कमल, ६ चैत। गुणस्तरीय शिक्षाका लागि आफ्ना विद्यार्थी छोरा छोरीहरुलाई घर र विद्यालयमा कस्तो व्यवहार गर्ने भनेर अभिभावकीय सीप आवश्यक पर्ने कुरा सरोकारवालाहरुले औंल्याएका छन् ।
बालबालिकाहरुका लागि घर पहिलो पाठशाला र बुवाआमा प्रथम शिक्षक भएको साथै विद्यालयमा भन्दा बढी समय घरमानै बिताउने भएकाले उनीहरुसंग के कस्तो व्यवहार गर्नेभन्ने बारेमा ज्ञान र सीप हुनु अत्यावश्यक हुने कुरामा झापाको कमल ५ सितापुरीस्थित श्री सिद्धदेवी आधारभूत विद्यालयमा आयोजित ‘गुणस्तरीय शिक्षाका लागि अभिभावकीय सीप’ विषयक अभिमुखीकरण कार्यक्रमका वक्ताहरुले जोड दिएका हुन् ।
कार्यक्रमको आयोजना शान्ति तथा सञ्चार मञ्च नेपाल र सो विद्यालयले संयुक्त रुपमा स्थानीय अभिभावकहरुलाई सहभागी गराएर गरिएको हो । अभिभावकहरुले बालबालिकाहरुप्रति निरंकुश, उदार, अति उदार, प्रजातान्त्रिक भएर व्यवहार गर्दा त्यसबाट के कस्तो असर र प्रभाव पर्छ भन्ने बारेमा वरिष्ठ मनोविमर्शकर्ता गोविन्दराज कट्टेलले सविस्तार प्रस्तुति दिएका थिए । कमल गाउँपालिका कोशी प्रदेशको बालमैत्री घोषणा भएको गाउँपालिका रहेकाले यस गाउँपालिकामा रहेका बालबालिकाहरुप्रति अभिभावक, परिवारका जिम्मेवार सदस्य तथा सिंगो समाजले के कस्ता शब्दहरु प्रयोग गर्ने, कस्तो व्यवहार गर्ने र कसरी बालमैत्री गाउँपालिका हो भनेर प्रामाणिक रुपमा दर्शाउने कुरामा पनि सहजकर्ता कट्टेलले प्रस्तुति दिएका थिए । कार्यक्रममा कस्तो सभ्यता, संस्कार र अनुशासनमा हुर्किएका बालबालिकाहरु भविष्यमा देश र समाजका लागि कस्ता भएर निस्किन्छन् भनेर जानकारीमूलक चर्चा पनि गरिएको थियो ।
अभिभावकहरुको उल्लेख्य उपस्थिति रहेको सो कार्यक्रममा कमल गाउँपालिका शिक्षा समितिका सदस्य तथा स्थानीय वुद्धिजीवी नारायण प्रसाद गौतमले बालबालिका भोलीको देशका कर्णधार भएकाले उनीहरुलाई सानैदेखि सभ्य र प्रेमपूर्ण व्यवहार गरेमात्र उनीहरुले पनि युवा र जिम्मेवार नागरिक भएपछि घरपरिवार र समाजमा असल व्यवहार प्रदर्शन गर्ने बानीको विकास हुने बताए ।
निजी विद्यालयमा भन्दा सामुदायिक विद्यालयमा अभिभावकहरुको आर्थिक लगानी अत्यन्तै थोरै पर्ने तर त्यसको उच्च प्रतिफल लिने कुरामा शिक्षकहरुले मात्र नभएर घरमा अभिभावकहरुले पनि उत्तिकै ध्यान दिनुपर्ने कुरा कार्यक्रमकी प्रमुख अतिथि रहेकी कमल गाउँपालिका वडा नं. ५ की वडा सदस्य भूमिका महराले प्रष्ट पारिन् । सहभागी अभिभावकहरुले पनि आफ्ना छोराछोरीहरुलाई घरमा गरिरहेको व्यवहार र गर्नुपर्ने व्यवहारका बारेमा कार्यक्रमबाट थप व्यवहारिक ज्ञान र जानकारी पाएको बताएका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भिमराज राईको अध्यक्षतामा भएको सो अभिमुखीकरण कार्यक्रममा आयोजक शान्ति तथा सञ्चार मञ्च नेपालका अध्यक्ष पंकज दाहालले कार्यक्रमको औचित्य र विद्यालयकी प्रधानाध्यापक कौशिला पौडेलले स्वागत मन्तव्यका साथै विद्यालयमा भइरहेको गतिविधि, अवस्था, कक्षोन्नतिको भावी योजना र अभिभावकहरुबाट गरेको अपेक्षाका बारेमा मन्तव्य राखेका थिए ।