लेख विचार/वहस

सच्चा युगपुरूष खोजिरहेछ देशले

हाम्रा नेताले आज अंग्रेजीमा भटटटट भाषण ठोके । नेता हुन् त यस्तो भनेर कार्यकर्ताको तहबाट स्तुति गाएको दुर्लभ समाचारहरू पढ्न र सुन्न पाउँदा हर्ष विभोर हुन्छन् हाम्रा नेताहरू । आफ्नाे दलको राजनैतिक सिद्धान्त, व्यवहारिक कार्यदिशा, पत्तो न फाँट भईरहेको छ । हाम्रा राजनैतिक दलहरूले अँगिकार गर्दै आएको राजनैतिक सिद्धान्त समाजवाद, साम्यवाद, नौलो जनवाद, उदारवाद, समतावाद, वैज्ञानिक समाजवाद कता छ ? उहाँहरूकै पोल्टामा छ कि विदेशी संग्राहलयमा सजाईन पुगे? कि पैँचो मागेर लिएको विरासत् फिर्ता गरिसक्नु भयो कि ? कतै चालचुल नै देखिदैन । आफ्नाे सिद्धान्त नै गुमनाम भएको बखत पनि नेताज्यूहरूको हाँसी खुसी र रोमान्टिक मुडले देखाउँछ, देश विकास अत्यन्त तीब्र गतिमा अगाडि बढिरहेछ । तर वास्तविकतामा त्यसो हुँदै होईन ।
“टोक्ने कुकुरको पुच्छरबाट नै चिनिन्छ “भन्ने लोकोक्ति छ । वर्षमा जति पटक सरकार परिवर्तन भए पनि ढाँचा र ढर्रा एउटै छ । काम गर्ने शैली र बाणीको स्तर उस्तैछ । के भएको हो यो देशमा ? भन्नलाई सतीको स्राप परेको देश भनिन्छ तर मलाई लाग्छ यो सतीको स्राप परेको होईन, आमाको श्राप परेको देश हो यो । जसले पनि आमालाई नाँगो बनाउनेतिर लाग्ने, लुछ्ने, कोतर्ने आमाको हुर्मत् लिने । अनि हामी उभो लाग्छौँ त ?
भ्रष्टाचारको दलदलमा फसेर पनि म भ्रष्टाचार गर्दिन, अनि कसैलाई भ्रष्टाचार गर्न पनि दिन्न भन्ने वेसरम् र सस्तो अभिव्यक्ति दिन लालयित भएको अनि यही अभिव्यक्ति पनि ब्रह्म वाक्य नै हो भनेर पछाडि लाग्ने कार्यकर्ताको भीड पनि कम छैन नेपालमा ।
भुक्तभोगीहरू भन्ने गर्दछन् “देशको लागि असल काम गर्छु भनेर निस्कनेहरूका लागि उनीहरूले गरेका कामको मिठो प्रशंसा भन्दा, तिखा विरोधको स्वरहरू बढी कामयावी हुन् जान्छ । मिठो प्रशंसा माछाका काँडा भन्दा तिखा मात्र होईन । यति बिघ्न विषाक्त रस घोलिएको हुन्छ जसले उसलाई रसातलमा पु¥याउने अरू कुनै प्रयत्न नै गर्नुपर्दैन ।
हाम्रा नेताहरू यस्तै प्रशंसाका तिखा बाणीमा मख्ख पर्दछन् । अनि आत्मरतीमा यति रमाउन सक्दछन् कि आप्mनो शरीर नाँगिएकोसम्म आफै थाहा पाउँदैनन् ।
पत्रकारिता राष्ट्रको चौथो अंग हुन् । सरकारले गरेका सबै गल्तिहरूलाई असरल्ल सडकमा ल्याईदिन सक्ने । पत्रकारीतामा दिव्य दृष्टि हुनु पर्दोरहेछ । सूक्ष्म वस्तुहरूलाई पनि विश्लेषणको कसीमा राखेर आम नागरिकलाई सचेत गराउन सक्ने । उनीहरूले आफूले पाएको अस्त्र सही ठाँउमा प्रयोग गर्न सकेनन् भने देश उल्टो दिशातिर घुम्न सक्छ । दोस्रो विश्वयुद्ध हुनाका विभिन्न कारणहरू मध्ये पीत पत्रकारीता पनि एक हो । त्यसैलै पत्रकारीतामा पीत पत्रकारिता र चाटुकारिता हुनुहुन्न भन्ने आम मान्यता छ ।
