दमकमा बिगत केही दिनदेखि दल र तिनका मान्छेहरुको दौडधूप निकै थियो । ती चुनाव जित्न चाहन्थे । जसरी पनि । गठबन्धन बनाएर भए पनि । गठबन्धन जोडेर भए पनि । गठबन्धन तोडेर भए पनि । ती जित्न चाहन्थे । यस्तो लाग्थ्यो, मानौं यहाँ संसदीय चुनाव भइरहेको छ । मानौं स्थानीय चुनाव भइरहेको छ । मानौं जनताका आवाज बोक्न हतासिएका छन् । मानौं जनताको सेवा गर्न हतासिएका छन् । मानौं देश र समाजको उन्नती गर्न हतासिएका छन् । मानौं तिनलाई यो समाज छिटो भन्दा छिटो बनाउने आशक्ति छ । मानौं जनताका सुख र दुखमा समाहित हुने उत्कण्ठा छ ।
यस्तै सोच्दै थिएँ म ।
शुक्रबारको दिन ।
‘भोट दिन नजाने, सर ?’
क्याम्पसमा साथीहरुले प्रश्न गरे । ‘ए हे, खानेपानीको चुनाव नि ! तर मेरो कार्ड स्मार्ट हो कि होइन !’ त्यसपछि म घर गएँ । हेरें, कार्ड रहेछ । एकछिन आराम गरें । काका ससुरालाई मोटरसाइकमा भाङ्बारी पु¥याएँ । अनि नगरपालिका भवनतिरबाट पृथ्वी मावितिर लागें । नगरपालिका गेटदेखि पृथ्वीमाविसम्म करिब तीन सय मिटर बाटामा दुवैतर्पm गाडी र मोटरसाइकल थिए । अकल्पनीय लाइन ! अनि पृथ्वी मावितिर लाग्ने चोकबाट उत्तर, दक्षिण, पश्चिमतिरका बाटाहरुमा उति नै लामा लाइन थिए गाडी र मोटरसाइकलका । यस्तो लाग्यो, मानौं यहाँ आकास झार्ने कामभइरहेको छ । मानौं यहाँ आणविक परीक्षण भइरहेको छ । मानौं यहाँ कुनै आविस्कारको प्रदर्शनी छ । मानौं यहाँ गरिब मान्छेहरुकालागि सीप र रोजगारीका तमासाहरु देखाईंदै छ । मानौं यहाँ कुनै महान अनुसन्धानकर्ताको प्रदर्शनी छ । किनभने त्यो चोकबाट पृथ्वीमाविको गेटमा पुग्न पनि सय मिटरभन्दा बढी छ । त्यो बाटो पूरै जाम थियो मान्छेका भीडले ।
मान्छे देख्नु थियो, देखियो । अहिलेका मान्छे । आधुनिक मान्छे । लोकतान्त्रिक मान्छे । गणतान्त्रिक मान्छे । अग्रगामी मान्छे । आप्mना नामका टोपी (क्याप) लगाएर छातिमा आप्mनै नामका गजमा झुण्डाएर हिंड्नेहरुको लर्को थियो । ती भेटेजति सबैलाई नमस्कार गरिरहेका थिए । छातीमा नाम झुण्डाएकी एकजना दिदीले मेरो हात समातेर भनिन्, ‘म हजुरका सबै लेखहरु पढ्छु । समाजलाई जुरुक्कै उठाउने, ब्यूँझाउने लेखहरु छन् हजुरका ।’ त्यति भनेपछि मलाई पुगि गयो । कोही त रहेछन् मेरो कुरा सुन्ने र बुभ्mने भन्ने लाग्यो । भरे महिलालाई दिने एउटा भोट उनैलाई दिएँ । परिणाम आयो, उहाँले चुनाव हार्नुभयो । समाजको चिन्ता गर्नेहरु संधै हारिरहन्छन् यहाँ !
छातीमा नाम झुण्डाउनेहरुको पट्यारलाग्दो लर्को मात्र थिएन त्यहाँ । दलका नगरपालिकादेखि केन्द्रीयस्तरसम्मका नेताहरुको घुईंचो थियो । ती आप्mना गुटलाई जिताउन आउने प्रत्येक मतदातालाई नमस्कारदेखि मुस्कानसम्म बाँडिरहेका थिए । अनि दलका झुण्डहरु पर्चाको वर्षा गरिरहेका थिए । बाँडिरहेका थिए । बजारमा सिन्की बेच्ने व्यापारीले अगाडि फिँजाए जस्तो गरेर पर्चा फिँजाएर बसेका थिए । पानी फिँजाएर बसेका थिए । आश्वासन फिँजाएर बसेका थिए । बोली फिँजाएर बसेका थिए । ती बोली आकासमा उड्ने चिलका पखेटा जस्तै लागे भयाभह !
