दमक । काठमाडौंको तीनकुनेमा चैत्र १५ गते घटेको घटनाको त्रासदी अझै सकिएको छैन । कार्यक्रम भड्किएर तोडफोड, टियर ग्यास र गोलीको वर्षाबाट उत्पन्न कहाली लाग्दो स्थिति अहिले पनि आम जनमासनमा ताजै छ । यस घटनाको वास्तविक दोषीबारे बहसकै विषय बनेको छ । आयोजकको तर्फबाट सरकारले टियर ग्यास चलाएर मास भड्काउनुको साथै घुसपैठ गराएर उपद्रो मच्चएको आरोप लगाइरहेका छन भने सरकारको तर्फबाट गुण्डागर्दी, लुटपाट र हिंसात्मक गतिविधि गरेको भनेर व्यापक धरपकड भइरहेको छ । प्रहरी हिरासतमा रहनेको संख्या पनि ठूलै छ । मुख्य नेतृत्व गर्ने व्यक्ति दुर्गा प्रसाई अहिलेसम्म फरार छन् । सरकारको तर्फबाट अनुसन्धानका लागि भनेर पक्रने क्रम जारी छ भने उक्त दिन कार्यक्रमको आयोजना गर्ने संयुक्त जनआन्दोलन समितिका कार्यवाहक संयोजक डा. जगमान गुरुङले पक्राउ परेका राजावादी प्रदर्शनकारीहरूलाई वैशाख २१ गतेसम्म रिहा नगरे सामूहिक गिरफ्तारीको चेतावनी दिएका छन् ।
समितिले बुधबार काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा डा. गुरुङले भने, ‘यदि सरकारले वैशाख २१ गतेभित्र हाम्रो माग पूरा नगरे २२ गतेदेखि तीनकुनेमा सामूहिक गिरफ्तारीको प्रक्रिया सुरु हुनेछ ।’
गुरुङले वैशाख २१ गतेसम्म नवराज सुवेदीको नजरबन्द फुकुवा र अरु राजावादी प्रदर्शनकारीहरूको मुद्दा खारेज गरेर रिहाई नगरिए २२ गतेबाट आन्दोलनको नयाँ अध्याय सुरु गर्ने उनले बताए ।
२२ गते तीनकुनेमा सहादत प्राप्त भएका वीर सहिदको रगत लत्पतिएको माटोको टीका लगाएर सामूहिक गिरफ्तारी दिनेछौं । हामी ज्यानको माया मारेर अगाडि बढ्ने छौं । सबैभन्दा अगाडि म हुन्छ । तपाईंहरू को–को आउनुहुन्छ आउनुस्,’ उनले भने ।
उनले आफ्नो समूहका सबै सदस्यलाई रिहा नगरे आफू सबैभन्दा अगाडि उभिएर सामूहिक गिरफ्तारीमा सहभागी हुने बताए ।
शक्ति प्राप्तिका लागि राजावादी नेताहरूले मन्दिरमा साधना गरिरहेको उनले बताए । ‘शक्ति साधना नगरेसम्म सत्ता प्राप्ति हुँदैन । अहिले हामी चुप लागेर बसेका छैनौं,’ उनले भने ।
कतिपय शक्ति मन्दिर फुटाउने, मूर्ति फुटाउने, पिसाब छर्कने गर्दै हिंडिरहेका उल्लेख गर्दै उनले भने, ‘हामी त्यही मन्दिरमा गएर ए भगवान हामीलाई शक्ति देऊ है भनिरहेका छौं ।’
तीनकुने प्रदर्शनपछि राजावादीहरू भागे भन्ने प्रचार भइरहेको भन्दै उनले यसको खण्डन गरे । ‘राजावादी डराएर भागे भन्ने हल्ला फैलिएको छ । राजा अब आउँदैन भन्ने छ,’ उनले भने, ‘त, त्यो होइन । हामी आन्दोलनमै छौं । पछि हटेका छैनौं ।’