हाम्रो मुलुकमा पत्रकार यस्ता यस्ता विषयमा गौरव गर्दछन् कि हाम्रा पत्रकारहरू मध्ये राम्ररी अँग्रेजी बोल्न सक्ने पत्रकारहरू फलाना फलाना हुन् भनेर समाचार आउँदा ज्ञानको ठूलै तख्तामा चढेको रहेछु भन्ने ठान्ने पत्रकारहरू पनि छन् । अहिलेको यूट्यूब चलाउने मित्रहरूले त तिललाई पहाड र पहाडलाई तिल बनाउने विद्या पनि राम्ररी नै सिक्नु भए जस्तो लाग्छ । अहिलेको समयमा मुलुक कुन गतिले अगाडि बढ्नु पर्ने हो ? हामी कसरी बढिरहेछौँ ? मुलुक कुन अकरिलो मोडमा फसेको छ ? यो संकटबाट उन्मुक्ती कसरी प्राप्त गर्न सकिन्छ? विश्व कहाँ पुगिसक्यो ? हामी कहाँ छौँ ? भन्ने बारेमा पत्रकारको कलम वायुवेगमा बहनु पर्ने हो । पत्रकारले कुन विषयलाई महत्व दिएर आम नागरिकलाई कुन विषयमा सचेत गराउनु पर्ने हो तिर उहाँहरूको ध्यान आकृष्ट हुनु पर्ने हो तर हुँदैन किन ? यो गंभीर प्रश्न छ । आफूलाई मुलुकको उपल्लो दर्जाको पत्रकार ठान्ने । तर आप्mनो हैँसियत व्यवहारमा पूरा गर्न नसक्ने पत्रकारहरू, व्यक्तिको नितान्त पारिवारिक मामिला जसलाई सामान्य अवस्थामा सार्वजनिक गर्न समेत मिल्दैन त्यस्ता विषयलाई जनता जान्न चाहान्छन् कार्यक्रममा छताछुल्ल बनाई दिने जस्ता घृणित हर्कत् गर्दछन् । जुन कुरालाई मुलुकले प्राथमिकतामा राखेको छैन त्यस्ता कुरालाई पत्रकारले ठुलै पुरूषार्थ गरेको संझी भ्रम फैल्याउने कार्य गर्दछन्
हामी शिक्षकहरू ! विद्यार्थीलाई गुणस्तरीय ज्ञान प्रदान गरि मुलुकको आमूल परिवर्तन गराउन सक्ने विकासका संवाहक हौँ । तर हामी आफूले युग सुहाउँदो पठनपाठनको विधी प्रयोग गरिरहेका छौँ वा छैनौँ ? युगले मागेको जनशक्ति निर्माण गरिरहेका छौँ वा छैनौँको चिन्ता नै नहुने । हामीलाई आफूले अध्यापन गराएका विद्यार्थीहरू परीक्षामा अनूतीर्ण हुँदा त्यति चिन्ता गर्दैनौँ जति चिन्ता शिक्षकले बालबालिकाको मन्दिरमा राजनीति गर्नु हुँदैन भन्ने विषयमा गर्दछौँ । अनि देशले कसरी विकासको काँचुली फेर्ला र खै ?
मैले गाउँका बुढापाकाले भनेको सुनेको छु । “जंगलका जनावरहरू पनि आफू जंगलमा अब सुरक्षित हुन सक्छु भन्ने आत्म विश्वास भए पछि मात्र जंगलमा स्वतन्त्र हिँड्न डुल्न शुरू गर्दछन्, मानव जातिको त के कुरा ? व्यक्ति, चाहे त्यो राजनीतिमा लागेको होस्, शिक्षण पेशा, वकालत पेशा, स्वास्थ सेवा, जहां सुकै लागेको होस त्यो विधामा व्यक्तिको उच्च ज्ञान र पर्याप्त अनुभव हुनु नितान्त जरूरी छ । यस बारेमा मैले एउटा सन्दर्भ जोड्ने प्रयत्न गरेको छु ।
स्वामी विवेकानन्दको विलक्षण प्रतिभाको विश्वभरबाट प्रशंसा भईरहेको थियो । यहाँसम्म कि विश्व साम्राज्य फैलाऊन सफल पश्चिमी राज्यका धुरन्धर विद्वानहरूको मन जित्न र वाह वाह कमाउन सफल भईसकेका थिए युग पुरूष विवेकानन्द । उनमा ज्ञानको अथाह भण्डार थियो तर पनि उनीसँग ज्ञानको अहंता, दम्भ, घमण्डको थोरै संकेत पनि थिएन । बरू, हिमाली भेगमा पाईने कस्तुरी आप्mनो नाभीमा मिठो बास्ना भरिएको अमूल्य विना आफैसँग छ भन्ने थाहा नपाएर त्यो आप्mनो नाभीको सुगन्ध लिन यत्रतत्र भौंतारिन्छ, त्यसरी नै भौँतारिएका थिए स्वामी विवेकानन्द (नरेन्द्र) । कारण उनमा आप्mनो विद्वता र क्षमताको कसी आफैले पहिचान गर्न नसकेर के गर्ने कसो गर्ने हुट्हुटीले छटपटिई रहेका थिए । हिमाली कस्तुरी झैँ ।
