लेख विचार/वहस

भारतको अठारौँ आम निर्वाचन

भारतको अठारौँ संसदीय निर्वाचनको घोषणा निर्वाचन आयोगबाट भइसकेको छ । भारतको संसदमा लोकसभाका ५४३ जना संसद सदस्यहरुको निर्वाचन आगामी अप्रिल महिनाको १९ तारेखदेखि १ जून सम्म सात चरणमा सम्पन्न गराउने गरी निर्वाचन आयोगले तयारी प्रारम्भ गरिसकेको छ । सन् १९४७ देखि स्वतन्त्र भारतको राजनीतिमा अनेकौँ किसिमको आरोह अवरोह पार गर्दै वर्तमान अवस्थामा प्रवेश गरिसकेको छ । विगत १० वर्षदेखि भारतीय राजनीतिमा हिन्दू वर्चस्ववादी राजनीतिक दल भारतीय जनता पार्टीले सत्ता संचालनमा प्रमुख भूमिका निर्वाह गरिरहेको छ । भारतको केन्द्र सरकारदेखि सत्रवटा राज्यमा प्रान्तीय सरकार गठन गर्नमा भारतीय जनता पार्टी अरू दलहरु भन्दा अगाडि रहेको देखिन्छ । भारतीय राजनीतिको ७५ औँ वर्षको इतिहासमा भारतीय राष्ट्रिय कांग्रेस पार्टीको तर्फबाट जवाहरलाल नेहरु, लाल बहादुर शास्त्री, गुलजारिलाल नन्दा, इन्दिरा गान्धी, राजीव गान्धी, पीभी नरसिंह राव, मनमोहन सिंहले करिब ६ दशकसम्म भारतको केन्द्रीय सरकारको सत्ता संचालन गर्दै भारतीय लोकतन्त्रलाई अगाडि बढाइरहँदा कांग्रेस इतरका राजनीतिक दलहरुको अगुवाइमा मोरारजी देसाई, चौधरी चरण सिंह, विश्वनाथप्रसाद सिंह, चन्द्र शेखर, देवेगौडा, आई.के.गुजराल, अटल बिहारी वाजपेयी र नरेन्द्र दामोदर दास मोदीले भारतको केन्द्रीय शासन सत्ताको बागडोर आफ्नो हातमा लिएर राज्य संचालन गरेका छन् ।

भारतीय जनता पार्टीको तर्फबाट अटल बिहारी वाजपेयीले भारतको नेतृत्व गरिरहँदा छोटो समयभित्र नै भारतीय जनताको मनमा अमिट छाप छोडेका थिए । सन् २०१४ देखि भारतीय जनता पार्टीको बहुमतको सरकार बन्न थालेदेखि नरेन्द्र मोदीको नेतृत्वमा पहिलो कार्यकाल २०१४ देखि २०१९ सम्म, दोस्रो कार्यकाल २०१९ देखि २०२४ सम्म लगातार दश वर्षसम्म सरकारको संचालन गर्ने मौका प्राप्त गरेको थियो । भारतीय जनता पार्टीले नरेन्द्र मोदी कै नेतृत्वमा उनको तेस्रो कार्यकालमा निर्वाचनमा जाने घोषणा गरेपछि भारतीय राजनीतिमा एकातिर भारतीय जनता पार्टी र उनलाई समर्थन गर्ने घटक दलहरु तथा अर्को तर्फ कांग्रेस पार्टीको नेतृत्वमा समाजवादी पार्टी, राष्ट्रिय जनता दल शिव सेना लगायतका २८ वटा क्षेत्रीय राजनीतिक दलहरुको गठबन्धनले विपक्षी समाजवादी मोर्चा जसलाई छोटकरीमा इन्डिया गठबन्धन भनिन्छ, चुनाव मैदानमा ओर्लिएर भारतीय जनता पार्टी समर्थित सरकारलाई कडा प्रतिस्पर्धा गर्ने अपेक्षाका साथ मोर्चाबन्दी गर्न थालेका छन् । नरेन्द्र मोदीको सरकारलाई विपक्षी गठबन्दन दलका नेताहरु जस्तै राहुल गान्धी, प्रियंका गान्धी बढेरा, सोनिया गान्धी, खड्गे, सरद पवार, लालुप्रसाद यादव अलिलेशप्रसाद यादव, ममता बनर्जी, शिबु सोरेन, असुद्दीन ओबेसी, महबुबा मुफ्ती, फारुख अवदुल्ला आदिबाट कडा चुनौति व्यहोर्नु पर्ने सम्भावना रहेको छ ।

