान गरेका प्रशंसापत्रहरु छन् । जागिर नभएपछि के गर्ने भन्ने चिन्ता भईरहेको बेला पञ्चायतको चुनाव आयो । बलभद्रजीले चुनाव लड्ने भए । म उपप्रधानपञ्चमा झिनो मतान्तरले हारे । पछि फेरी हरि न्यौपानेसँग दोस्रो भएँ । त्यसपछि सामाजिक कर्ममा लागे । नगरपालिकाको गाउँसभाषद् भएँ २०३३ सालमा । ५ वर्ष त्यहाँ बसे । त्यही अवधिमा दमकमा साहित्यिक प्रतिष्ठानको सुरुआत गरे । त्यो पहिलो साहित्यिक प्रतिष्ठान थियो । धनबहादुर श्रेष्ठ प्रधानपञ्च । त्यति खेर साहित्यिक संस्था दर्ता गर्ने प्रावधान थिएन । अनि सिडियो कार्यालयमा गएर अनुनयविनय गर्दै तीन पटक जाँदा बल्ल बल्ल मौखिक स्वीकृति दिइयो । पञ्चायतको नाम नराखी खोल्न पाइँदैन । पञ्चायतको नाम राखेर पञ्चायत पुस्तकालय तथा वाचनालय भनेर खोल, आदेश भो भनेर सिडियोले आदेश दिए । अनि आएर धनबहादुरलाई अध्यक्ष बनाएर म सचिव भएर दमक नगरपालिका अन्तर्गत पञ्चायत लाइब्रेरी तथा वाचनालय नामक संस्था गठन गरेर सबैभन्दा पहिला साहित्यिक जमर्को ल्याउने नै मै हुँ । नागबेली भन्ने एउटा सामूहिक संकलन गोविन्दराज भट्टराई, कृष्ण दंगाल र मसमेत तीन जना भएर सम्पादन गरेर एउटा पुस्तक निकाल्यौ २०३६ सालमा आइपुग्दा ।
यसपछि त्यो लाइब्रेरीमा १८÷१९ सय पुस्तक भेला गरेका थिए । त्यो पनि राम थापाका पालामा आइपुग्दा कता गए, के भए । अहिले त्यहाँ पञ्चायत लाइब्रेरी भनेर राखेका छन् तर त्यहाँ पत्रिका बाहेक केही पाइँदैन । त्यस्तो अवस्था गुजार्दै गुजार्दै अब के गर्ने त भन्दै जाँदा सामाजिक क्षेत्र मै कार्यरत रहन्छु भनेर प्रतिज्ञा गरे । पहिला त गाउँसभासद् भइयो ५ वर्ष, त्यसपछि २०४२ सालमा स्कुलको सञ्चालक समितिको सदस्य भए, शेरबहादुरजी अध्यक्ष थिए । २०५९ देखि त्यही हिमाबिको सञ्चालक समितिको अध्यक्ष भएर ३ कार्यकाल स्कुलको सुधारमा विदुरजीलाई काँध हाले । विदुरजी हेडमास्टर हुनुहुन्थ्यो । चैत्र, वैशाखमा पनि साइकल लिएर घुमेर आर्थिक संकलन गर्न त्यो १० जोड २ सञ्चालन गर्ने भइयो । त्यो कार्यकाल सम्पन्न गर्न काठमाडौंमा मलाई नै पठाए । गोविन्दजी युनिभर्सिटीमा हुनुहुन्थ्यो । उहाँ मार्फतबाट सबै कुरा गरेर १० जोड २ मैले ल्याएँ । १० जोड २ चलाएर विज्ञान संकायसम्म चलाइयो । ९ वर्ष हुँदा त्यो स्कुलको गतिविधि सुध्रियो । स्कुलका ३÷४ वटा विल्डिङ पनि तयार भए । पशुपति मन्दिर व्यवस्थापनमा २० वर्ष रहे । सनातन धर्म सेवा समितिको जिल्ला उपाध्यक्ष, स्थानीय शाखाको सचिव भए, काशीनाथ कट्टेल अध्यक्ष थिए । यस्तै सामाजिक कार्यक्रममा दौडधुप धेर गरियो । अनि एक पटक गाइ काण्ड आयो । त्यो काण्डमा नाराजुलुस गरेर हिंडियो । दुग्ध सहकारी सञ्चालनको प्रयास पनि भयो । त्यसमा पनि संघर्ष नै गर्न प¥यो । धेरै संघर्षका कुराहरु छन् । २० वर्ष पशुपति मन्दिरको व्यवस्थापनको सचिव म बसेको यस पटक