मुख्य शिक्षा

रुपेश खतिवडाद्वारा छात्रवृत्ति प्रदान

उर्लाबारी, ३१ भदौ-
राजनीतिकर्मी तथा सामाजिक व्यक्तित्व रुपेश खतिवडाले एक कार्यक्रमकाबीच उर्लाबारीको एक विद्यालयका जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेका छन् ।
उर्लाबारी – ८ दुर्गापुरीस्थित अरनिको माध्यमिक विद्यालयमा शुक्रबार आयोजित बाल दिवस कार्यक्रममा खतिवडाले बाल कक्षादेखि ९ सम्मका कक्षा प्रथम हुने १३ जना विद्यार्थीलाई एक सेटका दरले विद्यालय पोशाक र जनही ५ सय नगद छात्रवृति वितरण गरेका हुन् । विगत ७ वर्षदेखि छात्रवृति वितरण गर्दै आएका खतिवडा सोही विद्यालयका पूर्व विद्यार्थी समेत हुन् ।
विद्यालयको सभाहलमा भएको कार्यक्रममा मन्तव्य राख्दै खतिवडाले सामुदायिक विद्यालयमा विद्यार्थीहरुको प्रोत्साहनका लागि प्रत्येक वर्ष आफुले छात्रवृति प्रदान गर्दै आएको बताए । सामुदायिक विद्यालयमा सरकारले अझ बढी लगानी बढाउन आवश्यक रहेको बताउदै उनले स्थानीय सरकार र अभिभावक मिलेर विद्यालयको शैक्षिक गुणस्तर वृद्धिमा लाग्नुपर्नेमा जोड दिए ।
यस्तै सोही अवसरमा पम्फामाया अक्षयकोष छात्रवृति कक्षा ८ की छात्रा अप्सरा लिम्बू र कक्षा ११ की ममता पौडेललाई तथा ढकमाया खतिवडा स्मृति अक्षयकोष छात्रवृति कक्षा १२ की बालकुमारी अधिकारी र कक्षा १२ कै सुजता विश्वकर्मालाई प्रदान गरिएको थियो ।
कार्यक्रममा विद्यार्थीहरुले नृत्य, गायन लगायतका आफ्ना प्रतिभाहरु प्रस्तुत गरेका थिए । बाल दिवसको दिन विद्यार्थीहरुको क्षमता प्रस्तुत गराउन कार्यक्रम गर्ने गरिएको प्रधानाध्यापक सूर्यमान सेरेङले बताए । कार्यक्रममा शिक्षिका कोपिला खतिवडाको संचालन र शिक्षक अभिभावक संघका अध्यक्ष निर्मला ढुंगानाको अध्यक्षता रहेको थियो ।

Author

You may also like