अनि चर्को घाममा त्रिपाल टाँगेर दलहरुले महानकार्य गरिरहेका थिए ! प्रत्येकले प्रत्येकलाई सम्वाद गरिरहेका थिए । मानौं कुनै महानकार्य हुन गइरहेको छ । अनि तिनको सम्बाद मारियो भास्गालोइसाका पात्र बिट्राइस र भर्जिलको जस्तो लाग्यो । बिट्राइसले भर्जिललाई सोध्छ, ‘तिमी तिम्रो जीवनभर केही सुनिराखेका जस्तै छौ । के सुन्दै छौ ?’
‘शून्यता । चकमन्नता’, भर्जिल भन्छन् । ‘के भन्दै छ त त्यसले ?मलाई नि सुनाउ न ।’
‘खै, अहिलेसम्म त केही भनेको छैन । केही भन्न खोजिरहेको जस्तो लाग्छ ।’ ‘तिम्ले यही जस्तो लाग्छ, जस्तो लाग्छ भनेर सुन्दा सुन्दा पूरै जीवन गुजारी सक्यौ । तर सुनेका भने केही छैनौ । बन्द गर अब ।’
मैले त्यहाँ सिर्पm बिट्राइस र भर्जिलहरु देखें । तिनका सम्वाद देखें । ती भनिरहेका थिए । तर कसैले सुनिरहेको थिएन । कसैले बुझिरहेको थिएन । तिनका आवाजमा सिर्पm चकमन्नता देखें । निरर्थक । एकजना भन्दै थिए, ‘यो के का लागि ? यहाँ राजनीतिक रुपले कसैलाई सक्न र कसैलाई स्थापित गर्न रचिएको नाटक हो ।’ यो पनि कसैले सुनेको थिएन । सायद सुनेर पनि बुझेनन् । अथवा पत्याएनन् ।
अझ गज्जव त के थियो भने सरकारी र समुदायको तलव खाने मान्छेहरुलाई सबैभन्दा धेरै चुनाव लागेको थियो । जीत र हारलाई तिनले पो सबैभन्दा धेरै प्रतिष्ठाको विषय बनाइरहेका देखिए ।
अनि नाम छातिमा झुण्ड्याउने उम्मेद्वारहरुको भीड स्कुलको गेटसम्म पुगेपछि प्रहरीले तिनलाई सिटी बजाएर पन्छाउँदै थिए । हटाउँदै थिए । हाँसो रोक्न गाह्रो भयो मलाई ।
कस्तो खिच्चा देखियो ! जब म स्कुलको गेटतिर लागें, त्यहाँ उपस्थित मलाई चिन्ने सबैले आग्रह गरे ‘सरलाई के भनिरहनु पर्छ र !’ कसै कसैले ‘मलाई है’ पनि भने । सबैलाई ‘हवस’ भन्दै म स्कुलको गेटतिर बढें । भित्र मतदान केन्द्रमा पनि तिनै दलका मान्छेको भीड थियो ।
हे भगवान !‘तपाईहरु बाहिर गइदिनुस्’, प्रहरी भन्दै थिए तिनलाई । म अभैm अघि बढें मतदान गर्न । तीन ठाउँमा मेरो कार्ड चेक भयो । अनि मात्र मतपत्र पाइयो । घरमा धारा जोडेको मान्छेको कार्ड किन चेक गर्नु । पानी खाने ग्राहकको नाम लिस्ट अफिसमा हुँदैन ? तिनले महिनैपिच्छे बिल तिरेका छैनन ? त्यो भन्दा ठूलो प्रमाण के हुन्छ । तैपनि दलका मान्छेलाई भएन । किनभने यो वा ऊ बहानामा भोट जित्नु छ । सार्वजनिक संस्था कब्जा गर्नु छ । रकममा खेल्नु छ ।
नत्र ती के का लागि ? त्यो हत्ते के का लागि ? त्यो हत्ते पानी धेरै उत्पादन गरेर नगरपालिकाभरी बाँड्नलाई हो त ? सडकमा रोपाई गर्ने बनाएकोलाई रोक्न हो ? जताततै पाइप काटेर फोहोर पानी आउने प्रकृया बन्द गर्नलाई हो ? धरौटी फिर्ता गर्नलाई र अब नयाँलाई नलिनलाई हो ? स्मार्ट मिटर राख्न हो ? ढल बनाउने नाममा सडक धुलाम्मे र हिलाम्मे बनाउनेलाई रोक्न हो ? ती गठबन्धनहरु यो माटोको सुगन्ध बढाउनलाई हो ? यहाँका बाँझा जमिनहरुलाई धानका बाला फलाउन हो ? रोजगारी बढाउनलाई हो ? निशुल्क शिक्षा बनाउनलाई हो ? स्वास्थ्य सेवालाई सर्वसुलभ बनाउनलाई हो ? यहाँका ऐतिहासिक र प्राकृतिक सम्पदाहरुको रक्षा गरेर पर्यटनको विकास गरेर दमकमा एक दिन भएपनि मानिसलाई रोक्ने उपाय निकाल्नलाई हो ? भौतिक संरचनाहरु खण्डहरु बन्दै गइरहेका छन्, तिनलाई जोगाएर तिनबाट आयआर्जन गर्ने विधि बनाउनलाई हो ?जस्तै सभाहल, भ्यू टावर आदिलाई टाढाबाट आउने मानिसहरुको गन्तब्य बनाएर पर्यटनद्वारा दमकलाई देश बिदेशमा चिनाउनलाई हो ? यहाँका उद्योग र व्यवसायलाई फष्टाउने वातावरण बनाउनलाई हो ?