जवरजस्ती राम थापाले हटाएर आ–आफ्ना मान्छे राखेर आफै अध्यक्ष बने । बैठकमा लेख्न मलाई नै लाए । उनीहरुले जे जे भन्छन् त्यही लेखिदिए । मलाई बस्छस कि बस्दैनस, त्यो पनि सोधेनन् । आफ्ना पक्षका बुढापाका राखेर समिति बनाएका छन त्योपनि राम्रै छ । मन्दिर सुधार भयो । नयाँ बनो त्यो खुशीको कुरा हो । मलाई कुनै जिम्मेवारी छैन, तर खाली म प्रायः हुँदिन । जुनसुकै सामाजिक काममा मलाई अवगत गराउँछन् । गराउँथे, अब चाहि उमेर र स्वास्थ्यको कारणले पनि गराउँदैनन होला । साहित्यिक क्षेत्रमा पनि २५ वर्ष प्रतिभा निकेतन चलाएर पैसा नभएको संस्था, दुःखले वर्षमा एउटा अंक जर्बजस्ती गर्दै १९ वटा अंक निकाल्न सफल भएँ अब भने त्यो काम पनि छोड्दिएँ ।
दमकको त्यो बेलाको इतिहासको स्मरण गर्दै उनी भन्छन्–२ वटा च्यादरका घर थिए । रघुविर बुढाथोकी र रेवन्त बहादुर कार्कीको घर । दाजुलाल बनियाँको एउटा सानो टहरो थियो । ४ बजे बजार लाग्थ्यो बुधबारे हटिया यहाँ । २००६ सालदेखि बुधबारे हटिया सुरु भएको रहेछ । रतुवाको किनार भएकोले ८ सालमा बजार खोलाले बगायो । मझेनी बुढीको ११ कट्ठा जग्गामा बजार बसेको थियो । बट्टिकर उठाएर खान्थे । यहाँका नेताहरु त्यतिबेला खोप्पी खेल्ने ठाउँ थियो त्यो । चारआना, अठाना पैसा लगेर हाटखोलामा खोप्पी खेल्थे । नारायण ढकाल, कृष्णलाल न्यौपानेलगायतका भेला भएर खोप्पी खेल्थे । १८ सालमा राजा महेन्द्रले यहाँको बाटो हुँदै ताराबारीको बगान पु¥याए । पछि त्यही नै राजमार्ग बन्यो । यहाँको त्यसबेलाका प्रधापञ्च किसानलाल ताजपुरिया २००८ साल, रेवन्त बहादुर कार्की २०१३ सालको प्रधानपञ्च, नरेन्द्र राउत २०१८, माबुलाल धिमाल २०२२, २०३६ सालमा धनबहादुर त्यसपछि बलभद्र, २०४६ को परिवर्तनछि इन्द्र बुढाथोकी र अहिले राम कुमार थापाले दमकका जनताको अभिभावकत्व निर्वाह गरिरहेका छन् । टिके मेयर पनि भएका छन् । राम थापा, भण्डारी टिके मेयर भएर नगरपालिका चलाए । अहिलेसम्म १३ वटा प्रधानपञ्च, मेयरले दमक चलाए । पुस्तक नै लेख्नका लागि तिनीहरुसँगका अन्र्तवार्ता र टिपोट अझै सुरक्षित छन् । यो किताब पनि निकाल्ने रहर थियो तर अब पछि सोच्नुपर्ने भएको छ । अहिले स्वास्थ्य अलि बिग्रिएको छ ।
२०१४ साल भन्दा अगाडि यो जंगलैजंगल । दमकको क्षेत्रफल ठूलो थियो । दमक मावादेखि ग्वालडुवासम्म थियो । जनसंख्या पातलो, मधेसीमूलका समुदायको बाहुल्यता भएको बस्ति । जनसंख्या नपुगेर ग्लालडुब्बासम्म प¥याइएको थियो । पूर्वमा लखनपुर (कमल गाउँपालिका), फैलिएको थियो जुन स्थिति २०१८ सम्म रह्यो । २०१८ सालमा दमकमा लखनपुर मात्र गाभेर दमक गाउँपञ्चायत गठन भयो । लखनपुरका केही वडा र मधुमल्लाका केही वडा पनि दमकमै पर्दथे । जुन २०३३ सालमा एकिकृत भएका हुन् । त्यसपछि लखनपुर लखनपुरै भयो । मधुमल्लाका केही मिसिएका वार्ड दमकमै परे अरु मधुमल्ला नै भयो ।