अहिले भारतीय राजनीतिमा नरेन्द्र मोदी, अमित साह र योगी आदित्यनाथको त्रिकोण जोडी लोकप्रियताको शिखरमा पुगेका छन् । भारतको जुनसुकै ठाउँमा जाँदा मोदीको समर्थन र स्वागतमा ठूलो भिड जुट्ने गर्दछ र हजारौँ मानिसहरुले ‘मोदी मोदी’ को गगनभेदी नारा लगाएर मोदीको जयजयकार गरिरहेका भेटिन्छन् ।

भारतले स्वतन्त्रता प्राप्त गरे लगत्तै देश विभाजनको पीडा भोग्नु परेको थियो । धर्मको नाममा मुस्लिम लिगका नेता मोहम्मद अली जिन्नाले मुसलमानहरु बस्ने एउटा नयाँ देश पाकिस्तान बनाउने माग गरेपछि भारत भर ठूलो साम्प्रदायिक दंगा फसादहरु भएको थियो । जसमा दूई लाख भन्दा बढी मानिसहरुको ज्यान गएको थियो । धनमाल लुटिएको थियो । १५ अगष्ट १९४७ कै दिन भारत र पाकिस्तान नाम गरेको दूईवटा नयाँ मुलुक विश्वको मानचित्रमा आए । भारत विभाजनको पीडा संहदा सहंदैपनि भारतले आफ्नो अर्थ व्यवस्था र परराष्ट्र नीतिलाई सुधार गर्दै विश्वका विभिन्न मुलुकहरुसँग व्यापारिक र राजकीय सम्बन्ध बढाउँदै लगे । भारतीय राजनीतिमा लामो समयसम्म कांग्रेस पार्टीको नेतृत्वदायी भूमिका हुँदा देशको केन्द्रीय सत्ता संचालन गर्दै भारतलाई साम्प्रदायिक ध्रुविकरण गराएर चुनाव जित्ने रणनीति अँगालेपछि विस्तारै विस्तारै कांग्रेस पार्टीले मुस्लिम तुस्टिकरणको नीतिलाई अगाडि बढाउँदै लगे । जसको परिणाम स्वरूप भारतमा ठूलो संख्यामा रहेका मुसलमान धार्मिक समूहलाई अल्पसंख्यक वर्ग भनेर परिभाषित गर्दा त्यसको व्यापक प्रतिकृया भएको थियो । भारतमा भारत विभाजन हुनु भन्दा अगाडिदेखि नै भारतीय मुसलमानहरुले सरकारी सुविधा र सरकारी खर्चमा हज यात्रा गर्न मक्का मदिना गएर नमाज पढ्न पाउने तर भारत भित्रकै सनातन हिन्दू धर्मावलम्बिहरुले आफ्नै देशभित्र पर्ने हिन्दू धार्मिक स्थलहरु जस्तै अयोध्या, काँसी र मथुराको मन्दिर, मस्जिद सम्बन्धि विवादहरुको समाधान गर्न नसक्ने अवस्थाहरु सिर्जना हुन गयो ।

