अर्थ मुख्य

नेपाली चियाको निर्यात घट्यो

बिर्तामोड, १३ पुस। गत आर्थिक वर्षको पहिलो पाँच महिनाको भन्दा चालु आर्थिक वर्षको ५ महिनामा नेपाली चिया निर्यात घटेको छ । चालु आर्थिक वर्षको पछिल्लो पाँच महिनाको अवधिमा १ अर्ब ८७ करोड १७ लाख ७२ हजार रुपैयाँको ७१ लाख ८२ हजार ३४८ किलो चिया निर्यात भएको छ । तर गत वर्षको सोही अवधिमा २ अर्ब २३ करोड २१ लाख ५२ हजार रुपैयाँको १ करोड ६५ हजार ५३० किलो चिया निर्यात भएको थियो ।
जसअनुसार गत वर्षको भन्दा यस वर्ष ३६ करोड ३ लाख ८० हजार रुपैयाँ चिया निर्यातमा कमी आएको छ । साधारण चिया गत वर्षकै तुलनामा निर्यात भइरहेको र स्पेशल किसिमको चियामा किसानले लागतअनुसार मूल्य नपाउँदा चिया निर्यातमा कमी आएको चिया कफी विकास बोर्डका प्रवक्ता डा दिपक खनाल बताउँछन् ।
ग्रिन टी, ह्वाइट, गोल्डेन टी र सिल्भर जस्ता चिया स्पेशलमा पर्ने र यिनीहरुको मूल्य अरु साधारण चियाको भन्दा बढी हुने उनले जनाए । यी चियाको लागतअनुसार मूल्य नपाएको भन्दै उत्पादक तथा प्रशोधकलाई किसानले चिया बिक्री नगरेको बुझिएको पनि उनले उल्लेख गरे ।
अहिले भारतले नेपाली चिया सस्तो मूल्यमा खरिद गरेर लैजाने र आफू विश्व बजारमा ७ गुणा बढी मूल्यमा बिक्री गरिरहेको प्रवक्ता खनाल बताउँछन् । खनालका अनुसार भारतले नेपाली चिया प्रतिकिलो ५६० रुपैयाँमा खरिद गर्ने गरेको छ । विश्व बजारमा भने भारतले ३ हजार ७०० रुपैयाँ प्रतिकिलोमा बिक्री गर्ने गर्छ । यस्तै सरकारले चीनतर्फ निर्यात गर्न तयारी गरिरहेको छ । सरकारले चिया निर्यात गर्न सम्झौता गरेर निर्यात गर्न नमिल्ने भएकाले चिया उत्पादक तथा प्रशोधकले चाइनाको भन्सारमा आफ्नो सूची दर्ता गराउनुपर्ने सिस्टम भएकाले चिनतर्फ चिया निर्यात गर्न नसकेको खनालले बताउँछन् ।
‘ठूला चिया उत्पादकले यसमा खासै चासो देखाउँदैनन् । उनीहरुले भारत बाहेकका अन्य मूलुकमा आफैं सप्लाई गर्छन् । जुन साना उत्पादककर्ता छन्, उनीहरुले ठूलो रकम तिरेर सूची दर्ता गराउन सक्दैनन्। त्यसकारण सरकार आफैंले चीनको भन्सारमा चिया उत्पादक कर्ताको सूची दर्ता गराउन पहल गर्नुपर्ने देखिन्छ,’ उनले भने ।
यस्तै भारतले विगतदेखि चिया आयातमा कडाइ गरेका कारण चिया निर्यातमा कमी आएको उनले बताए । भारतको दर्जीलिङ धेरै पुरानो चिया बगान भएकाले त्यहाँको गुणस्तर घटेको छ भनें नेपालको गुणस्तरीय रहेको छ । तर नेपाली चिया सस्तोमा किनेर दार्जीलिङको चिया बनेर बेच्ने गर्दा नेपालीलाई समस्या भएको स्रोतले उल्लेख गर्यो ।

You may also like