त्यसपछि सानोतिनो ठेक्कापट्टा गरे । अन्तिममा गएर फेरी स्कुलपट्टि लागियो । प्राइमरी स्कुल सुरु गरे । तीन वटा स्कुल थिए । हिमाल मिडिलस्कुल, ढुकुरपानी प्रावि र ताराबारी प्रावि थिए । ताराबारी प्रावि २०१० सालमा सुरु भएको थियो । २००७ सालमा क्रान्ति भयो । त्यो क्रान्तिको डरले लिम्बुहरु पहाडबाट भागेर मधेस पसे । अनि धिमाल र हामी एउटै पुर्खाका सन्तान हौ भनेर लिम्बुहरुले एउटा मिटिङ धिमालसँग बसेर गरे । त्यसबाट समिति ‘चुम्लुङ’ गठन गर्ने कुरा आयो । अब एउटै दाजुभाई भएर संघर्ष गर्ने निस्कर्षमा पुगे र एकिकृत पनि भए तर तिनीहरुले प्रगति चाहिँ गर्न सकेनन् । ताराबारी अमिलाल धिमालको घर छेउमा बसेर चुम्लुङ गठन गरेका थिए । त्यही मौकामा यहाँका बासिन्दामा अलि चहलपहल आयो । त्यो चहलपहलमा पनि स्कुल राम्रा थिएनन्, पढाई राम्रो थिएन, मास्टर पाइँदैनथ्यो । दार्जेलिङ, खर्साङबाट मास्टर खोजेर ल्यायो । ४ दिन बस्थे, पाँच दिनमा औलो लाग्थ्यो, भागी हाल्थे । त्यही मौकामा मलाई ८ कक्षा नै पढेको भएँ पनि हुन्छ भनेर जवरजस्ती पक्रेर २०१८ सालमा मास्टर बनाएका थिए । त्यस्तै गतिविधि र संघर्षबाट अहिलेसम्म ६४ वर्ष बिताएको रहेछु ।
राजनीतिप्रतिको अनुभव सुनाउँदै तिमल्सिना भन्छन्–हामीले पञ्चायत कालमा राजाको जयगान गरेर नारा लगायौं । जन्मोत्सव, केही पर्वहरुमा श्री ५ महेन्द्र जिन्दावाद, श्री ५ विरेन्द्र जिन्दावाद भनेर हिँडियो । त्यसबेला पञ्चायत थियो अर्को विकल्प थिएन । म चाहिँ २०४९ सालदेखि नेपाली कांग्रेसमा प्रवेश गरे । अनि अब राजनीतिक परिवर्तन हुँदै आयो । विरेन्द्र राजाको वंशनाश पछि राजा ज्ञानेन्द्रले जनताको नासो भनेर सत्ताको साँचो सुम्पिदिए । प्रजातन्त्र आयो । पहिला पहिला त ठिकै होला जस्तो लाग्थ्यो । अहिले प्रजातन्त्रको माहोल ठिक छैन । सबै नेता भ्रष्ट भए । जनताका आशा पुरा गर्न सकेनन् । आफ्ना पकेट भर्ने खालका नेता धेरै जन्मिए । देश डुबाएका छन् । अहिले पनि देशमा राम्रो परिस्थिति छैन । र अब पार्टीगत हिसाबकिताबमा नलागौं भन्दा पनि एउटा पार्टीको सदस्यता लिनै पर्छ भनेर मात्र कांग्रेसमा बसियो । नत्र पार्टीगत हिसाबकिताबले केही हुनेवाला मेरो दृष्टिले देख्दैन । अब राजा ल्याऔ, भनेर एउटा माहोल चम्किएको छ । तर उनीहरुसँग जनसंख्या कम छ अहिले माहोल पुगेको छैन । अब राजा को ल्याउने ? ज्ञानेन्द्रलाई किन ल्याउने ? को ल्याउने त्यसको टुंगो छैन । राप्रपाका साथीहरु दौड्छन, कुद्छन् । नारा लगाउँछन राजा ल्याउनुपर्छ भन्छन् । हिन्दु धर्म कायम गर्नुपर्छ । त्यो पनि ठिक छ तर कसले ल्याउने राजा ? को राजा कसलाई बनाउने ? कसले देश हाँक्छ त्यो कुरो कसैले सोचेको छैन । ज्ञानेन्द्रलाई ल्याएर उभ्याएर देश चल्दैन । किनभने दाजुको परिवार नास ग¥यो भनेर उनलाई दोष लागेको छ । उनले गरे गरेनन् त्यो दैव जानुन् । तरपनि दोष उनले बोके नि । अब त्यो दोष निवारण गर्नका लागि कि नातिलाई ल्याउनु प¥यो । होइन भने त प्रजातन्त्र नै राम्रोसँग चल्नु प¥यो । भन्ने भावना मेरो छ ।
