लेख विचार/वहस

नेताहरुले बिर्सिदै गएको ‘सहिद दिवस’

माघ १६ गते सहिद दिवस । नेपाल प्रज्ञा प्रतिष्ठानले प्रकाशित गरेको बृहत शब्दकोशमा ‘आफ्नो देश, संस्कृति र अस्तित्वको संरक्षण तथा स्वतन्त्रता प्राप्तिका निम्ति बलिदान भएर लोकहितमा लाग्ने अमर ब्यक्ति’ नै सहिद हुन भनेर अर्थ लगाइएको छ । त्यसैले सो देशकालागि प्राण आहुति दिने सहिदहरुको सम्झना गरिने दिन हो । नेपालमा माघ १६ गतेलाई सहिद दिवसको रूपमा मनाइन्छ । विशेषत ः माघ १० देखि १६ गतेसम्म सहिद सप्ताहका रुपमा यो दिवस लोकतान्त्रिक गणतन्त्र आए पश्चात् नेपाल सरकारले मनाउदै आएको हो । राणा शासन विरुद्ध लडे –भिडेका शिखर र साहसी ब्याक्तित्व जो सहिद भए उनै सहिदहरुको सम्झनामा यो दिवस मनाउन थालिएको हो । वि.सं. १९९७ सालमा तत्कालिन राणा शासनको बिरोधमा उत्रने क्रममा ज्यानको आहुति दिन तयार भएका शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठलाई कसैलाई गोली ठोकेर त कसैलाई रुखमा झुण्ड्याएर फाँसीसम्म दिएर मारिएका हुनाले उनीहरूलाई नै सम्झने यो दिवस बर्षमा एकपटक सरकारले मनाउदै आएको छ । यो पटक पनि गत मंगलवार सरकारले सार्वजनिक बिदा दिएन । काठमाडांैको शान्ति वाटिका रत्नपार्कदेखि सहिद स्मारक लैनचौरसम्म प्रभातफेरि कार्यक्रम बर्तमान सरकारले गर्यो । यो बाहेक नेपालका कुनै कुनै प्रमुख सहरदेखि बाहेक कुनै विशेष कार्यक्रम दलहरुले गरेको देखिएन । गरेपनि कोठे कार्यक्रम मात्रै गरेको देखियो । जीवनलाई आहुति दिएर मुक्तिकामी नेपाली जनताको आवाज मुखरित गर्ने महान सहिदहरुको चर्चा गरेर सकिन्न किनकि, उनीहरूकै महान उत्सर्गले गर्दा हामी आज आफ्ना हक र अधिकार खुल्ला रूपमा खोज्न पाएका छौँ । यसैमा हामीले गर्व गर्ने ठाउँ छ ।

पछिल्लो घटनाक्रममा नेपाली राजनीतिक पृष्ठपोषकहरुले झिनामसिना घटनाक्रम अनि राजनीतिक स्वार्थनुरुप सहिदहरु तोक्ने अनि खुद्रा रूपमै सहिदहरुको फेहरिस्त तयार गरिदिएकोमा धेरै जनगुनासोहरु सुनिएको छ । स्वतन्त्रताले अनि सार्वभौमिकताको अनुपम अट्टाहासमा मुस्कुराइरहेको हरेक नेपाली अनुहारमा सहिदहरुको अनुहार मुस्कुराइरहेको हुन्छ । हिमाल, पहाड अनि तराई सबैतिर सहिदको रगतको रङ्गहरु माटामा मिसिएका छन् । नेपाली आकाशमा उनीहरूको सपना छ अनि प्रजातान्त्रिक अभ्यासमा सहिदहरुको निस्वार्थ बलिदान पनि छ । आज त्यही बलिदानले गर्दा हाम्रा नेताहरुले स्वर्गिक आनन्द प्राप्त गरेका छन् । विशेषतः सहिदहरुको पुरानो विरासत हेर्ने हो भने नेपालको पहिलो सहिद लखन थापालाई मानिन्छ । थापालाई तत्कालिन राणा प्रधानमन्त्री जङ्गबहादुर राणा विरुद्ध प्रचार प्रसार गरेको आरोपमा बि.सं . १९३३ साल फागुन २ मा गोरखाको मनकामना मन्दिर नजिकैको रुखमा झुण्ड्याएर मारिएको इतिहास छ । थापा उतिबेला तत्कालिन सैन्य पल्टनमा कार्यरत थिए । सहिद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द ठाकुर र गंगालाल श्रेष्ठलाई पनि राणाशासनकै बेला मारिएको हो । बि. सं. १९९७ साल माघ १० गते राति १२ बजे काठमाडौंको पचलीमा खरीको रुखमा शुक्रराज शास्त्रीलाई झुण्ड्याइएको थियो भने धर्मभक्त माथेमालाइ सिफलमा हत्या गरिएको थियो र सोही दिन राति १० बजे शोभा भगवतीमै लगेर गंगालाल श्रेष्ठलाई खम्बामा बाँधी गोली हानी हत्या गरिएको थियो । परिवर्तन ल्यानका निम्ति अनि भावी पुस्ता र देशको आयाम बदल्नका लागि आफ्नो ज्यान अर्पण गर्ने ज्ञात अज्ञात सम्पूर्ण सहिदहरुमा सबैले भित्री हृदयदेखि नमन व्यक्त गर्नैपर्छ । नेपालमा पञ्चायती शासनकालदेखि लोकतान्त्रिक गणतन्त्रकालमा धेरै सहिद भए । तर हामीले सुखानीमा पञ्चायतकालमा भएको हत्याकाण्डलाई नेताहरुले वर्ष दिनमा मात्र सम्झेको देखिन्छ । झापा जिल्लाको सुखानी खण्डमा २०२९ फागुन २१ गते नेपाली कम्युनिस्ट आन्दोलनका अगुवाहरुलाइ प्रहरीले गोली हानी हत्या गरेको थियोे उतिबेला । हाल त्यो क्षेत्र झापा जिल्लाको साबिक खुदुनाबारी गाविस हाल अर्जुनधारा नगरपालिकामा पर्दछ । बि.सं. २०२९ फागुन २१ गते झापा बिद्रोहका नाइके भनेर चिनिने रामनाथ दाहाल, नेत्र घिमिरे, कृष्ण कुइकेल, विरेन राजवंशी र नारायण श्रेष्ठ उ बेला प्रहरीद्वारा मारिएका थिए । आखिर उनीहरू के का निम्ति मारिए ? उनीहरूको अभिष्ट के थियो ? उनीहरूकै बलिदानले ल्याएको यो क्रान्तिको बिजारोपण लोकतान्त्रिक गणतन्त्र किन छाडातन्त्र मौलाउदैछ ? योसम्म बुझ्न सक्ने कोही नेताहरु नहुँदा आज लोकतान्त्रिक गणतन्त्र लावारिस होला कि भन्ने पीर छ ,सहिदका परिवारलाई । हाम्रा सहिदहरुको सपना र त्यागलाइ हामीले कत्तिको साकार पार्न सक्छौं भन्ने कुराभने नेपाली राजनीति अनि तिनका नेतृत्ववर्गले टुट फुट र ब्रह्मलुटमा नलागी उनीहरूको उत्सर्गलाई भुल्नु नपर्ने हो त्यो नि पूरा गर्न सकेको देखिन्न । सहिदका परिवार अनि घरहरु लगायत सहिदका परिवारका सदस्यहरुको अवस्था खोज्न चाँहदैनन् दलहरु । वर्षमा एकपटक मात्र हाम्रा सहिदहरुलाइ सम्झने दलहरुको कारणले गर्दा नेपाली जनतामा निरासापन छाएको छ । सहिदको आशिषको छत्रछायाँ यो राज्यलाई जहिल्यै प्राप्त होस र सहिदका आँसु राज्यले पुछ्न सकोस् ।