भारतमा बहुजातीय, बहुधार्मिक, बहुक्षेत्रीय रुपमै फरकफरक धर्म संस्कृति र परम्परा रहेकोले साम्प्रदायिक झैझगडा र दंगा फसादहरुले बेला बेला उग्ररुप धारण गर्ने गरेको पाइन्छ । भारतमा विभिन्न किसिमका समस्याहरु बेला बेलामा उत्पन्न भएको पाइन्छ । तर ती सबै समस्याहरुसँग जुध्दै भारत सबैजसो क्षेत्रमा अगाडि बढिरहेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको कार्यकाल विगतका प्रधान मन्त्रीहरुको शासनकालको तुलनामा धेरै उपलब्धिमुलक रहेको विज्ञहरुको आँकलन छ । आतंकवादमुक्त भारत, सांप्रदायिक दंगा मुक्त भारत, खाध्यान्न पदार्थमा आत्म निर्भर भारत, स्टार्ट अप भारत, चन्द्रयान ३ को सफलतापूर्वक प्रक्षेपण गर्ने भारत, गगन यानलाई सूर्यको कक्षमा स्थापित गर्न सफल भारत, पाकिस्तानभित्र पसेर आतंकवादीहरुको अड्डालाई ध्वस्त पार्न सफल भारत, कस्मिरमा धारा ३७० समाप्त पारी अन्य राज्य सरह नै मान्यता दिने भारत, गरिबिको रेखामुनि रहेका २५ करोड जनतालाई गरिबिबाट मुक्ति दिलाएको भारत, अपराधमुक्त भारत, भ्रष्टाचारमुक्त भारत, तीन तलाक सम्बन्धि कानुन, समान नागरिक अधिकार सम्बन्धि कानुन, नागरिकता सम्बन्धि कानुन, राम जन्मभूमि बाबरी मस्जिद विवादको पूर्ण समाधान, यू.ए.ई को अबूधाबिमा हिन्दू मन्दिर निर्माण गराउन अग्रणी भूमिका खेलेको भारत, जी २० सम्मेलनको सफलतापूर्वक सञ्चालन गरेको भारत । यस किसिमका अनगिन्ती कामहरुलाई भारत सरकारले पुरा गर्न सफलता पाइरहेको हुनाले भारतीय मतदाता वर्गहरुमा नरेन्द्र मोदीको नेतृत्वमा भारतलाई हेर्न चाहने ठूलो इच्छा रहेको कुरा सजिलै बुझ्न सकिन्छ ।

भारतमा मुस्लिम चरमपन्थीहरुको बढ्दो गतिविधि, सीमा पार पाकिस्तानतिरबाट भारतीय कस्मिर क्षेत्रमा गराउने घुसपैठ र आतंकवादी क्रियाकलापहरु, भारतका सहरहरुमा उपद्रवी तत्वहरुबाट हुन सक्ने साम्प्रदायिक दंगा फसादहरु, माफियाहरुको अवाञ्छित गतिविधिहरु, रोहिंग्या शरणार्थी समस्या, बांगलादेशी मुसलमानहरुको अवैध बसोवास, नक्सलवाद, जातीय र धार्मिक उन्मादहरु, अल्गावाद जस्ता समस्याहरु भारतमा उग्र रुपमा चर्किने गर्दछ । आईएसआईएसका आतंकवादी गतिविधिहरु भारतको शान्ति सुरक्षामा प्रमुख कमजोरीको रुपमा रहेको छ । आदिवासी जनजाति समस्या, वैदेशिक हस्तक्षेप लगायतका समस्याहरुले भारतलाई बेलाबेलामा ठूलो चुनौति दिइरहेको हुन्छ । अहिले भारतका विपक्षी दलहरु टुक्रा टुक्रामा विभाजित समुह मात्र रहेका छन् । विभाजित र कमजोर प्रतिपक्षले देशको राजनीतिलाई सहि दिशामा डोर्याउन सक्दैन, देशभित्र झ्यांगिदै गएको अनुदारवादी राजनीतिक विचारधाराले देशलाई यथार्थपरक ढंगले मार्गदर्शन गर्न सक्दैन । यस्तो अवस्थामा लोकतन्त्रलाई जनता केन्द्रित विकासको राजमार्गमा उभ्याउन अनेकौँ किसिमका चुनौतिहरु अगाडि आउन सक्छन् । भारतीय जनता पार्टी र नरेन्द्र मोदीको सरकारसँग भारतीय जनताले ठूलो अपेक्षा गरेको छ । यहि अपेक्षाको आधारमा नरेन्द्र मोदीले संसदमा चारसय भन्दा बढी सिट जितेर सरकार बनाउने दावी गर्नेगरी चुनाव अभियान सञ्चालन गरिरहेका छन् ।

You may also like