विमल लामिछाने
/ कोरोनाले थलिएका पर्यटन क्षेत्र दशैं लागेसँगै ब्यूँतिन थालेका छन् । विगत दुईवर्षदेखि विश्व महामारीका रुपमा रहेको कोरोना भाइरसका कारण नेपालको पर्यटकीय क्षेत्र नराम्रो गरि थलिएको थियो ।
कोरोना विरुद्धको खोप र स्वास्थ्य मापदण्डको सचेतनाले कोरोनाको जोखिम कम हुँदै गएको र दशैंको आगमनसँगै उपत्याका र सदरमुकाममा केन्द्रित मान्छेहरु घर फर्किने क्रम बढेपछि आन्तरिक पर्यटकीय क्षेत्रमा चहल पहल बढेको छ ।
भूगोलका हिसावले नेपालकै सबैभन्दा होचो झापाको दक्षिणी सिमानाको कचनकवल केचनादेखि सगरमाथाको शिखरसम्म एक नम्वर प्रदेशमा पर्नु पर्यटकीय विकास र सम्भावनामा भाग्यमानी प्रदेश मानिन्छ । सगरमाथासहित आठ हजार मिटरमाथिका पाँच हिमाल– मकालु, ल्होत्से, कन्चनजंघा र कुम्भकर्ण हिमाल प्रदेश एकमा नै पर्दछन् ।
प्राकृतिक मात्र नभै धार्मिक र सांस्कृतिक पर्यटनको प्रचुर सम्भावना पनि यही प्रदेशमा छ । झापाका केचनाकवल, अर्जुनधारा, दोमुखा, सताक्षीधाम, माईधार घुम्न आउने आन्तरिक पर्यटक बाहेक भारतीय, वंगाली र चाइनिज पर्यटककोलागि आकर्षणका क्षेत्र हुन् । यस्तै, इलामको गजुरमुखी, सन्दकपुर, कन्याम, माइपोखरी, फाकफोकथुम ३ आमचोकको सुन्दर र समणीय जोरधारा र ज्ञानदिल झरना, ज्ञानदिलदासले गुप्तबास बसेको गुफा, कालीदेवी पछिल्लो समय चर्चामा आएका पर्यटकीय स्थल हुन् । सगरमाथा राष्ट्रिय निकुञ्ज, कञ्चनजंघा संरक्षण क्षेत्र र कोशी टप्पु वन्यजन्तु आरक्ष जस्ता पर्यटकीय स्थल यहीँ छन् । पूर्वका भेडेटार, नमस्ते झरना, हिले, वसन्तपुर, मिल्के जलजले, जेफाले पर्यटकीय क्षेत्रलगायतका ठाउँ चर्चामा छन् ।
इलाममा पर्यटकीय आर्कषणका अनेकौ स्थान र विषय छन् । हरियाली चियाबारी डाँडा मात्र होइन दृश्यावलोकनका लागि अब्बल स्थान, झरना, सिमसार, विश्वमै दुर्लभ रेडपान्डालगायत जैविक विविधतायुक्त संस्कृति पर्यटकका लागि आर्कषण बन्ने गरेको छ ।
डेढ दशकअघि स्थानीयले पर्यटन विकासमा सक्रियता बढाएसँगै पर्यटक आगमनमा सुधार हुदै आएको हो । स्थानीयको प्रयासमा दरिलो साथ दिने योजना नहुँदा र कोरोनाको महामारीले भने सोचेअनुरूप काम हुन भने सकेको छैन ।
सूर्योदय दृश्यावलोकनका लागि उत्कृष्ट मानिने अन्तुडाँडासँगै लोपोन्मुख लेप्चा जातिको संस्कृति, अन्तुपोखेरी, चियाबारीले सजिएका डाँडाकाँडा र कृषिबाट सुधारिएको जीवनशैलीले पर्यटकलाई आकर्षण गर्ने गरेको छ ।
चियाबारीले भरिएको कन्याम, रामसार क्षेत्रमा सूचीकृत जैविक, धार्मिक र सांस्कृतिक महत्वको माईपोखरीले पर्यटक आकर्षण गरेको छ । त्यसैगरी दृश्यावलोकनका लागि चर्चित, सिद्धिथुम्का, माङ्मालुङ, धार्मिकस्थल लारुम्बा, पाथिभरा, गजुरमुखी, जिल्लाकै अग्लो टोडे झरना, मावुथाम, रेडपान्डा पाइने, पूर्वी पहाडी क्षेका पर्यटकीय महत्वका थुप्रै स्थान अझैपनि ओझेलमा छन् ।
कोरोनाकाल अघि नै संघीय संरचनासँगै तेह्रथुमको पर्यटन व्यवसायले गति लिँदै अघि बढेको थियो । तीनजुरे, कालापानी, पटकेडाँडा, हलीमेला, ह्यात्युङ झरना, वसन्तपुर क्षेत्र लगायत एकै स्थानमा २८ प्रजातिका गुराँस फुल्ने तीनजुरे, मिल्के, जलजले क्षेत्र गुराँस फुल्ने मौसम सुरु भएसँगै विदेशी पर्यटकको संख्या बढ्ने गरेको छ । जैविक विविधताले महत्वपूर्ण मानिएको यो क्षेत्र परिवारसहित घुम्न अत्यन्तै राम्रो मानिदै आएको छ ।
ताप्लेजुङको पाथीभरा, इलामको श्रीअन्तु, खोटाङको हलेसी, संखुवासभाको सभापोखरी, भोजपुरको साल्पा पोखरीजस्ता अत्यन्तै माथिल्लो भेगमा रहेका देवस्थल, रमणीय पोखरी तथा तालले पनि यहाँको सौन्दर्यता बढाएका छन् भने तराईमा रहेका धेरै सीमसार क्षेत्रले पर्यावरणको सुरक्षा अझै सशक्त बनाएका छन् । तर कोरोना त्रासका कारण सामान्य अवस्थाको तुलनामा पर्यटक आगमन गतवर्षबाटै घटेको छ ।
नेपाल पर्यटन विकास बोर्डको डाटा अनुसार २०१९ मा १ लाख १ हजार ४ सय पर्यटक नेपाल आएका थिए, तर अघिल्लो वर्षको तुलनामा गतवर्ष १ हजार ५ सय ८७ पर्यटक घटे । यसको मुख्य कारण भनेकै कोरोना भाइरसको विश्व महामारी बन्यो ।
प्राकृतिक रूपमा प्राप्त नेपालका पर्यटकीय क्षेत्रको संरक्षण र पुनर्निमाण गर्न ठूलो मानवीय परिश्रम खर्च भएकै छैन । नेपालमा यस्ता थुप्रै स्थान छन्, जसका बारेमा स्वयम् नेपालीहरूलाई पनि जानकारी छैन । पर्यटकीय स्थलका रूपमा हामीले केवल काठमाडौं उपत्यका, पोखरा, चितवनजस्ता सीमित स्थानलाई मात्र चिनाउन सकेका छौं । नेपालमा यीभन्दा धेरै सुन्दर र राम्रा ठाउँ पनि छन् । ओझेलमा परेका त्यस्ता स्थानको बारेमा खोजी हुनु जरूरी छ ।