मुख्य स्थानीय स्वास्थ्य

बाल अस्पतालमा एनआइसीयु सेवा

दमक, १४ मंसिर
विपन्न परिवारका बालबालिकाहरुको स्वास्थ्य सेवालाई मध्यनजर गर्दै झापाको दमकमा सञ्चालनमा आएको किओच दमक बाल अस्पतालले एनआइसीयु सेवा विस्तार गरेको छ ।
अस्पतालमा बालबालिकाहरुको उपचार सेवा प्रभावकारी बनेपछि सेवा विस्तार गर्दै बुधबारदेखि औपचारिक रुपमै ६ बेडको एनआइसीयु कक्ष सञ्चालनमा ल्याइएको मेडिकल सुपरिटेन्डेन्ट डा. जयमणि श्रेष्ठले जानकारी दिए । यसअघि नै एनआइसीयु सेवा भएपनि औपचारिक रुपमै थप व्यवस्थित ढंगबाट सेवा शुरु गरेका मेसु डा. श्रेष्ठले बताए ।
अस्पतालमा आउने बालबालिकाहरुलाई १ सय रुपैयाँ मात्रै ओपिडी जाँच सेवा शुल्क लिएर सेवा दिँदै आएको सो अस्पतालको सफ्ट लञ्च गत चैतमा भएको थियो । वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालासहित विशेषज्ञ चिकित्सक एवं स्वास्थ्य क्षेत्रका अनुभवीहरुको संलग्नतामा काठमाडौं इन्स्टिच्यूट अफ चाइल्ड हेल्थ साइन्स (किओच)ले सञ्चालनमा ल्याएको प्रादेशिकस्तरको बाल विशिष्टीकृत सो अस्पतालमा आएको हो । यहाँ अहिले दैनिक १ सय ५० जनाले ओपिडी सेवा लिँदै आएका छन् । अस्पतालले आकस्मिकसहित २४ सै घण्टा बाल स्वास्थ्य सेवा प्रदान गरिआएको छ । सो अस्पताललाई विभिन्न दाता र निकायहरुको सहयोगमा थप सेवा विस्तारको योजना रहेको किओच दमक बाल अस्पतालका परियोजना संयोजक डा. नविन ढकालले जानकारी दिए ।

You may also like