जसले संसद् भंग गर्छ, जसले भ्रष्टाचार गर्छ त्यही मान्छे दोहोरि दोहोरि प्रधानमन्त्री हुन्छ उपप्रधानमन्त्री हुन्छ , अर्थ मन्त्री हुन्छ । देशको परिस्थिति त्यस्तै छ ।
शैक्षिक अवस्थाको सन्दर्भमा उनी भन्छन्–हामीजस्ता डिग्री गरेका मान्छे त्यसै लडिरहेको देख्छन्, तास खेलेर दिन कटाईरहेको देख्छन, चोक चोकमा गफ गरेर बसेको देख्छन अनि पढेलेखेका मान्छेको हालत यस्तो छ भने हामीले यहाँ पढेर, समय बिताएर पाउने के भन्ने सोच पलायो । र आम विद्यार्थी प्लस टु सक्दा नसक्दै विदेशिने परिपाटी बसेको छ । विदेशमा रोजगारी पनि पाउँछन, पढ्न पनि पाउँछन् । मुख्य कुरा विद्यार्थी विदेशिनु भनेको बेरोजगारी नै हो ।
पुरानो शिक्षा र नयाँ शिक्षामा बीचको भेद खोट्याउँदै उनी भन्छन्– हामी पुरानो शिक्षा पढेका मान्छे । हाम्रा पालामा गाइड, गेसपेपर पाइँदैनथ्यो । घोकेर, समरी लेखेर मास्टरलाई देखाएर, करेक्सन गराएर मास्टरले ठीक भनेपछि त्यही घोक्नु पथ्र्यो । त्यसकै आधारमा परीक्षा दिनुपथ्र्यो । अब अहिले फरक परिस्थिति छ । विषयवस्तु एक क्लिक गर्दा भेटिन्छ । गाइड, गेसपेपरलगायतका धेरै पुस्तक पाइन्छ । एसएलसीको परीक्षा पुरानो शिक्षामा निकै कडा थियो । पास गर्न निकै गाह्रो हुन्थ्यो । अहिले अब यो एसईई भनेर खोइ के राख्या हुन ग्रेडको हिसाबमा मैले पनि बुझेको छैन । नम्बर कसरी फलो गर्छ, कसरी उत्तिर्ण गराउँछ त्यो मैले नबुझेको कुरो हो । नयाँ शिक्षाले विद्यार्थीको संख्या उत्पादन ग¥र्यो, १२ पास भएपछि आफ्नो देशमा नबस्ने, आफ्नो कृषि खेती नगर्ने, बाहिरै पैसा कमाउने, बाहिरै बस्ने बाहिर कै पिआर लिने नेपालीहरुको परम्परा बस्यो । उनले उदाहरण प्रस्तुत गर्दै भने– पाँचथरको एक्चेपा भन्ने गाउँमा ४५ घर एउटै हाम्रा दाजुभाई तिम्सिना थर मात्रै गोलटोल भएर बसेका थियौं । अहिले त्यहाँ २ वटा घर छन् । सबै खेतबारी बाँझा छन् । ती युवाजति सबै विदेश पलायन । कोही पढेलेखेर बाहिरै पलायन भएका छन् । तराईमा अलिअलि जवरजस्ती गर्दैछन । यहाँ पनि राँगा–गोरु पाल्ने प्रचलन हरायो । ट्याक्टरसहितका प्रविधियुक्त काम गर्दा खर्च बढ्यो । त्यति गर्दा पनि मान्छेलाई खान, लाउन राम्रो सँग पुगेको छैन । पढाईको स्तरमा धेरै परिवर्तन गर्नुपर्छ । मलाई त आफुले पढेर पनि होकि के हो पुरानै शिक्षा ठिक थियो भन्ने लाग्छ । कित अहिले रोजगारीमूलक शिक्षाका पाठ्यपुस्तक निकाल्नु प¥यो । अनि रोजगारी गर्न पढ्दा पढ्दै रोजगारीपट्टि लागुन । त्यो देखिँदैन । खाली एसईई कसरी उत्तिर्ण गर्ने र १२ सकेर बाहिर जाने भन्ने ध्याउन्नमा विद्यार्थी दौडिएका देखिन्छन् ।