यो समुदाय र देश बनाउनलाई हो ? यी कुनै पनिकाम गर्नका लागि तिनले यो मरिहत्ते गरेको तिनका इतिहासले प्रमाणित गर्न सक्दैन । यी कुनै पनिकाम गर्न यिनले मरिहत्ते गरेका होइनन् । निस्वार्थ देश र जनताको सेवा गर्ने यत्रो भीड हामी कहाँ हुने भए यो देश पश्चिम युरोप भन्दा कम हुने थिएन ।
अनि यिनले यो कुरुप समयलाई सुन्दर बनाएको भएयो समय यस्तै कुरुप हुन्थ्यो ? युवाहरु किन यिनीहरुसंग विस्वस्त छैनन् ? यिनले पार्टी बलियो हुनुपर्छ भन्छन्, तर यिनले कहिल्यै देश बलियो बनाउने भनेर बोलेका छन् ? समुदाय उन्नत बनाउने कुरा सोचेका छन् ? यिनले त प्रत्येक सामाजिक संस्थाहरु कब्जा गर्न कहिले कोसंग, कहिले कोसंग गठबन्धन गरेर बाँडिचुँडी खान्छन् ।
बहुदलीय व्यवस्थामा दल हुन्छन्, तर तिनका सीमा हुन्छन् । पश्चिमा मुलुकहरुको लोकतन्त्रको अध्ययन गरे हुने नि ! २०१९ मे १९ का दिन अष्ट्रेलियामा संसदको चुनावको दिनथियो । एउटा मतदान केन्दमा मैले देखेको दृष्य पस्किन्छु है त ः
‘ज्वाईं साव, यो के को लाइन हो ?’ माउण्ट डाण्डेनङ्गबाट फिर्दै गर्दा मैले ज्वाईँलाई सोधें ।
‘ड्याडी, यी भोट दिन लाइनमा लागेका ।’
ती शान्त थिए । लामो लाइनमा उभिएका थिए । चुपचाप थिए । हल्ला पनि थिएन । आप्mनो पक्षमा प्रभाव पार्ने त्यहॉ कुनै नेता थिएनन्, कुनै कार्यकर्ता थिएनन् । कुनै खाने र खुवाउने होटल पनि थिएनन् । कसले कुन पार्टीलाई भोट हाले भनेर जासुस गर्ने कोही पनि थिएनन् त्यहॉ, ती त रेल पर्खिएर उभिएका यात्रु जस्ता देखिन्थे । आवाज बिहिनतामा आवाज दिंदै थिए । जनताको आवाज । तानातान र होहल्ला, आश्वासान र भोटको किनबेच, खुवाउने र प्रलोभनमा पार्नेहरुको भीडमा चुनावमा भाग लिएको म जस्तो अग्रगामीकालागि त्यो चुनाव आठौं आश्चार्य थियो ।
यत्रो विश्वको ध्यानआकर्षित गर्ने अष्ट्रेलियाको त्यो महान चुनाव समुद्र जस्तै शान्त थियो । कुनै नारा जुलुश थिएनन् । कुनै बन्द, हडताल, आमसभा थिएनन् । भोटर तान्न पैसा, प्रलोभन र शक्तिको कुनै प्रयोग थिएनन् । भिक्टोरियाका एलाइन्सका एक जना शसक्त उम्मेदवार पिटर खालिल रेल स्टेसनमा एक्लै पर्चा बॉडिरहेका थिए ।
उनीसंग कोही पनि साथी थिएनन् । उनका छेउमा गएर मेरा ज्वाईंले एउटा पर्चा माग्दा मुस्कुराउदै धन्यवाद र पर्चा संगै दिए । त्यो अकल्पनीय दृष्य देखेर ज्वाईले फेसबुकमा नेपाली सभ्यता कहिले यस्तो होला भनेर स्टाटस लेख्नु भयो । पछि खालिलले चुनाव जिते र सांसद भए । त्यो हो लोकतन्त्र ।
त दुर्भाग्य, म खानेपानीको शुक्रबारको त्यो भोट खसालेर सिधै घरमा आएर यो लेखोट तयार पारें । जय होस ।