उनको अदम्य साहास, मानव सभ्यतालाई अगाडि बढाउने अथाह ज्ञान, बोलीमा माधुर्यता, वाक कटुता, विश्वकै विद्वानहरूलाई सम्मोहन गर्न सक्ने क्षमता आदि हुँदा हुँदै पनि मेरो ज्ञानले विश्व परिवर्तनको लागि थोरै मात्रामा भए पनि सहयोग पुग्न सक्छ सक्दैन भन्ने बारेमा चिन्ता थियो उनलाई । त्यसताका संसारमा उनका समकक्षी विद्वानहरूको संख्या पनि कम थिएनन् तर उनले आप्mनो ज्ञानको क्षमता प्रमाणित गर्ने काम आप्mनी आमा शारदा मासँग लिने निधो गरे ।
आप्mनी आमालाई देवतुल्य मर्यादा राख्ने विवेकानन्द आमा समिप पुगेर प्रणाम गर्दै आमालाई प्रश्न राखे “देवतुल्य मेरी माता ! म विश्व सभ्यता परिवर्तन गर्न, मानिसलाई अन्धविश्वासको अँध्यारो भवसागरबाट उद्धारगरि विज्ञानको उज्यालो क्षितिजतर्फ डो¥र्याउन आम मनिसको मनमष्तिष्कमा मानवताको भावना जगाउन जुन प्रयत्न गरिरहेको छु, मेरा गुरूहरूबाट जुन शिक्षा लिईरहेको छु, विश्व परिवर्तनको लागि मसंग भएको ज्ञान विश्व नागरिकलाई बाँड्न चाहान्छु के यो सम्भव छ ? मेरो ज्ञान, यो कामको लागि उपयुक्त छ ?”
पुत्र विवेकानन्दको लामो प्रश्न सुनिसके पश्चात माता शारदाले पुत्रको परीक्षा लिने निधो गर्नुभयो । उहाँ एक ज्ञान र बुद्धिले परिपूर्ण असल आमा हुनुहुन्थ्यो र भन्नुभयो “विवेकान्नद म तिमीलाई एउटा परीक्षा लिन्छु तिमी त्यो परीक्षामा उत्तीर्ण भयौ भने तिम्रो ज्ञान बाँड्न उचित भएको ठान्छु ।” विवेकानन्द आप्mनी आमाले लिने परीक्षामा सहभागी हुन मन्जुर गरे । आमाले विवेकानन्दलाई भान्सामा गएर एउटा धारिलो हतियार लिएर आउन भने । आमाको वचन शीरोधार्य गर्दै भान्सामा गएर धारिलो हतियार लिएर आए र आमालाई बुझाए । आमाले विवेकानन्दलाई भन्नु भयो विवेकानन्द तिमी परीक्षामा उतीर्ण भयौ । विवेकानन्द आश्चर्य चकित बने । उनले आमालाई प्रश्न गरे । आमा म परीक्षामा नै सहभागी नबनी कसरी उतीर्ण भएँ ? प्रत्युत्तरमा आमाले भन्नुभयो “तिमीलाई भान्साबाट मैले धारिलो हतियार ल्याउन भन्दा तिमीले हतियारको धारिलो भाग जुन खतरनाक भाग हो, त्यतापट्टि आफूले समातेर सहजभाग मलाई समात्न दियौ । यसबाट के प्रष्ट हुन्छ भने तिमी संसारको जस्तोसुकै कठिन परिस्थितिको पनि सामना गर्न सक्छौ । त्यसैले तिम्रो ज्ञानको प्रचार प्रसार जतिसक्दो चाँडो शुरू गर । यसबाट विवेकानन्द यति खुशि बने जुन प्रेरणाले उनी विश्व विख्यात बन्न सफल रहे ।
त्यसैले भन्नै पर्दा यो देशले वर्तमानमा खोजेको मूल विषय भनेको युगपुरूष विवेकानन्दले जस्तो कठोर परिस्थितिलाई आफूले जिम्मा लिएर अधिकतम्लाई सहज ढंगले जीउने वातावरण बनाउनु हो । हामी जुन क्षेत्र, पेशा, र व्यवसायमा सहभागी हुन्छौ आफू सहभागी हुने पेशा र व्यवसायको पर्याप्त ज्ञान लिने प्रयत्न गर्नु हो । नेताहरूले सा–साना कुरामा बढी आकासिने र भुँई छाड्ने कुरा नगर्नु हो । ‘काम कुरा एकातिर कुम्लो बोकी ठिमीतिर’ जाने दुष्प्रयास नगर्नु हो ।
आमसभाको भाषणमा बोलेको सतही नारालाई राष्ट्रको मूल विषय नबनाउनु हो । राजनेताहरूले गालीको प्रतिष्पर्धामा भन्दा विचारको प्रतिष्पर्धामामा समय बिताउँनु हो । किनकि यो देशको सुन्दर मुहार फेर्न राजनैतिक दल जुनसुकैबाट होस् तर एक सच्चा युग पुरूषको गहन खोजी भईरहेछ देशमा । अस्तु

Author

You may also like