पूर्वसन्देश समाचार
दमक/ नेपाली काँग्रेसको आसन्न चौधौं महाधिवेशन अन्तर्गत यही मंसिर २ र ३ गते हुने प्रदेशसभा क्षेत्रीय निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । आज बिहीबारदेखि शुरु हुने प्रदेशसभा क्षेत्रीय अधिवेशनका लागि झापाका १० प्रदेशसभा क्षेत्रमा तोकिएको कार्यतालिका अनुसार एकै समयमा हुने निर्वाचनका लागि मतदान अधिकृतहरुलाई आवश्यक सामग्रीसहित मतदान स्थलमा पठाइएको छ । बुधबार विहान नेपाली काँग्रेस झापाको कार्यालयमा जिल्ला निर्वाचन समितिद्वारा आयोजित निर्वाचन निर्देशिका, पार्टी विधानबारे प्रशिक्षण दिँदै जिल्ला निर्वाचन अधिकृत सुबोधबाबु चिलवालले पार्टीको आन्तरिक चुनाव निष्पक्ष रुपमा सम्पन्न गर्न खटिएका निर्वाचन अधिकृतहरुलाई निर्देशन दिए ।
समाजवादी पार्टीको निर्वाचनमा प्रचार शैली समेत भड्किलो नबनाउन प्रदेश सभा, क्षेत्रीय र जिल्लाका उम्मेदवारहरुलाई आग्रह गर्दै उनले विधान र निर्देशिका बमोजिम सफलतापूर्वक निर्वाचन सम्पन्न गर्न मतदान अधिकृतहरुलाई आग्रह गरे । जिल्ला निर्वाचन समिति सदस्य एवं नेपाल शिक्षक संघ झापा अध्यक्ष नेत्र खरेल, प्रेस युनियन झापा अध्यक्ष इन्दु पूर्वेली लगायत सहभागी कार्यक्रममा मतदान अधिकृतहरुको जिज्ञासाको जवाफ निर्वाचन अधिकृत चिलवालले दिए । प्रदेश सभा निर्वाचनका लागि झापा क्षेत्र नं–१ प्रदेश क मा होमराज ढकाल, ख मा डम्बर बन, झापा क्षेत्र नं–२ प्रदेश क मा नारायण पौडेल, ख मा बसन्त नेपाल, झापा क्षेत्र नं –३ क मा मञ्जु दाहाल, ख मा अमृतबहादुर बुढाथोकी, झापा क्षेत्र नं–४ क मा लालमणि सुवेदी ख मा रोहित पोद्धार र झापा क्षेत्र नं–५ क मा शेषकुमार निरौला र ख मा डिल्लीराम मिश्रलाई मतदान अधिकृत तोकिएको छ । प्रदेशसभा क्षेत्रीय समितिमा सभापति १, उपसभापति २, सचिव २, सहसचिव २ र सदस्यबाट मनोनित कोषाध्यक्ष गरी २५ सदस्यीय हुने नेपाली काँग्रेस झापाका कार्यालय सचिव जय दाहालले जानकारी गराए ।
क्षेत्रका सभापतिका उम्मेदवार
त्यसैगरी झापा २ को क्षेत्र नम्वर क मा लक्ष्मी आचार्य र रविन्द्र भट्टराई तथा क्षेत्र नम्वर ख मा किरण श्रेष्ठ र कुशल थापाले सभापतिमा उम्मेदवारी दिने भन्दै मत मागिरहेका छन् । झापा ३ को क मा चिन्तामणि पोखरेल र दिलबहादुर कार्की तथा ख मा तुलसी ओली र ओमप्रकाश दाहालले सभापतिको उम्मेदवारी घोषणा गरेको जानकारी गराइएको छ । झापा ४ को क मा कमल भण्डारी र विनोद ढकालले तथा ख मा खेम सिटौला र नारद गिरीले उम्मेदवारी घोषणा गरेका छन् । यता झापा ५ को प्रदेश क मा ज्ञानेन्द्र खत्री र जीवन कुमार राई तथा प्रदेश ख मा चुडेन्द्र खड्का र रवि केसी न्यौपानेले सभापतिका लागि उम्मेदवारी दिने घोषणा गरेका छन् ।
मतदान स्थल