अब केही कुरा नेपाली प्रजातान्त्रिक इतिहास अनि वीर सहिदहरुको, राणाशासनका विरुद्धमा अनि प्रजातन्त्र बहालीका लागि सहिदहरुले बलिदान दिएकोमा बि. सं . २००७ सालको प्रजातन्त्र प्राप्त भयो । पुनः निर्दलीय ब्यबस्था लगायत ०३६ सालको जनमत संग्रहहुँदै ०४७ सालमा भएको संबैधानिक राजतन्त्र अनि बहुदलीय प्रजातन्त्रको पूनस्र्थापना सम्मका धेरै ज्ञातअज्ञात नेपाल आमाका वीर सपुतहरुको तातो र रातो रगतको मूल्य अवमूल्यन नहोस् । बिगतको सशस्त्र द्वन्द्वकालमा भएका घटनाहरुमा धेरैले सहादत प्राप्त गरे, कति घाइते र अपाङ्गताको सिकार भए । कति नेपालीहरु बेपत्ता भए । राज्यले दोस लगाएका र निर्दाेशको अवस्थाका रहेका सबैजनाको वीरगतीको विवरण लामो छ । गणना गर्नसक्ने अवस्था छैन किनकि कति त त्यसै गुपचुप गरिए । जब शान्ति स्थापना भयो द्वन्द्वरत पक्ष र वार्ता टोलीहरुको समन्वयमा दुईतर्फी वार्ता सम्पन्न भयो । जे जति घटनाहरु भए, ती सबै वार्ताबाटै समाधान भइसकेका छन् । अब बिगतको विरासत भुल्न पर्छ सबै दलहरुले । द्वन्द्व चर्काउनका निम्ति मनगढन्ते स्वर यदाकदा अहिले पनि नेताहरुले यति हजार र उति हजार मारिएका छन् भन्ने कुरा उठाइरहेका छन् , अब त्यो तुरुन्त बन्द गरिनुपर्छ । आज बोल्नै नहुने र द्वन्द्व चर्काउनै नहुने आवाज हाम्रा शीर्ष नेताहरुले भाषण र गोष्ठीमा गरिरहेका छन्, त्यो बन्द हुनु पर्छ । आज नेताहरुको यिनै बेफ्वाकको बोली, व्यबहारले गर्दा सहिदहरुको रगतको अपमान भइरहेको छ । द्वन्दै द्वन्दले चर्किएको छ हरेक क्षेत्र तहसनहस छ ।

अन्त्यमा , बरिष्ठ गायक गोपाल योञ्जनको यो गीतको मर्म र भावना ‘देशले रगत मागे मलाई बलि चढाउ, रुँिदनन् मेरी आमा उ नेपालीकि छोरी’ बोलको गीतमा सहिदहरुको आवाज मुखरित छ । आज सहिद तथा बेपत्ता परिवारले ‘ब्यबस्था परिवर्तन भयो तर हाम्रा सहिदहरुले देखाएको बाटोमा नेताहरु अझै हिडेकै छैनन्’ भनेर भनिरहेका छन् । यतिबेला देश प्रसव पीडामै त छ नभनौं, केही परिवर्तन भएकै छ । तर सहिदको सपना अझै पूरा नभएको हुनाले हाम्रा नेताहरुलाइ झक्झकाउनका निम्ति अझै जुट्न लागांै । अनिमात्र सहिदहरु हाँस्नेछन् । सहिदहरुप्रति हार्दिक श्रद्धा सुमन ।

Author

You may also like