दमक, २६ चैत। दमकको सुरक्षामा इमान्दार र कर्तब्यनिष्ठ भएर लाग्न इलाका प्रहरी कार्यालय दमकका प्रमुख (डीएसपी) निशान थापालाई व्यवसायीहरुले सुझाव दिएका छन् । डीएसपी थापाले दमक सहितको कार्यक्षेत्रको शान्ति सुरक्षामा कमी हुन नदिने प्रतिवद्धता जाहेर गरेका छन् ।
आइतवार दमक उद्योग वाणिज्य संघ झापाले आयोजना गरेको अन्तरक्रिया तथा परिचयात्मक कार्यक्रममा इलाका प्रहरी कार्यालय दमकमा प्रमुख भएर आएका थापालाई स्वागत गर्ने क्रममा दमकको सुशासनकालागि व्यवसायीहरुले प्रहरीले इमान्दार भएर काम गरे व्यवसायीहरुको सँधै साथ र सहयोग रहने बताएका हुन् । व्यवसायीहरुले यसअघिका केही घटनाहरुको स्मरण गराउँदै प्रहरीले नै विचौलिया र कमिसनको प्रलोभनमा परेर सुशासनमा समस्या भएको स्मरण गराए ।
दमक उद्योग वाणिज्य संघका अध्यक्ष देवीप्रसाद (गोपाल) गुरागाईँले नियत राख्दै अवैध कारोवार गर्ने तथा संघको नियम र दायरा उल्लंघन गर्ने जो कोही भएपनि प्रहरीले कानुनी कठघरामा ल्याउन सक्नुुुपर्ने बताए । उनले भने– ‘नियतबस आरोपका भरमा विनाप्रमाण कुनैपनि व्यवसायीले दुःख पाउनु हुँदैन । गलत गर्नेलाई कारवाही गर्न हामी साथ दिन्छौं ।’
कार्यक्रममा उद्योग वाणिज्य महासंघका केन्दीय सदस्य गोकूल श्रेष्ठले भविष्यमा दमकले सम्झिने गरी काम गर्न डीएसपी थापालाई सुझाव दिए । बैकिङ तरलता र विभिन्न महामारीको सामना गरिरहेका व्यवसायीले प्रशासनको सुरक्षा महसुस गर्न पाउनुपर्ने सुझाव दिए ।
कार्यक्रममा व्यवसायीहरु नेत्र चौलागाईं, भूपेन्द्र न्यौपाने, शंकर बस्नेत, सुरेन्द्र श्रेष्ठ, चन्द्र खत्री, रवि केशी लगायतले दमकमा बढ्दै गएको चोरी डकैती र दूव्र्यसनी कम गर्न आवश्यक पहल गर्न डीएसपी थापालाई सुझाव दिएका छन् । व्यवसायीहरुले भारतीय खुला सीमानाका कारण मगन्तेहरुको आगमन बढ्दै गएकाले यसलाई नियन्त्रण गर्न पहल गर्न सुझाव दिएका छन् ।
दमक प्रहरी प्रमुखको जिम्मेवारीमा रहेका थापाले व्यवसायीहरुले दिएको सुझाव अनुसार आफूले शान्ति सुरक्षा सहितको सुशासनमा कुनै कमी हुन नदिने प्रतिवद्धता व्यक्त गरे । उनले ०६२ सालदेखि प्रहरी सेवामा कार्यरत रहँदै विभिन्न स्थानमा रहेर काम गरेको अनुभवलाई दमकमा प्रयोग गरेर प्रहरी प्रसाशनलाई सक्रिय र छरितो बनाउँदै मुस्कानसहितको सेवा दिनु आफ्नो दायित्वलाई पुरा गर्ने जनाए । दमक उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजु खड्काले सञ्चालन गरेको कार्यक्रमको समापन द्धितीय उपाध्यक्ष ज्ञाननाथ पौडेलले गरेका थिए ।