प्रदेश क्षेत्रीय निर्वाचनका लागि झापा क्षेत्र नं १ (क) मा काँकडभिट्टा सामुदायिक बनको भवन, ख का लागि हातेमालो सामुदायिक बन समितिको भवन, झापा क्षेत्र नं–२ प्रदेश क का लागि अनारमनी पब्लिक क्याम्पस विर्ताबजार, ख का लागि ने.का. अर्जुनधारा नगर समितिको कार्यालय, झापा क्षेत्र नं–३ प्रदेश क का लागि ने.कां भद्रपुर २ नं वडा कार्यालय पृथ्वीनगर, ३ (ख) का लागि रामजानकी मन्दिर गोल्धाप, हल्दिबारी–१, झापा क्षेत्र नं ४ क को उद्योग बाणिज्य संघ सुरुङ्गा, ख को दुधे मा.वि., र झापा क्षेत्र नं–५ क मा गौरादह कृषि क्याम्पस र ख का लागि नेपाली काँग्रेस दमक नगर समितिको कार्यालयलाई निर्वाचन स्थल तय गरिएको सकिएको छ । त्यसैगरी झापाका पाँच वटा संघीय क्षेत्रमा १ नम्वरको सभापतिमा इन्द्र बुढाथोकी र गोपाल तामाङ, २ नम्वरमा खगेन्द्र मैनाली र मोहन सुब्बा, ३ नम्वरमा गणेश पोखरेल र राजेन्द्र घिमिरे, ४ नम्वरमा जयनारायण साह र नारायण बजगाई तथा ५ नम्वरमा ढुण्डीराज भण्डारी र रोशन कुमार गौतमले सभापतिका लागि उम्मेदवारी घोषणा गरिसकेका छन् । संघीय निर्वाचन क्षेत्रको निर्वाचन यही मंसिर ५ र ६ गते हुँदैछ ।
उम्मेदवारहरुको घरदैलो अभियान
नेपाली काँग्रेस झापाको आसन्न चौधौं महाधिवेशन नजिकिँदै गर्दा आकांक्षी उम्मेदवारहरुले घरदैलो एवं क्षेत्रीय प्रतिनिधिहरुसँगको भेटघाटलाई तीब्र बनाएका छन् ।
यसैक्रममा झापाको खुदुनाबारीमा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै नेपाली काँग्रेसका आमन्त्रित केन्द्रीय सदस्य सुधिकरकुमार शिवाकोटीले नेतृत्व परिवर्तन लागि भनेर चुनावमा दौडिएका अर्को खेमाका केहि उम्मेदवारप्रति लछित गर्दै उद्धव थापाले छोडेर देउमान थेबे सभापतिमा आउदा परिवर्तन भएन र ? भनी प्रश्न गरे । ‘नेतृत्व परिवर्तन चाहेको हो भने हामीले पनि त्यहि चाहेका छौं र नै थेबेलाई जिल्ला सभापतिको उम्मेदवार बनाएक हांै’–नेता शिवाकोटीले प्रष्ट पारे ।
कार्यक्रमका विशेष अतिथि एवं नेपाली काँग्रेस झापाका सभापति उद्धव थापाले शीर्ष नेताहरुले देउमान थेबे र मेरोबीचमा सहमति गराएपछि म निर्विरोध रुपमा निर्वाचित भएको कुराको साक्षी केन्द्रीय नेताहरु र आम कार्यकर्ताहरु जीवित रहेको स्मरण गराए ।
पार्टीको आन्तरिक चुनावमा कोहि कसैको प्रतिद्वन्द्वी नहुने बताउँदै उनले भन्नुभयो–‘प्रतिद्वन्द्वी त अन्य पार्टीसंग आगमी तिनै तहका चुनावमा हुन्छ र त्यसका लागि एकताका साथ तयारी अवस्थामा रहनुपर्छ । आन्तरिक निर्वाचनमा कसैको हार वा जीत हुँदैन ।’
जिल्ला सभापतिका प्रत्यासी उम्मेदवार देउकुमार थेबेले आफूलाई रहर लागेर मात्र उम्मेदवार बनेको नभई १३ औं महाधिवेशनमा शीर्ष नेताहरुबीच भएको भद्र सहमति अनुसार चुनावी मैदानमा दह्रो ढङ्गमा उभिएको बताए ।