हामीले हाम्रो इतिहास खोज्नु पर्छ । इतिहासले हामीलाई यो ठाउँसम्म ल्याइपुर्याएको हुन्छ । जुन इतिहास पुरातात्विक महत्वकासाथ रहन सकेको अवस्था भएमा त्यसको अस्तित्व जोगाउन झनै चाँडो संरक्षण गर्नु आवश्यक हुन्छ ।
शताव्दियौं अघिको अवस्था नियाल्न र विकासको क्रम केलाउन पुरातात्मिक महत्वका बस्तुको अनुसन्धान आवश्यक हुन्छ । पुरातात्विक महत्वका बस्तुको इतिहास खोज्ने र त्यसको तथ्यलाई प्रमाणको कसीमा ल्याउने काम यसबेला झापाको भद्रपुरमा भइरहेको छ ।
भद्रपुर नगरपालिका ३ पृथ्वीनगरस्थित महाभारतकालिन किचकबधमा दुई हजार दुई सय वर्ष पुराना पाँचवटा भवनका संरचना भएको पुष्टि भएको छ । सरकारको पुरातत्व विभागका पुरातत्वविद् उद्धव आचार्यले उत्खननबाट उत्तरपूर्वमा एउटा बहुतले ठूलो भवन, ठूलो भवनकै केही दक्षिणमा अर्को भवन, सोही भवनकै उत्तरपश्चिम छेउमा सेन्ट्री बस्नेसहितको अर्को भवन, सोही भवनको केही पश्चिम दक्षिण अर्को बहुतले भवन फेला परेको जानकारीमा पुष्ट्याईको दावी गर्नुभयो । चारवटै भवनको दक्षिणमा करिब दुई सय फिटको दूरीमा दुईतले अर्को सुरक्षाकर्मीका प्रमुख र सुरक्षाकर्मी बस्ने भवन गरी पाँच भवनका संरचना फेला परेको र ती संरचना दुई हजार दुई सय वर्ष पुरानो रहेको अनुसन्धानबाट पुष्टि भएको बताउनु भयो । किचकबधमा पुरातत्व विभागको उत्खननपछि त्यसको पुष्टि भएको हो ।
पुरातत्वविद् आचार्यले यस स्थलको मूल भवनको उत्खनन अर्को वर्ष पूरा हुने बताउँदै उहाँले सायद अर्को सालसम्ममा उत्खनन पूरा हुने र अझ गहिराइसम्म उत्खनन गर्दा यस स्थानको ऐतिहासिकता बुद्धकालभन्दा अगाडि जाने केही संकेत देखिएको कुरा बताउँदा हामीले निकै लामो इतिहास भेट्ने क्रममा छौं भन्न सकिने देखिएको छ । हाल उत्खनन गरिएको क्षेत्रमा रुखहरू भएकाले तिनलाई हटाउनुपर्ने, कीचकलाई मारेको मूर्ति स्थानान्तरण गर्नुपर्ने, किचकबधस्थलभित्र यातायातका साधन प्रवेश रोक्नुपर्ने तथा त्यहाँका सम्पदाको संरक्षण गर्नुपर्नेमा पुरातत्वविदको जोड छ ।
पुरातत्व विभागले किचकबधमा २०५८ सालमा पहिलोपटक आचार्यकै नेतृत्वमा उत्खन गरेको थियो । यसपटकको उत्खनन सातौँ हो । यसअघि २०३५ सालमा मेची बहुमुखी क्याम्पसका इतिहासका प्राध्यापक घनश्याम खनालको अगुवाइमा आफ्नै हिसावले उत्खनन भएको थियो । विराट राजाको सेनापति एवं सालो किचकले सैरन्ध्रीको भेषमा रहेकी द्रौपदीको सतित्व लुट्ने धृष्टता गर्दा भीमद्वारा मारिएको पौराणिक ग्रन्थमा उल्लेख छ । सो महाभारतकालिन इतिहाससंग जोडिएको क्षेत्र भएकाले यसको संरक्षणमा सरकार लागेको छ ।
त्यो बेलाको इतिहास बोल्ने साक्षीका रुपमा किचकबधमा भेटिएको पुरातात्विक महत्वका बस्तुलाई जुन अवस्थामा छ, त्यसलाई दुरुस्त रुपमा जोगाउन अनि यसको महत्वलाई उजागर गर्न आवश्यक छ । हामीले यति महत्वको ऐतिहासिकस्थल फेला पारेको अवस्थामा यसलाई विशेष रुपमा संरक्षण र सम्वद्र्धनकालागि सरकारी पक्षले अझ सक्रियता देखाउनु पर्छ । यी र यस्ताखाले महत्वका महाभारतकालिन स्थलहरु पूर्वमा छन् । तिनीहरुको खोजी र संरक्षणमा जोड दिनुपर्छ । स्थानीय पालिकाले यसको निगरानी तथा रखवारी गरेर यसको ऐतिहासिक महत्वलाई जोगाउँदै नेपाली मानव सभ्यताको विकासक्रम समेत गहन अध्ययनमा लाग्नु आवश्यक देखिन्छ ।