२५ साउन, दमक । त्रिभुवन विश्वविद्यालयले विद्यार्थीको भविष्यमाथि खेलावार्ड गरेको बहस र चर्चा धेरै चले । कर्मचारी तन्त्रको हकर्मण्यताले नतिजाको वर्षौ कुरेर समय बर्बाद पार्नुपर्ने स्थिति आएको बहस पनि धेरै भयो । पछिल्लो समयमा राष्ट्रिय स्वतन्त्र पार्टीको उदय भएपछि यस्ता बहसले प्राथमिकता पायो । नेता चन्द्र भण्डारीले निकै भावुक शैलीको यस्ता वेतिथिको कुरा उठाए तर पनि यो विषयले त्रिभुवन विश्वविद्यालय प्रशासनको कानमा पुग्न सकेको थिएन जब यस अघिको सरकारमा पुष्पकमल दाहाल नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पर्टीबाट सुमना श्रेष्ठले शिक्षा मन्त्री पाईन तब उनले उठाउँदै आएको विषय कार्यान्वयनको तहमा पुगिन र गरिन पनि जसको परिणाम स्वरुप नै भन्नुपर्छ यस पटक त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर पहिलो वर्षको मानविकी संकाय अन्तर्गत इतिहास, नेपाली, समाजशास्त्र, ग्रामीण विकास, राजनीतिशास्त्रलगायत सातवटा परीक्षा र एमबिएस प्रथमको एउटा परीक्षा सकिएको छोटो समयमै नतिजा प्रकाशन गरेको हो । परीक्षा नियन्त्रक कार्यालय बल्खुका अनुसार इतिहास, नेपाली, समाजशास्त्र, ग्रामीण विकासलगायत ६ वटा परीक्षाको नतिजा १३ साउन अर्थात् चार दिनमै प्रकाशन भएको हो । ती विषयको परीक्षा २ देखि ९ साउनसम्म सञ्चालन भएको थियो ।
यो नतिजा प्रकाशनसँग विद्यार्थी अचम्मित मात्र परेनन् निरन्तरता पाउँला कि नपाउँला भन्ने चिन्तामा पनि छन् । तर त्रिभुवन विश्वविद्यालय प्रशासन भने गर्दा हुने रैछ सकिने रैछ भनेर उत्साहित बनेको देखिन्छ ।
यसपटक हामीले इतिहासमै पहिलोपटक समयभन्दा छिटो नतिजा प्रकाशन गर्न सकेका छौँ । कर्मचारीले १२ घण्टासम्म काम गर्नुभएको छ । अब भदौपछि सबै परीक्षा र नतिजा सिस्टममा आउने कुरा गरेर त्रिविभित्र आमूल परिवर्तनको खाका कोरिएको संकेत दिएका छन्– त्रिविका परीक्षा नियन्त्रक पुष्पराज जोशीले । उनले ०८१ वैशाखयता भएका सबै विषयको नतिजा सय दिनभित्र आइसक्ने पनि बताए ।
यो सँगै अब नेपालको शैक्षिक संस्थाभित्र देखिएका विकृति र विसंगति पनि बिस्तारै हट्दै जानेमा आशावादी बनाएको छ । तर यस्ता विद्यार्थीको भाग्य र भविष्य बनाउने क्षेत्रबाट थालनी भएका राम्रा कामले निरन्तरता पाउँला कि नपाउँला भन्नेमा आशंका चाहि बाँकी नै छ ।
स्नातकोत्तर तह प्रथम वर्ष राजनीतिशास्त्रको परीक्षा २ देखि ९ साउनसम्म सञ्चालन भएको थियो । यो विषयको नतिजा १९ साउनमा प्रकाशन भयो । छोटो समयमै प्रकाशन भएको अर्को नतिजा हो, एमबिएस प्रथम वर्षको । २ देखि ९ साउनसम्म सञ्चालन भएको एमबिएस प्रथम वर्षको परीक्षाको नतिजा मंगलबार मात्रै प्रकाशन भएको छ । नतिजा समयमै प्रकाशन हुँदा विद्यार्थीलाई माथिल्लो तहमा अध्ययनको ढोका खुलेको छ । ‘यसपटक हामीले इतिहासमै पहिलोपटक समयभन्दा छिटो नतिजा प्रकाशन गर्न सकेका छौं । कर्मचारीले १२ घण्टासम्म काम गर्नुभएको छ,’ परीक्षा नियन्त्रक पुष्प जोशीले भने, ‘अब भदौपछि सबै परीक्षा र नतिजा सिस्टममा आउँछन ।’ छोटो समयमै प्रकाशन गरिएका नतिजाको परीक्षामा एक हजार एक सय हाराहारी विद्यार्थी सामेल थिए । तर, जनशक्ति व्यवस्थापन र कार्यालय समयभन्दा बाहेकको समयमा पनि काम गरेकाले छोटो समयमै नतिजा प्रकाशन गर्न सम्भव भएको हो । परीक्षा नियन्त्रक कार्यालयले एक साताभित्र गत वर्षका बाँकी परीक्षा र एमबिए प्रथम वर्ष, एमएड प्रथम वर्ष र एकवर्षे बिएडको नतिजा प्रकाशनको तयारी गरेको छ ।
त्रिविका अनुसार ०८० भदौमा भएको स्नातक तह दोस्रो र तेस्रोको परीक्षाको नतिजा असोजभित्रै प्रकाशन गरिनेछ । यी नतिजा प्रकाशन गरिसकेपछि पुराना नतिजा प्रकाशनको काम सकिने र नयाँ क्यालेन्डरअनुसार काम गर्न सहज हुने परीक्षा नियन्त्रक जोशीले बताए । उनका अनुसार अब विद्यार्थीले परीक्षा दिएको सय दिनभित्र नतिजा प्राप्त गरिसक्नेछन् । ०८१ वैशाखयता भएका सबै विषयको नतिजा सय दिनभित्र आइसक्नेछ । स्नातक तह दोस्रो, तेस्रो र पहिलो वर्षको परीक्षा दसैँअघि नै सञ्चालन हुनेछ ।
परीक्षा नियन्त्रक कार्यालयले परीक्षाफल समयमै प्रकाशन गर्न कर्मचारीलाई १२ घण्टे ड्युटी तोकेको छ । बिहान ६ देखि बेलुकी ६ बजेसम्म ११९ जना कर्मचारीले नतिजा प्रकाशन सम्बन्धमा गृहकार्य गर्दै आइरहेका छन् । कर्मचारीहरूलाई ६० प्रतिशत भत्ताको व्यवस्था गरिएको परीक्षा नियन्त्रक जोशीले जानकारी दिए । उनका अनुसार यसअघि कर्मचारीले काम गर्ने समय कम हुँदा समयमै नतिजा प्रकाशन हुन सकेको थिएन ।