शिक्षामा साह्रै छिटो सुधार भएको दमक । म आउँदा तीन वटा प्राविमा एउटा निमावि स्कुल थियो । दमकमा ९ वटा प्रावि संस्थापन गर्ने अगुवा म पनि हुँ । लखनपुरमा ३ वटा र यता ७ वटा प्रावि गठन भए । ति मध्ये धेरै अहिले मावि भएका छन् । प्राविका भवन सुरु गराउने तत्कालिन प्रधानपञ्च धनबहादुर श्रेष्ठ नै हो । जति पैसा हुन्छ । एक साल एउटा स्कुल, अर्को साल अर्को गर्दै ९ वटा स्कुलका भवनहरु त्यतिखेर काम चल्ने बनेका थिए ।
दमक बजार बिस्तारलाई सम्झँदै भने–बजार बृद्धि पनि छिटै भयो । यो लाहुरे एरिया । अधिराज्यका लाहुरेहरुको बसोबास छ दमकमा । यहाँ सबै जातजाति छन् । जनसंख्या पनि ठुलो भयो । २०२९ सालमा १० हजार जनसख्या जवरजस्ती पुगेको दमकमा अहिले महानगरपालिका बनाउने अवस्था आइसक्यो । जनसंख्याको चाप त्यस्तो छ । कहाँबाट मान्छे औइरिन्छन, घर कति बनेका छन् । सालमा कति घर बन्छन् ? त्यसको तथ्य खोज्दा पाइन्छ नगरपालिकामा । पहिला पानी–पानी हुने ठाउँ अहिले सबै पानी हरायो । कुलोपैनी छैन । धनकुटा लगायतका मान्छेहरुका गोठ पाल्ने ठाउँ थियो । खोला नै कुद्थ्यो भन्थे हामी आउँदा पनि । दमक त खोलैमा बनेको हो । हिउँदमा झ¥यो, भैसीगोठ, गाइगोट जंगलजंगलमा पाल्यो ।
त्यति खेरका राणा, राजाहरुको शिकार खेल्न आउने ठाउँ पनि दमक थियो । त्यस्तो जंगल थियो । यहाँ एउटा इँटाभट्टा थियो जुन राणाहरुको शिकारको केन्द्र थियो । तोपगाछी, गौरादह यिनीहरु हात्तीमा चढेर शिकार खेल्न आउँथे ।
दमकको साहित्यको सन्दर्भमा उनले भने–२०३६ सालसम्म साहित्यको नाम निसानै थिएन भन्दा पनि हुन्छ । प्रकाश बुढाथोकी ओलाङचुङ देवान मरेर गए । उनले एउटा पुस्तक निकालेका थिए । शोभा ताम्राकारको श्रीमान नाम बिर्सियो गरी ३ जना साहित्यकार थिए । दुर्गा दाहाल अलि पछाडिका हुन् । दुर्गा दाहाललाई महानन्द पुरस्कार दिने भए । त्यो पुरस्कार पाए पछि उनका छोरा त्यहाँ आएर बसेका थिए । मैले एक दिन मेरामा खाना खान बोलाए  । त्यसबेला साहित्यिक मान्छे छँदै थिएनन् भन्दा पनि हुन्छ । मेरोमा आए । मैले खिर पकाएर खुवाए । अनि किन मलाई खिर ख्वाईस भने मैले भने तँ मरेपछि तेरा छोराले मलाई अधिकार दिँदैनन । अनि मैले जिवितैमा ख्वाउनु परेन गुरु भनेर ठट्यौली गरे । त्यसपछि मलाई एउटा मेरो पाण्डुलिपी तयार गर्नुछ । मलाई एउटा राम्रो अक्षर भएको केटो उपलब्ध गराईदे भने । अनि त्यो दुर्गा दाहाल मैले चिनेको थिए । छिमेकी पनि । उसैलाई त्यो पाण्डुलिपी तयार गर्न भनेर पाण्डुलिपी तयार गराएको मैले । दुर्गा त्यहाँबाट प्रवेश गरेका हुन् । प्रतिभा निकेतन खेमलाल पोखरेलको अगुवाईमा ४८ सालमा दर्ता भयो । त्यहाँदेखि साहित्यिक संस्था दर्ता हुन थाल्यो । दर्ता भएपछि ३ वर्षको अवधि पोखरेलले चलाए ३–४ वटा अंक निकाले । त्यसपछि मोहन भण्डारी अध्यक्ष भए । तिनले