उर्लाबारी, २० चैत । स्थानीय ट्राफिक प्रहरी पोस्टले उर्लाबारीले नगरपालिकाको सहयोगमा ट्राफिक व्यवस्थापनलाई व्यवस्थित बनाउने अभियान संचालन गरेको छ । यसक्रममा आर्थिक वर्ष २०८०÷८१ को फागुन सम्ममा ७२ लाख ७६ हजार ५ सय रुपैयाँ राजस्व संकलन गरेको छ ।
अभियानका कारण दुर्घटनाको उच्च जोखिम रहेको उर्लाबारीमा केही सहजता आएको ट्राफिक प्रहरी पोस्ट उर्लाबारीका प्रमुख प्रहरी सहायक निरीक्षक किशोरकुमार निरौलाले बताए । उनले भने–‘जनशक्ति अभावका कारण बिगतमा हामीले अप्रेसन चलाउन सकेका थिएनौ, नगरपालिकाले ३ जना सहयोगी दिएपछि निरन्तर कार्वाहीको प्रक्रिया अगाडि बढेका कारण स्थितिमा सुधार आएको छ ।’
प्रहरीले उर्लाबारीमा जथाभावी यात्रु चढाउने र ओराल्ने यात्रुवस, जथाभावि पार्किङ गर्ने सिटी सफारी, अटो रिक्सा, टयाक्सी लगायतलाई कार्वाही गरेर ट्राफिक व्यवस्थापनमा केही सुधार ल्याएको छ । जसका कारण दुर्घटना पनि कम हुँदै गइरहेको छ । यस आर्थिक वर्ष २०८०÷८१ को फागुन सम्ममा ट्रक दुर्घटना ५, ट्रिपर ३, बस ८, साना गाडी ७, ट्रयाक्टर १, टेम्पो १६, मोटरसाइकल ४४, साइकल १ र अन्य १ रहेको ट्राफिक प्रमुख निरौलाले जानकारी दिएका छन् । त्यसमा साउनमा ७, भदौमा १५, असोजमा ८, कार्तिकमा १९, मंसिरमा ९, पुसमा १० माघमा ५, र फागुनमा ४ वटा दुर्घटना भएका छन् । ती दुर्घटनाबाट १२ पुरुष र १ महिलाको ज्यान गएको छ । त्यस्तै २१ पुरुष , ५ महिला र ३ बालक सख्त घाइते भएका थिए । त्यसैगरी, सो अवधिमा ३५ पुरुष १८ महिला र ६ बालबालिका सामान्य घाइते भएका थिए । सो अवधिमा ७२ लाख ७६ हजार ५ सय रुपैयाँ राजस्व संकलन गरेको सो कार्यालयले जानकारी दिएको छ । त्यस्तै, यस अवधिमा ४२ जना मादक पदार्थ सेवन गरेर यातायातका साधन चलाएकामा कारवाहीमा परेका छन् ।
यस कार्यालयले अघिल्लो आर्थिक वर्ष २०७९÷०८० मा ३२ लाख ३५ हजार रुपैयाँ राजश्व संकलन गरेको थियो । सो अवधिमा ट्राफिक नियम उलंघन गरी ५ हजार ३ सय वटा यातायातका साधनलाई कार्वाही गरिएको थियो । सो अवधिमा दुर्घटनामा परी मृत्यु हुनेको संख्या ८ रहेको थियो । जसमा सबै पुरुष रहेका थिए । दुर्घटनामै परी सख्त घाइते भएकाहरुको संख्या ४५ र सामान्य घाइते भएकाहरुको संख्या ७३ रहेको थियो । तैपनि २०७८÷०७९ को तथ्यांकअनुसार धेरै सुधार भएको थियोे । सुधारका लागि प्रतिदिन नागरिकलाई विभिन्न सचेतना मुलक प्रशिक्षण तालिम दिइने गरेका कारण सडक पैदल यात्री , सवारी चालक, सहचालक, आम नागरिक, विद्यार्थीहरुलाई ट्राफिक नियम पालना र महत्वका बारेमा प्रशिक्षणलगायत वर्षभरिका सार्वजनिक बिदा बाहेक अन्य दिन नियमित रुपमा गरिएको छ ।