पनि ३ वर्ष चलाए । त्यसपछि साहित्य सेलाउँदै गयो । त्यसबेला विशेष विशेषांक निकालेका छन । कथा, निबन्ध, कविता, नाटक सबै विधाबाट । २०५७ सालदेखि के गर्ने अब यहाँ भनेपछि मलाई त्यहाँ लगेर टाँसे । साहित्यमा म अलिअलि मन मात्रै राख्ने हुँ । लेख्ने प्रवृत्ति थिएन । तै पनि धेरै लेखे । किताब २ वटा मात्र निस्केका छन् । अनि साहित्यमा लागे । ५ पैसा पुँजी छैन अनि
कसरी साहित्यका पुस्तक निकाल्ने । अनि वर्षको १ अंक अनिवार्य गरेर १९ अंक सम्म मैले निकाले । कोही समसामयिक अंक, कोही विद्यार्थी विशेषांक यसै गर्दै निकाले । एउटा पूर्वीय चिन्तन परम्परा भन्ने म हुँदै निकाले, त्ससको दोस्रो भाग अब छिटै निस्कँदैछ । अहिले कमल भट्टराईजी अध्यक्ष भएका छन् । अहिले त्यो संस्था मोहनजीको कुटीमा लगेर थुपारेको छ । एउटा कोठा दिएका छन् । त्यसमा सबै पुत्ली लागिसके  । त्यहाँ जाने र हेर्ने कोही भएनन् । बजारतिर राखौं भन्दा आफ्नो जग्गा छैन । अनि भाडामा कति दिन बस्ने ? भनेर उहाँ लगेर थुपारेका छन् । साह्रै दुःख पनि लागेको छ । साहित्य यसरी नै चल्दैछ । अब यो पूर्वीय चिन्तन परम्परा दोस्रो अंक यसपाली निस्किनेवाला छ । लेख करेक्सन भईसकेको छ । छिटै प्रकाशन होला त्यसलाई पनि आर्थिक अभाव त छँदैछ । २, ३ लाख रुपैयाँ लाग्छ । ६–७ सय पेजको हुन्छ । नगरपालिकासँग मागेको छु । अब मेयरसापको के विचार आउने हो ।
५९–६० मा दमकमा वृहत् साहित्यिक कार्यक्रम गरियो । त्यसको अध्यक्ष म आफै थिएँ । त्यति खेर लक्ष्मी प्रसाद देवकोटाको शालिक त्यहाँ राखियो । जसको अगुवाई मैले नै गरेको थिए । त्यो जग्गा उपलब्ध पनि मैले नै गराएको थिएँ । त्यसपछि यहाँ भानुभक्तको मुर्ति राखियो । तर त्यो मुर्ति विवादमा प¥यो । राम्रो आकृतिको भएन भन्ने भयो । धेरैले विरोध गरे । त्यतिखेर नगरपालिका कर्मचारीले चलाएको थियो । अधिकृत युवराज दाहाल थिए । उनले मलाई संयोजक बनाएका थिए । ३–४ वटा साहित्यिक संस्थाका मान्छेहरु राखेर त्यो शालिक राख्ने काम सुरु भयो । युवराजले आफै गएर मुर्ति अर्डर गरे । ल्याएर विमोचन गरियो । प्रज्ञा प्रतिष्ठानको अध्यक्ष आएर उद्घाटन पनि गरे । अहिले त्यसको चारतर्फ विरोध भयो । मुर्ति ठिक छैन भने अब के गर्ने त भनेको रोमनाथ ओलीको पालामा यो मुर्ति परिवर्तन गर्नुपर्छ म गराउँछु भने उनको अवधि पुरा भईहाल्यो । अनि रामको पालो आयो । रामलाई एउटा निवेदन दिएका छौं । अनि इटहरीको विक्रमश्रीलाई बोलाएर यो मुर्ति परिवर्तन गर्न के गर्नुपर्छ । यो मेरो पहलम बनेको हो । यो मुर्ति ठिक छैन भन्छन सबैले भन्दा विक्रमश्रीले पनि मुर्ति ठिक नभएको बताए । पूर्ण कदको मुर्ति राखौं यहाँ । ५ लाख रुपैयाँ लिन्छु म । त्यो तपाईहरुले व्यवस्था गर्नुपर्छ भनेका छन । रामलाई भेटेर कुरा गर्न बाँकी नै छ ।

Author

You may also like